१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गण्डकीको आर्थिक वृद्धि ७.०६५

लालप्रसाद शर्मा

पोखरा — चालु आर्थिक वर्ष २०७५/०७६ मा गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिदर ७.०६ प्रतिशत हुने अनुमान गरिएको छ । तथ्यांक विभागले पहिलोपटक प्रदेशस्तरीय लेखा तथ्यांक सार्वजनिक गर्दै यस्तो अनुमान गरेको हो । 

गण्डकीको आर्थिक वृद्धि ७.०६५

विभागले चालु आवको ६ देखि ९ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचना एवं बाँकी अवधिको सामान्य अवस्थाको आधारमा वस्तु तथा सेवाको उत्पादन अनुमान गरी जीडीप वृद्धिदर अनुमान गरेको छ ।


अनुमानको अध्ययन गर्दा चालु वर्ष आर्थिक हिसाबले उत्साहजनक देखिएको विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले बताए । अनुकूल मौसमले गर्दा कृषि क्षेत्रको उत्पादनका भएको बढेको, पुनर्निर्माणले लिएको गति र ऊर्जाको सहज प्रयोग, रेमिट्यान्स बिस्तारै उत्पादनमूलक क्षेत्रमा लगानी हुँदै गएकाले वृद्धिदरमा सहयोग पुगेको हो ।


बिहीबार तथ्यांक सार्वजनिक कार्यक्रममा विभागले कृषिमा व्यवसायीकरण, राजनीतिक स्थिरता उन्मुख, बन्द हडतालमा कमीलगायत पनि वृद्धिदरका सूचक रहेको जनाएको छ । ‘गण्डकीमा चालु वर्षको ६ देखि ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा

तयार गरिएको तथ्यांकअनुसार जीडीपीको स्थिर मूल्य वृद्धिदर ७.०६ प्रतिशतको अनुमान गरिएको हो,’ विभागका तथ्यांक अधिकृत अवधेशकुमार शुक्लाले भने ।


गण्डकीको चालु आवको जीडीपीमा मत्स्यपालनले ०.०३ प्रतिशत, खानी तथा उत्खननले ०.८०, उद्योगले ३.२१, विद्युत्, ग्यास र पानीले २.८०, निर्माणले ११.४१, थोक तथा खुद्रा व्यापारले ७.९९, होटल तथा रेस्टुरेन्टले ३.८७ प्रतिशत योगदान दिएको अनुमान विभागको छ ।


यसैगरी यातायात, सञ्चार र भण्डारणले ५.७६, वित्तीय मध्यस्थताले ५.२३, रियल स्टेट तथा व्यावसायिक सेवाले ७.२६, सार्वजनिक प्रशासन तथा रक्षाले ३.५२, शिक्षाले ७.२७, स्वास्थ्यले ७.७४ प्रतिशत योगदान पुर्‍याएको अनुमान विभागको छ । उपभोक्ताको मूल्यमा २ खर्ब ८८ अर्ब २० करोड ७० लाख रुपैयाँ जीडीपी छ ।


प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ९४८ अमेरिकी डलर रहेको कार्यक्रममा बताइयो । दुई वर्षमा कृषि, वन, मत्स्य, र खानी तथा उत्खनन् क्षेत्रलाई प्राथमिकतामा राखेर तथ्यांक विश्लेषण गरिएको थियो । चालु आवमा यी क्षेत्रले ३१ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?