कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पेट्रोलियम अन्वेषणमा चिनियाँ टोलीको ढिलाइ

ज्योति कटुवाल

दैलेख — पेट्रोलियम पदार्थको अन्वेषणका लागि नेपाल आउन लागेको टोलीलाई चीन सरकारले अनुमति दिन ढिलाइ गरेको छ । यसअघि टोलीले भैरवी गाउँपालिका १ शिशिरस्थानमा वैशाख १८ देखि पेट्रोलियम पदार्थ अन्वेषण गर्ने जनाएको थियो । चिनियाँ टोलीकै कारण अन्वेषणमा ढिलाइ भइरहेकोे खानी तथा भूगर्भ विभागले जनाएको छ ।

विभागसँग चीन सरकारको चाइना जियोलोजिकल सर्भेले वैशाखमै शिरस्थानमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने सम्झौता गरेको थियो । चीन सरकारले अन्वेषणका लागि नेपाल आउने प्राविधिक टोलीलाई अनुमति नदिएको जानकारी प्राप्त भएको विभागका परियोजना प्रमुख सुधीर रजौरेले बताए ।


‘टोलीले नेपाल आउने/नआउने जवाफ नदिँदा अन्वेषणको अर्को मिति तोक्न समस्या भइरहेको छ,’ उनले भने, ‘उनीहरू यसपालि आएर अन्वेषणका लागि रेखांकन र एरिया पत्ता लगाएर जान्छन् ।’ उनका अनुसार वर्षायाममा काम नहुने भएकाले अहिले प्रारम्भिक काम गर्न लागिएको हो ।

टोलीले अन्वेषणका लागि चीन सरकारसँग १० दिनको म्याद मागेको छ । १५ दिनपछि खानी तथा भूगर्भ विभागले नै चीन सरकारसँग कुरा गरेर नेपाल आउने कुरा पक्का गर्ने जनाएको छ । चाइना जिओलोजिकल सर्भेसँगको सम्झौतामा वैशाख १८ देखि अन्वेषण गर्ने उल्लेख भए पनि प्राविधिक कारणले ढिलाइ भइरहेको प्रतिनिधिसभा सदस्य रवीन्द्र शर्माले बताए ।


‘धेरै वर्ष भयो सरकारले अन्वेषणका नाममा आलटाल गर्न थालेको,’ उनले भने, ‘धेरै सरकार परिर्वतन भए, सरकारमा भएकाले समेत झूटो आश्वासन दिँदा स्थानीयमा नैराश्यता छाएको छ ।’


केही साताअघि नेपाल सरकारका तर्फबाट व्यवस्थापनको काम बाँकी रहेकाले ढिलाइ भएको जानकारी खानी तथा भूगर्भ विभागले दिएको थियो । ‘अब चिनियाँ टोलीका कारण ढिलाइ भएको बहाना बनाउन थालिएको छ,’ स्थानीय मनोज थापाले भने, ‘जुन जोगी आए पनि कानै चिरेका उखानजस्तो पेट्रोलियम उत्खननको काम भएको छ ।’


उनले पहिले हरेक वर्ष अन्वेषण र उत्खननको काम गर्ने सुन्नमा आए पनि अहिले महिनैपिच्छे सुनिन थालेको बताए । काम नहुँदा अझै ढुक्क हुन नसकिएको उनको भनाइ छ ।

अन्वेषणका लागि २ अर्ब २० करोड रुपैयाँँको सम्झौता भएको छ । दैलेखको शिरस्थान, नाभिस्थान, पादुका, धुलेश्वरलगायत पञ्चकोसी क्षेत्रमा सयौं वर्षदेखि ज्वालाका रूपमा पेट्रोलियम पदार्थ बगिरहेको छ ।


खानी तथा भूगर्भ विभागले १३ वर्षअघि उक्त ज्वाला मिथेन ग्यास भएको प्रमाणित गरेको थियो । त्यसपछि २०७२ चैतमा चिनियाँ विशेषज्ञ टोली अनुसन्धानका लागि आएको थियो । एक सातासम्म अनुसन्धान गरेर फर्केपछि अन्वेषणका लागि प्रक्रिया अघि बढेको हो ।


नेपालमाथि भारतले नाकाबन्दी गरेको बेला २०७२ मंसिर २१ गते तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेले शिरस्थान पुगेर पेट्रोलियम पदार्थ उत्खनन गर्ने घोषणा गरेका थिए ।

प्रकाशित : जेष्ठ ८, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?