१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

७ कस्मेटिक व्यापारीलाई जरिवाना

राजु चौधरी

काठमाडौँ — सरकारले काठमाडौं मलमा सञ्चालित ७ कस्मेटिक व्यापारीलाई जरिवाना गरेको छ । व्यवसायीले बिक्री गरेको कस्मेटिक सामग्रीमा मनोमानी मूल्य लिएको पाएपछि आपूर्ति विभागले अनुगमनस्थलमै जरिवाना गरेको हो । 'अनुगमनका क्रममा व्यापारीहसँग बिलबिजक थिएन ।

त्यो भनेको जति मूल्यमा पनि बिक्री गर्न सक्छन्,' विभागका अनुगमन शाखा अधिकृत दीपक पोखरेलले भने, 'बिलबिजक उलब्ध गराउन नसकेकाले जरिवाना गरेका छौं ।' विभागका अनुसार ६ व्यापारीलाई जनही १० हजार र एकलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।


उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १५ अनुसार बिक्रेताले बिक्री प्रयोजनका लागि खरिद गरेको वस्तु तथा सेवाको खरिद र बिक्री गरेको मूल्यको बिल आफूसँग सुरक्ष्ाित रूपमा राख्नुपर्छ । अनुगमन निरीक्षकले माग गरेको अवस्थामा बिल उपलब्ध गराउनुपर्छ । बिलबिजक नै देखाउन नसकेपछि कारबाहीको दायरामा ल्याएको विभागका प्रवक्ता पवन तिमिल्सिनाले बताए । विभागले मूल्य र बिलबिजकको अनुगमन गरे पनि गुणस्तरको भने अनुगमन गरेको छैन ।


यसअघि गुणस्तर तथा नापतौल विभागले गरेको परीक्ष्ाणमा पनि अधिकांश कस्मेटिक सामग्रीहरू मापदण्डविपरीत फेला गरेको थियो । विभागले तयार पारेको प्रतिवेदनमा ६६ ब्रान्डका सौन्दर्य सामग्रीको परीक्षण गर्दा तयार रसायनको मात्रा अधिक रहेको उल्लेख छ । विभागले सबै ब्रान्डका स्वदेशी तथा आयातित सौन्दर्य सामग्री परीक्षण गरेको थियो । त्यसक्रममा सिसा, मर्करी, क्रोमिएम, टिटानियमको मात्रा मापदण्डभन्दा बढी रहेको पाइएको थियो ।


सौन्दर्य सामग्रीमा हानिकारक रसायनको मात्रा अत्यधिक फेला परेपछि गुणस्तर तथा नापतौल विभागले पहिलोपटक सौन्दर्य सामग्रीको मापदण्ड बनाएको छ । विभागले तयार पारेको मापदण्ड गुणस्तर परिषद्मा छिट्टै पेस गरिने गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । 'विभागबाट तयारी अवस्थामा छ,' उनले भने, 'अब बस्ने परिषदको बैठकमा पेस हुन्छ । परिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा जान्छौं ।'

प्रकाशित : जेष्ठ ८, २०७६ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?