मानसरोवर यात्रा : भिसा नआउँदा २० भारतीय फर्किए

छपाल लामा

सिमकोट — भिसाबिनै मानसरोवर जानका लागि सिमकोट पुगेका २० भारतीय तीर्थयात्रु बुधबार नेपालगन्ज फर्किएका छन् । ती यात्रुहरू सन्नी ट्राभल एजेन्सीमार्फत मानसरोवर जान हिँडेका थिए ।

मानसरोवर जानका लागि सिमकोट पुगेर फर्किन लागेका भारतीय तीर्थयात्री ।  तस्बिर : छपाल/कान्तिपुर

एजेन्सीले यात्रुलाई सिमकोट पठाएर पछि भिसा पठाउने गर्छ । भिसाका लागि आवेदन पेस गरिएका ७५ मध्ये २० जनालाई चिनियाँ दूतावासले भिसा नदिएको सन्नीका प्रबन्धक निमा लामाले बताए । ‘खै कुन कारणले हो, उहाँहरूको भिसा आएन,’ उनले भने, ‘त्यसैले सिमकोट आएर पनि फर्किनुपर्‍यो ।’ यात्रु फिर्ता हुँदा आफूलाई दुःखलागेको उनले बताए ।

तीर्थयात्री रेसम तलबारले कैलाश मानेसरोवरको दर्शन गर्न आएर पनि फिर्ता हुनुपर्दा नरमाइलो लागेको बताए । उनले भिसा
नपाउनुको कारण के होभन्नेबारे आफूलाई जानकारी नभएको बताए । ‘पहिल्यै थाहा भएको भए त यहाँ आउने नै थिएनौं,’ उनले भने, ‘जहाजबाट हुम्ला आएपछि मात्र भिसा नआएको थाहा पाइयो ।’ बुधबार सिमकोट पुगेर सोही दिन हिल्सा हुँदै मानसरोवरका लागि जाने तयारी रहेको भए पनि योजना असफल भएको उनले बताए ।

हुम्ला पुगेर पनि फर्किनुमा यात्रुहरूले ट्राभल एजेन्सीलाई दोष दिएका छन् । भिसा ‘कन्फर्म’ नगरी यात्रामा हिँडाउँदा यस्तो अवस्था आएको अर्का एक तीर्थयात्रीले बताए । ‘हामीबाट अग्रिम पैसा मागेर लगे, भिसा भइहाल्छ भनेर हुम्लासम्म ल्याए,’ तीतीर्थयात्रीले भने, ‘आखिर अहिले आएर अनाहकमा दुःख पाइयो ।’

७ सय तीर्थयात्री मानसरोवर
बुधबारसम्म मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीयतीर्थयात्रीको संख्या ६ सय ९२ पुगेको छ । तीमध्ये ३ सय ५९ पुरुष र ३ सय ३३ महिला रहेका छन् ।

तीर्थयात्रीलाई सिमकोटबाट हिल्सासम्म पुर्‍याउन र ल्याउन निजी हेलिकोप्टर कम्पनीलाई भ्याइनभ्याई छ । अहिले सिमकोटमा सिम्रिक र समिट एयरका दुई/दुई र माउन्टेन एयरको एक हेलिकप्टर छन् । सिम्रिक एयरका प्रतिनिधि कमल गौतमले बिहानदेखि बेलुकीसम्म उडान भर्ने गरिएको बताए ।

(प्रशिक्षार्थी)

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्

१०३ ले गरे स्थायी बन्ध्याकरण

छपाल लामा

सिमकोट — ताजाकोटका धनलाल शाहीका ८ छोराछोरी छन् । जेठी पत्नीको मृत्युपछि दोस्रो बिहे गरे । परिवारमा सन्तान संख्या थपिँदै गए । सोमबार भने उनले सन्तानोत्पादन शृंखला अन्त्य गरेका छन् । ‘पत्नी भर्खरकी छन्, नकाट्ने (बन्ध्याकरण नगर्ने) हो भने त अझै कति जन्मिन्छन् भन्ने चिन्ता भयो,’ उनले स्वास्थ्यकर्मीसँग भने, ‘त्यसैले गाउँमै शिविर भएका बेला अप्रेसन गरेको हुँ ।’

धनलाल मात्र होइन, हुम्लाका गाउँमा अहिले स्थायी बन्ध्याकरण गर्ने पुरुषको संख्या बढेको छ । विशेष गरी तल्लो भेकमा पर्ने ताजाकोट, अदानचुली, चंखेली र सर्केघाट गाउँपालिकाका पुरुष स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) तर्फ आकर्षित भएका छन् । नाम्खा, सिमकोटलगायत उत्तरी क्षेत्रमा भने अस्थायी बन्ध्याकरण प्रचलित रहेको जिल्ला स्वास्थ्य कार्यालयको भनाइ छ ।

अदानचुली गाउँपालिकामा आइतबार आयोजित शिविरमा ७८ जनाले स्थायी बन्ध्याकरण गरे । शिविरमा संलग्न जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स मनमाया बस्नेतका अनुसार ३० जनाको लक्ष्य राखिएको थियो । ‘निर्धारित लक्ष्यभन्दा बढी व्यक्ति सेवाबाट लाभान्वित हुँदा हामी उत्साहित भएका छौं,’ उनले भनिन्, ‘यसले गाउँमा भ्यासेक्टोमी (स्थायी बन्ध्याकरण शिविर) गर्दा प्रभावकारी हुन्छ भन्ने पाठ सिकाएको छ ।’

उनका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयले यो वर्ष जिल्लामा १ सय ५० जनाको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य राखेको थियो । हालसम्म १ सय ३७ जनाले स्थायी बन्ध्याकरण गराइसकेका छन् । अदानचुलीमा आयोजित शिविरमा ७८ र ताजाकोटको शिविरमा पहिलो दिन २५ जनाले बन्ध्याकरण गराए । वर्षभरि जिल्ला अस्पतालमा गएर बन्ध्याकरण गर्ने पुरुषको संख्या भने ३४ मात्र रहेको बस्नेतले बताइन् ।

हुम्ला जनसंख्या वृद्धिदर अधिक भएको जिल्लामा पर्छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत विनोद अचार्यका अनुसार समग्र कर्णाली प्रदेशको जनसंख्या वृद्धिदर वार्षिक १ दशमलव ९५ छ । उक्त दर हुम्लामा २ दशमलव २५ प्रतिशत छ । त्यस्तै, सन् २०१६ को नेपाल डेमोग्राफिक हेल्थ सर्भिस प्रतिवेदनअनुसार कर्णाली प्रदेशमा प्रतिदम्पती सन्तानदर २ दशमलव ८ छ । हुम्लामा भने यो दर करिब ४ को हाराहारीमा रहेको पब्लिक हेल्थ नर्स बस्नेत बताउँछिन् ।

ताजाकोटमा सोमबार आयोजित शिविरमा बन्ध्याकरण गराएका ३० वर्षीय दलबहादुर कार्कीले पहिलेजस्तो स्थायी बन्ध्याकरण भन्नेबित्तिकै डराउने अवस्था नरहेको बताए । उनले भने, ‘गाउँका मान्छेले त नसा काट्नु (भ्यासेक्टोमी गर्नु) हुँदैन, कमजोर भइन्छ भनेर तर्साउँथे, मैले सजिलै गरेँ, कमजोरीको महसुसै भएको छैन ।’

जिल्लाको ग्रामीण क्षेत्रमा अहिले पनि स्थायी बन्ध्याकरणप्रति नकारात्मक धारणा निमिट्यान्न भइसकेको छैन । प्राय: बोझिलो कामको जिम्मेवारी पुरुषले सम्हाल्ने र बन्ध्याकरण गरेमा कमजोर भइने डर महिला-पुरुषमा देखिन्छ । ‘श्रीमतीले नै श्रीमानलाई भ्यासेक्टोमी गर्नबाट रोक्ने गरेका छन्,’ शिविरमा सहभागी नर्स सुनीता बोहोराले भनिन्, ‘यति सामान्य शल्यक्रियालाई पनि ठूलो जोखिम ठान्ने प्रवृत्तिले समस्या भएको हो ।’

यही भ्रम चिर्न जिल्ला स्वास्थ्यले गाउँ-गाउँमा स्थायी बन्ध्याकरण शिविर आयोजना गरेको थियो । यो वर्ष डा. टसी आन्जुक लामाको नेतृत्वमा ताजाकोट र अदानचुलीमा शिविर आयोजना गरिएको हो ।

प्रशिक्षार्थी

प्रकाशित : जेष्ठ ८, २०७६ १२:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्