२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सहकारीलाई बेच्न थाल्यो खाद्यले चामल

राजु चौधरी

काठमाडौँ — दुर्गम क्षेत्रमा लक्ष्यअनुसार चामल बित्री नभएपछि खाद्य संस्थानले सहकारीलाई कमिसन दिएर बिक्री सुरु गरेको छ । टेन्डर प्रक्रियाबाट हवाई ढुवानी गर्ने प्रयास सफल नभएपछि संस्थाले सहकारीमार्फत बिक्री गर्न थालेको हो । 

सहकारीलाई बेच्न थाल्यो खाद्यले चामल

सहकारीमार्फत चामल/गेडागुडी दुर्गमसँगै सहरी क्षेत्रमा पनि बिक्री सुरु भएको छ । संस्थानका अनुसार दुई साताको अवधिमा २६८ क्विन्टल चामल बिक्री भएको छ । थप बिक्री प्रक्रियामा रहेको संस्थानले जनाएको छ ।


‘पहिले दुगर्ममा मात्रै ढुवानी गरेका थियो । सहकारीबाट सबैतिर सुरु भएको छ,’ संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनले भने, ‘सबै ठाउँमा परिचालन गर्दा जनताले सरकारी मूल्यमै पाएका छन् । गरिब जनताले चामल पाए ।’ संस्थानका अनुसार सहकारीले डिपो, गोदाम तथा कार्यालयको बिक्री मूल्य प्रतिकेजी ५० रुपैयाँभन्दा कम भएकामा ७ प्रतिशत र त्यसभन्दा बढी मूल्य भएकामा ६ प्रतिशतका दरले कमिसन दिएको छ ।


उक्त मूल्य ढुवानी, लोड/अनलोड र नाफालगायत सबै त्यहीभित्र पर्ने जनाएको छ । ‘सरकारले नै तोकेको मूल्यमा बिक्री गर्दा जनतालाई धेरै राहत हुने अपेक्षा गरेका छौं,’ गौचनले भने, ‘अहिले जापानी चामल, गेडागुडीको बिक्री राम्रो छ, अब व्यापक रूपमा लाग्छौं ।’ उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले दुर्गम जिल्लामा सहज र सरल रूपमा खाद्य उपलब्ध गराउने नीतिअनुसार सहकारीको प्रयोग भएको बताए ।


‘सहकारीमार्फत ढुवानी गर्ने नीति सरकारको छ । सोही नीतिअनुसार ढुवानी अनुदान दिएर चामल पठाएर सुपथ मूल्यमा बिक्री गरेका छौं,’ उनले भने, ‘सहकारीमार्फत अन्य संस्थानहरूले पनि प्रयोग गरेका छन् । यो प्रभावकारी हुन्छ ।’


हाल संस्थानले अधिकांश चामल र गेडागुडी थापाथली गोदाम र अन्य जिल्लाका गोदामबाट माक्रै बित्री गर्दै आएको छ । सीमित स्थानबाट बिक्री हुँदा उपभोक्ताले समयमै पाएका छैनन् । चाडबाडको बेला सधैं अभाव हुने गरेको छ । अभाव सिर्जना हुन नदिन सहकारीमार्फत सुरु भएको संस्थानको दाबी छ । संस्थानका बिक्री वितरण विभाग प्रमुख संस्थानका लालमोहन ठाकुरका अनुसार सुर्खेतमा दुईवटा सहकारीमार्फत बिक्री भइरहेको छ ।


यी दुई सहकारीले पहिलो लटमा ३३ क्विन्टल ५० किलो चामल लगेका छन् । जुम्लामा दुई सहकारीले १२० क्विन्टल चामल लगेको ठाकुरले बताए । रुकुममा एक सहकारीले ५५ क्विन्टल, मुगुमा ३० क्विन्टल चामल लगेको संस्थानले जनाएको छ । उपत्यकामा पनि एक सहकारीले चामल बिक्री गर्ने इच्छा देखाएको जनाएको छ ।


भक्तपुरमा रहेको उक्त सहकारीले ३० क्विन्टल जापानी चामल बिक्री गर्न लगेको संस्थानले जनाएको छ । यो प्रारम्भिक चरण रहेकाले दोस्रो चरणमा पुनः चामल खरिद बढ्ने संस्थानको दाबी छ । ‘जुम्लामा डिपो राख्न नसक्दा समस्या थियो । सहकारीमार्फत सहज भएको छ,’ ठाकुरले भने, ‘टाढाकालाई आकर्षण गर्न केही कठिनाइ भएको छ ।’ हाल संस्थानले उपत्यकामा जापानी चामल प्रतिकिलो ६९ रुपैयाँमा बिक्री गर्दै आएको छ ।


मुगुमा प्रतिकिलो ५१ रुपैयाँमा बिक्री भएको छ । ठाकुरका अनुसान सहकारीले प्रतिकिलो ५० रुपैयाँमा किलोको ३ रुपैयाँ ५० पैसा कमिसन पाउँछन् । दुगर्ममा किलोमै १० रुपैयाँ भाडा लाग्छ । जसले गर्दा आकर्षित गर्न केही कठिनाइ भएको उनले बताए । संस्थानका अनुसार सहकारीमार्फत बिक्री गर्न सम्बन्धित कार्यलयले सूचना प्रकाशित गरेको थियो ।


निवेदनका लागि कार्यविधि बनेको छ । सहकारी दर्ता प्रमाणपत्र, नवीकरणसहित सम्बन्धित वडाको सिफारिसमा संस्थानले सहकारीसँग सम्झौता गरेको जनाएको छ । ‘त्यसपश्चात् बिक्री सुरु भएको छ,’ उनले भने । सहकारीमार्फत बिक्री गर्न सरकारले ४ करोड बजेट निकासा गरेको छ ।


धान खरिद गर्दाको समर्थन मूल्यको रकम भने निकासा भइनसकेको संस्थानले जनाएको छ । ‘चामल बिक्री सुरु भएको छ । समर्थन मूल्यमा खरिद गरिएका चामल सहकारीमार्फत बिक्री गर्न केही गाह्रो छ,’ महाप्रबन्धक गौचनले भने, ‘अर्थलाई चिठी लेखेका लेख्यै छौं ।’ हाल संस्थानसँग २ लाख ५० हजार क्विन्टल चामल/गेडागुडी मौज्दात छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?