२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेपाल स्याटेलाइटलाई साढे चार अर्ब कर निर्धारण

काठमाडौँ — राजस्व कार्यालय बानेश्वरले नेपाल स्याटेलाइट टेलिकम प्रालिले लाभांश कर नतिरेको भन्दै जारी गरेको विज्ञप्तिप्रति कम्पनीका सञ्चालक अजेयराज सुमार्गीले आपत्ति जनाएका छन् । सुमार्गीले मंगलबार विज्ञप्ति जारी गर्दै राजस्व कार्यालयले तथ्य तोडमोड गरेको आरोप लगाएका हुन् । 

राजस्व कार्यालयले जेठ ३ गते विज्ञप्ति जारी गर्दै सुमार्गीलाई ४ अर्ब ३१ करोड रुपैयाँ कर निर्धारण गरेको जनाएको थियो । कर निर्धारण गरिएको पत्र जेठ १ गते सुमार्गीको कम्पनीमा बुझाउन खोज्दा अस्वीकार गरिएको राजस्व कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।


नेपाल स्याटेलाइटको ७५ प्रतिशत सेयर स्वामित्व साइप्रसको एयरवेल कम्पनी हुँदै टेलियासोनेरालाई बिक्री गरिएको भए पनि पुँजीगत लाभकर नतिरेको भन्दै राजस्व कार्यालयले ताकेता गरेको हो ।


नेपाल स्याटेलाइटको सेयर आर्थिक वर्ष २०६८/६९ मै बिक्री भएको राजस्व कार्यालयले जनाएको छ । सुमार्गीले विज्ञप्ति जारी करको विषयमा सर्वोच्च अदालतले जेठ २ राजस्व कार्यालयको नाममा कारण देखाऊ आदेश जारी गरेकाले अदालतको आदेशलाई निष्प्रभावी गराउने उद्देश्यले राजस्व कार्यालयले विज्ञप्ति जारी गरेको आरोप लगाएका छन् ।


आयकर ऐनअनुसार करसम्बन्धी कागजातहरू गोप्य राख्नुपर्नेमा राजस्व कार्यालयले प्रेस विज्ञप्ति जारी गरेर ऐनले दिएको आफ्नो गोपनीयताको हक हनन भएको सुमार्गीको दाबी छ । ऐनले दिएको सुविधा उपभोग गरी कानुनी प्रक्रिया चाल्न कम्पनी बाध्य हुने सुमार्गीद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । साइप्रसस्थित एयरवेल कम्पनीको माध्यमबाट टेलियासोनेरालाई नेपाल स्याटेलाइटको सेयर बिक्री गरिएको थियो ।


साइप्रसस्थित एयरवेल कम्पनीबाट सुमार्गीले वैदेशिक लगानी भन्दै सन् २००८ देखि २०१३ सम्ममा पटकपटक ६ करोड ३१ लाख ८५ हजार ५३३ अमेरिकी डलर (६ अर्ब ३१ करोड ८५ लाख ५३ हजार ३५५ रुपैयाँ) आफ्ना नेपाली कम्पनीमा रकम भित्र्याएका थिए ।

प्रकाशित : जेष्ठ ८, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?