१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जापान जान्छ हाते कागज

भीमबहादुर सिंह

जाजरकोट — कुसे गाउँपालिका ७ समाइलाका ४५ वर्षीय उविलाल घर्तीले तीनचुली अल्लो तथा नेपाली हातेकागज उद्योग सञ्चालन गरेर चारजनालाई रोजगारी दिएका छन् ।

जापान जान्छ हाते कागज

उद्योग सञ्चालनपछि वार्षिक रूपमा उनले ८ लाख रुपैयाँसम्म बचत गर्दै आएका छन् । कुसे ९ का नरेन्द्र आरसीको पनि गाउँमै कागज उद्योग सञ्चालनमा छ । उनको उद्योगमा पाँचजनाले रोजगारी पाएका छन् । उद्योगको उत्पादन जापानसम्म पुग्ने गरेको छ ।


जिल्लामा सञ्चालित छवटा नेपाली हातेकागज उद्योगबाट धेरै स्थानीयले रोजगारी पाएका छन् । उनीहरूको जीवनस्तरसमेत बदलिएको छ । कुनै बेला रोजगारीका लागि भौंतारिएर हिँड्ने उविलालले अहिले चारजनालाई रोजगारी दिएको बताए । उनी लघु उद्यमका लागि प्रेरणाको स्रोतसमेत बनेका छन् । हातेकागजका साथै अल्लोको धागो संकलन गरेर निर्यात गर्दै आएको उविलालले बताए ।


अल्लोका कपडाको माग बढिरहेको बेला कच्चा पदार्थका रूपमा धागो उत्पादन गरी काठमाडौं पठाइरहेको उनको भनाइ छ । काठमाडौंमा तयार पारिएको अल्लोका कपडा विदेश निर्यात हुने गरेको उनले जानकारी दिए ।


काठमाडौंमा अल्लोको धागो प्रतिकिलो ९ सय रुपैयाँमा बिक्ने गरेको छ । जिल्लामा सञ्चालित उद्योगमार्फत पाँच दर्जन स्थानीयले नियमित रोजगारी पाएका छन् । उद्योगमा कार्यरत अधिकांशको कमाइ मासिक २० हजार रुपैयाँभन्दा बढी छ । अहिले कुसे गाउँपालिकामा पाँच र बारेकोट गाउँपालिकामा एक हातेकागज उद्योग सञ्चालनमा छन् ।


कुसेमा श्रमजीवी नेपाली हातेकागज उद्योग, नरेन्द्र हातेकागज उद्योग, ब्याउलीढुंगा हातेकागज उद्योग र विष्णु नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि अन्य स्थानीयसमेत अप्रत्यक्ष रूपमा रोजगारीमा जोडिएका छन् । ती उद्योगमा उत्पादन भएका नेपाली कागज जापान, युरोप, भारतलगायत देशमा निर्यात हुने गरेको छ ।


जाजरकोटको उच्च लेकाली भूभागमा पाइने सेत बरुवाबाट निर्मित कागज नेपालमै उत्कृष्ट मानिन्छ । जिल्लाबाट वार्षिक रूपमा तीन हजार कोरी कागज निर्यात हुने गरेको छ । दुई सय गोटा र २० ग्राम तौल रहने कागज प्रतिकोरी चार हजार रुपैयाँका दरले काठमाडौं बिक्री हुने गरेको छ । वर्षा, जाडोलगायत कारण बाह्रै महिना कागज उत्पादन गर्न नसकिने उविलालले जनाए ।


उनका अनुसार छवटा हातेकागज उद्योगबाट वार्षिक करिब डेढ करोड रुपैयाँ भित्रने गरेको छ । जंगलमा पाइने सेत बरुवाको लोक्ता प्रतिकिलो १५० मा खरिद गरिन्छ । ‘नेपाली हातेकागज नेपालकै पहिचान हो,’ उविलालले भने, ‘यसको संरक्षण जरुरी छ ।’ उनी सशस्त्र द्वन्द्वका लडाकुसमेत हुन् । भूमिगत राजनीतिमै माओवादीको क्षेत्रीय क्षेत्रीय ब्युरो सदस्यसम्म पुगेका उनी अहिले उद्योगमै रमाइरहेका छन् ।


नेपाली हातेकागज उत्पादनका लागि जंगलबाट लोक्ता संकलन गरेर कुटिन्छ । त्यसमा कास्टिङ सोडा, ब्लिचिङ पाउडर, नुरीलगायत रसायन मिसाई मेसिनबाट कागज तयार गरिन्छ । त्यसपछि कागजलाई घाममा सुकाएर प्याकिङ गरिने अर्का उद्योगी नरेन्द्र आरसीले बताए ।


उनका अनुसार पहिले ढिकी, हाते मुसल र ढुंगाले कुटिने लोक्ता अहिले जेनेरेटरको सहायताले बिटर मेसिनबाट कुटिन्छ । उनले आधुनिक भट्टीमा लोक्ता पकाउने गरिएको बताए । ‘माग धेरै छ तर उत्पादन न्यून,’ नरेन्द्रले भने, ‘कागज उद्योग सञ्चालनका लागि कुनै पनि निकायबाट सहयोग पाइएको छैन, पाए उद्योगलाई थप व्यवस्थित र आधुनिक बनाउन सकिन्थ्यो ।’

प्रकाशित : जेष्ठ ११, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?