जीडीपी योगदानकाे पुछारमा कर्णाली

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर — कुल गार्हस्थ उत्पादन (जीडीपी) मा योगदान पुर्‍याउने सबै सूचकमा कर्णाली प्रदेश अन्य प्रदेशभन्दा पछाडि छ । वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा केन्द्रीय तथ्यांक विभागले प्रस्तुत गरेको तथ्यांकमा यस्तो देखिएको हो । 

विभागका तथ्यांक अधिकृत शिव श्रेष्ठले प्रस्तुत गरेको तथ्यांकअनुसार चालु मूल्यअनुसार कर्णालीको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा १ खर्ब १९ अर्ब २५ करोड ९० लाख रहेको छ ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) मा योगदान पुर्‍याउने विभिन्न १५ वटा आर्थिक क्षेत्रसँग सम्बन्धित सबै आँकडाहरूमा कर्णाली सबैभन्दा पछाडि रहेको तथ्यांकले देखाएको छ ।

कर्णालीको कुल गार्हस्थ उत्पादन खर्ब १९ अर्ब २५ करोड ९० लाख रहेको तथ्यांक अधिकृत श्रेष्ठले जनाए । जीडिपीमा सबैभन्दा बढी योगदान पुर्‍याएको कृषि तथा वन क्षेत्रको ३२ दशमलव ८७ प्रतिशत रहेको छ ।

मत्स्यपालन क्षेत्रले सबैभन्दा कम ० दशमलव २ प्रतिशत योगदान पुर्‍याएको तथ्यांक अधिकृत श्रेष्ठले जानकारी दिए । शिक्षा क्षेत्रले १४ दशमलव २७ प्रतिशत, स्वास्थ्य क्षेत्रले ३ दशमलव २४ प्रतिशत, रियलस्टेट तथा व्यावसायिक सेवा क्षेत्रले ८ दशमलव ६० प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रले ७ दशमलव ७८ प्रतिशत, वित्तीय क्षेत्रले १ दशमलव ५२ प्रतिशत, यातायात, सञ्चार तथा भण्डारण क्षेत्रले १ दशमलव ३६ प्रतिशत योगदान पुर्‍याएको तथ्यांकमा उल्लेख छ ।

होटल तथा रेस्टुरेन्ट क्षेत्रले २ दशमलव ९७ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रले ६ दशमलव ४३ प्रतिशत, निर्माण क्षेत्रले ११ प्रतिशत, विद्युत्, ग्यास तथा पानीको क्षेत्रले १ दशमलव २१, उद्योगले १.०३ र खानी तथा उत्खनन क्षेत्रले ० दशमलव ५६ प्रतिशत योगदान पुर्‍याएको विभागको तथ्यांकले जनाएको छ ।

यसअघिका वर्षको तुलनामा हरेक सूचक बढेको भए पनि अन्य प्रदेशभन्दा कर्णाली पछाडि नै रहेको तथ्यांकले देखाउँछ । तथ्यांक अधिकृत श्रेष्ठले कर्णालीको कुल गार्हस्थ उत्पादन वृद्धिदर ५ दशमलव ६८ प्रतिशत रहेको बताए । यस्तै कर्णालीको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ६ सय १ अमेरिकी डलर पुगेको छ ।

–चाँदनी कठायत

प्रकाशित : जेष्ठ ११, २०७६ ०७:५८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बेइजिङमा गणेश, सान्दोङमा जलरंग

फूलमान वल

बेइजिङ — ढलौटको परम्परागत नेपाली मूर्तिकला हेर्नुपरे पाटनको जुनसुकै गल्ली काफी लाग्छ । दरबार स्क्वायर आसपासका घरहरू त ग्यालरीमा रूपान्तरण भएजस्तै देखिन्छन् ।

यस्तै दृश्य यति बेलाचाहिँ चीनको राजधानी बेइजिङस्थित नेसनल लाइब्रेरी अफ चाइनामा देख्न सकिन्छ । यहाँस्थित आर्ट म्युजियममा ढलौटको बुद्ध, हरिततारा र श्वेतताराको मूर्ति मात्रै हैन, काष्ठकला आधारित गणेश र अर्थकदका बुद्ध पनि प्रदर्शनरत छन् ।

एसियन सिभिलाइजेसन्सअन्तर्गत बेइजिङमा जारी ‘क्राफ्टम्यानसिप अफ सिभिलाइजेसन्स : एक्जिबिसन अफ इन्ट्यान्जिबल कल्चरल हेरिटेज इन एसिया’ शीर्षकको कला प्रदर्शनीमा मूर्तिकारद्वय पृथ्वीनारायण श्रेष्ठ र महेश शाक्यका यी कलाकृतिहरू सजिएका हुन् ।

नेसनल लाइब्रेरी अफ चाइनाभन्दा केही पर्तिर, मध्य बेइजिङमै पर्छ अरनिकोले झन्डै ९ सय वर्षअघि बनाएको श्वेत चैत्य । यति धेरै समयपछि यही सहरमा नेपाली परम्परागत मूर्तिकला एसियाली सभ्यताको सूचीमा पर्दै अन्य मुलुकका कलाकृतिसँगै नेसनल लाइब्रेरीको अंश बन्नुलाई गौरवको विषय माने मूर्तिकार श्रेष्ठले ।

पाटनका यी मूर्तिकार आफ्ना सिर्जनासहित अघिल्लो साता बेइजिङ आइपुगेका हुन् । ललितपुर बुङमतीका महेश शाक्यका दुई मूर्ति पनि यहीँ प्रदर्शनरत छन् । उनले बौद्ध र हिन्दु संस्कृतिका प्रतीक समातेर नेपाली सभ्यता काष्ठकलामार्फत प्रस्तुत गरेका छन् । काष्ठकलाको राजधानीजस्तै मानिने बुङमतीका यी कलाशिल्पीले भने, ‘हाम्रो काष्ठकलाको बनोट देखेर धेरैजनाले अचम्म माने ।’

अन्य क्षेत्रमा जस्तै कलामा पनि मेसिन र प्रविधि हाबी भइरहेको बेला हातैले बनाएको उनका मूर्तिले प्रशंसा नपाउने कुरै थिएन । विशेष गरी गणेशको मूर्तिमा हातका औंलादेखि आसन र पृष्ठभूमिसम्ममा शाक्यले निकै मिहिन काम गरेका छन् ।

धेरैजसोले उनको कामको फिनिसिङ मन पराए । ‘हातैले बनाएको भन्दा त चिनियाँ कलापारखीहरू छक्कै पर्छन्,’ उनले अनुभव सुनाए, ‘इरानीहरूले अण्डाको बोक्रामा गरेको आर्टमा समेत मेसिन प्रयोग गर्दा रहेछन्, तर हामीले परम्परागत शिल्पलाई बचाउने कोसिस गरेका छौं ।’

पृथ्वीनारायण श्रेष्ठले भने ढलौट मूर्तिमा परम्परागत शिल्पसँगै इतिहास पनि जोडेका छन् । पाँचौं शताब्दीमा नेपाली राजकुमारी भृकुटी तिब्बती राजा स्रङचङ गम्पोसित बिहे भएर जाँदा बुद्धको मूर्ति पनि साथै लिएर गएको इतिहास छ ।

श्रेष्ठले उनै भृकुटी र बुद्ध जोडेर इतिहासलाई ढलौटमा ढालेका हुन् । प्रदर्शनीमा राखिएको उनका तीन मूर्तिमध्ये एउटा भृकुटी (हरित तारा) हो । बौद्ध परम्परागत कलामा भृकुटी हरित ताराको नामबाट चिनिन्छिन् ।

त्यस्तै श्रेष्ठले स्रङचङ गम्पोकै अर्की पत्नी (चिनियाँ राजकुमारी) श्वेत ताराको मूर्ति पनि प्रदर्शनीमा राखेका छन् । नेपालमा लिच्छविकाल चरिरहँदा यी दुई राजकुमारीले स्रङचङ गम्पोसित बिहे गरेर नेपाल, तिब्बत र चीनबिचको सम्बन्ध मजबुत बनाउन सघाएका थिए । ‘मैले पनि कलामा दुई देश देखाएको हुँ,’ श्रेष्ठले भने ।

जापान, दक्षिण कोरिया, इरान, जोर्डन, फिलिपिन्स, श्रीलंका, मलेसिया, कुवेत, थाइल्यान्ड, इन्डोनेसियालगायतका मुलुकका सिर्जनासँगै श्रेष्ठ र शाक्यको कलाकृति आउँदो मंगलबारसम्म प्रदर्शनीमा रहेछन् । चीनको संस्कृति मन्त्रालय र बेइजिङ महानगरले गरेको प्रदर्शनीका लागि नेपालबाट यी दुई मूर्तिकारलाई वर्ल्ड कल्चर नेटले संयोजन गरेको हो ।

उता पूर्वी चीनको सान्दोङ प्रान्तमा एउटा नेपाली चित्रकलाको चर्चा मात्रै भइरहेको छैन, नेपाली वृद्धको मुहार चित्र समेटिएको ऊक्त जलरंग चित्र आठ सय डलरमा बित्रीसमेत भइसकेको छ । चित्र कोरेका हुन् एनबी गुरुङले ।

दुई साताअघि अन्तर्राष्ट्रिय जलरंग महोत्सवका लागि ताओ र कन्फ्युसियन सम्पदाको यो प्रान्त आइपुगेका गुरुङले यही चित्रमार्फत नेपाली जलरंगको प्रभाव छाडेका छन् ।

भारत, अस्ट्रेलिया, यूके, पेरु, क्यानडा, स्पेनलगायत १६ देशका ५० बढी चित्रकारको सहभागिता रहेको महोत्सवमा उनले नेपालको प्रतिनिधित्व पनि गरेका छन् । सान्दोङको चिन्दाओ, नान्जिङ, चिनान र जिनान गरी ४ सहरमा भइरहेको महोत्सवअन्तर्गत स्थलगत कार्यशाला समापन भए पनि प्रदर्शनी भने जारी छ ।

प्रदर्शनीको पहिलो दिनमै एनबीको चिक्रमा रातो टीका (बित्रीको प्रतीक) लागेको हो । ‘एक चिनियाँ रियल स्टेज व्यवसायीले मौलिक अनुहार भन्दै ८ सय डलरमा किने’, उनले भने । यो चित्र उनले तीन महिना अघि सिर्जना कलेज अफ फाइन आर्टले हेटौंडामा गरेको कला कार्यशाला जाँदा बनाएका थिए ।

कला मेन्टरको रुपमा गएका उनले हेटौंडाको हर्नामढीमा एक बूढो चौतारीमा बसिरहेको देखेपछि स्केच उतारेका थिए । छिन्दाउस्थित सान आर्ट ग्यालरीमा उनको यो चित्र अरू मुलुकका सिर्जनासहित अझै एक महिना प्रदर्शनरत रहनेछ । ‘शैलीगत विविधता सिक्न यो महोत्सव र प्रदर्शनी प्रभावकारी बनेको छ,’ उनले भने, ‘नेपाल प्रवर्द्धनका लागि पनि यो राम्रो थलो बनेको छ ।’ उनका अनुसार पछिल्लो पटक चीन आर्थिक समृद्धिको बाटोमा मात्रै हैन, सांस्कृतिक समृद्धितिर पनि द्रूत गतिमा लम्किरहेको छ ।

नेपाली कलालाई यो भूमिमा प्रवर्द्धन गर्न सकियो भने बजारको ठूलो ढोका खुल्नेछ । ‘पछिल्लो पटक चिनियाँहरू नेपाली कलाका गुड वायर बन्दै छन्,’ उनले भने, ‘यो अवसर नेपालले समयमै छोप्नुपर्छ ।’

प्रकाशित : जेष्ठ ११, २०७६ ०७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT