पर्यटकले गुलजार सिमकोट

लाखौं-करोडौं लगानी गरेका होटल व्यवसायीलाई मात्र होइन, भारी बोकेर गुजारा गर्ने भरियालाई पनि सिजनले उत्साही बनाएको छ
छपाल लामा

(सिमकोट) — मानसरोवर कैलाश यात्राको सिजन सुरु भएसँगै हुम्लामा चहलपहल बढेको छ । भारतीय पर्यटकको आगमन बढेपछि होटल, पर्यटन व्यवसायी र हेलिकप्टर कम्पनीलाई भ्याइनभ्याई छ । सिमकोट बजारमा विभिन्न उपभोग्य सामानको व्यापार बढेको छ ।सदरमुकामको ७० जना क्षमताको होटल विजयमा अहिले कोठा पाइनै मुस्किल छ ।

होटल सञ्चालक विजय लामा पहिल्यै होटलका कोठा 'बुक' भइसकेकाले नयाँ पाहुनालाई व्यवस्थापन गर्नै गाह्रो भएको बताउँछन् । सयजना क्षमताको होटल मानसरोवर र ७५ जना क्षमताको सनी भ्याली रिसोर्ट पनि भरिभराउ छन् ।

मानसरोवरका सञ्चालक टेके रावतले मानसरोवर जाने तीर्थयात्रुको कारण एकछिन पनि फुर्सद नभएको बताए । होटलमा आठजना कर्मचारी राखिएकामा नपुगेर घरका पाँचजना पनि पाहुनाको सत्कारमा खटिनुपरेको उनले बताए । 'यो सिजन हाम्रो व्यवसायका लागि निकै राम्रो मानिन्छ,' उनले भने, 'त्यसैले रातदिन पाहुनालाई खुसी बनाउन लागिपरेका छौं ।'

सामान्यतया एकजना पर्यटकले एक दिनमा २ हजार ४ सय रुपैयाँ होटलमा खर्च गर्छन् । होटलका कोठा पूरै खपत हुने भएकाले यही सिजनबाट फाइदा हुने गरेको होटल व्यवसायी बताउँछन् । सिमकोटमा सानाठूला गरी करिब २० वटा होटल छन् । घुइँचो बढी भएको दिन पर्यटकहरू साना होटलमा पनि बस्ने गरेका छन् ।

करोडौं लगानी गरेका व्यवसायी माात्र होइन, भारी बोकेर गुजारा गर्ने भरियालाई पनि यो सिजनले उत्साही बनाएको छ । सिमकोट गाउँपालिका ३ का बाँचु सुनारले पर्यटकको भारी बोक्न पाउँदा आम्दानी बढेको बताए । उनका अनुसार यो सिजनमा दैनिक करिब १ हजार २ सय रुपैयाँसम्म कमाइ हुने गरेको छ । एयरपोर्टदेखि होटलसम्म भारी बोकेको प्रतिट्रिपको १ सय रुपैयाँ लिने गरेको उनले बताए । 'भारी नबोकी पेट भरिँदैन, सधैं भारी बोक्न पाइँदैन,' उनले भने, 'यसरी भारी बोक्न पाइने भनेको सिजन सुरु भएपछि मात्र हो ।' सिमकोटकै ५१ वर्षीय भरिया हंश सुनारले मानसरोवर कैलाश यात्राको सिजनले राम्रै आम्दानी दिने गरेको बताए । जग्गा नभएकाले यही सिजनमा पैसा बचत गरी अरू बेला गर्जो टार्ने गरिएको उनको भनाइ छ ।

सिमकोट बजारमा पनि चहलपहल बढेको छ । पसल, सपिङ सेन्टरमा पर्यटकले दैनिक उपभोग्य वस्तु खरिद गर्दा व्यापार बढेको स्थानीय व्यवसायी बताउँछन् । पानस सपिङ सेन्टरका प्रोप्राराइटर सरोज रावतले एक सातायता दैनिक १० हजारदेखि १५ हजारसम्म कारोबार हुने गरेको बताए । जय सप्लायर्सका प्रोप्राइटर खुम्मबहादुर रावत त दैनिक ३० देखि ४० हजारसम्म कारोबार गरेको सुनाउँछन् । 'मानसरोवर जाने पर्यटक आउन थालेपछि सिमकोटमा चहलपहल बढेको छ, हाम्रो व्यापार व्यवसाय पनि फस्टाएको छ,' उनले भने, 'सधैं यस्तै भए कति राम्रो हुन्थ्यो ।'

यही सिजनलाई लक्षित गरी विमानस्थल पनि सुधारिएको छ । विगतमा शौचालय, विश्रामस्थल नहुँदा यात्रुले निकै सास्ती पाउने गरेका थिए । अहिले भने विमानस्थलमा डिजिटल डिस्प्लेको व्यवस्था गरिएको छ । विमानस्थल सफासुग्घर पारिएको छ । होटल व्यवसायी संघ हुम्लाका महासचिव नुर्ब जाङबु लामाले एयरपोर्टबाटै पर्यटकलाई राम्रो स्वागत थालिएको बताए । यसले पर्यटकमा सकारात्मक छाप बस्ने उनको भनाइ छ । 'हामीले यहाँ आएका पाहुनालाई सिधै मानसरोवरतिर पठाउनुभन्दा एक दिन रोकेर जिल्लाका पर्यटकीयस्थल घुमाउन सक्यौं भने अझ राम्रो आम्दानी हुन सक्छ,' उनले भने, 'यसका लागि हुम्लामा पर्यटकलाई लोभ्याउने प्रशस्त पर्यटकीयस्थल पनि छन् ।'

यो वर्ष शनिबारदेखि मानसरोवर जाने यात्रु आउन थालेका हुन् । बिहीबारसम्म ७६३ यात्रु मानसरोवर गइसकेका छन् । तीर्थाटन सिजन असोजसम्म चल्छ । यस वर्ष करिब ९ देखि १० हजारको संख्यामा भारतीय तीर्थयात्रु हुम्ला भएर मानसरोवर जाने पर्यटन व्यवसायीको अनुमान छ ।

प्रकाशित : जेष्ठ ११, २०७६ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्

मानसरोवर यात्रा : भिसा नआउँदा २० भारतीय फर्किए

छपाल लामा

सिमकोट — भिसाबिनै मानसरोवर जानका लागि सिमकोट पुगेका २० भारतीय तीर्थयात्रु बुधबार नेपालगन्ज फर्किएका छन् । ती यात्रुहरू सन्नी ट्राभल एजेन्सीमार्फत मानसरोवर जान हिँडेका थिए ।

मानसरोवर जानका लागि सिमकोट पुगेर फर्किन लागेका भारतीय तीर्थयात्री ।  तस्बिर : छपाल/कान्तिपुर

एजेन्सीले यात्रुलाई सिमकोट पठाएर पछि भिसा पठाउने गर्छ । भिसाका लागि आवेदन पेस गरिएका ७५ मध्ये २० जनालाई चिनियाँ दूतावासले भिसा नदिएको सन्नीका प्रबन्धक निमा लामाले बताए । ‘खै कुन कारणले हो, उहाँहरूको भिसा आएन,’ उनले भने, ‘त्यसैले सिमकोट आएर पनि फर्किनुपर्‍यो ।’ यात्रु फिर्ता हुँदा आफूलाई दुःखलागेको उनले बताए ।

तीर्थयात्री रेसम तलबारले कैलाश मानेसरोवरको दर्शन गर्न आएर पनि फिर्ता हुनुपर्दा नरमाइलो लागेको बताए । उनले भिसा
नपाउनुको कारण के होभन्नेबारे आफूलाई जानकारी नभएको बताए । ‘पहिल्यै थाहा भएको भए त यहाँ आउने नै थिएनौं,’ उनले भने, ‘जहाजबाट हुम्ला आएपछि मात्र भिसा नआएको थाहा पाइयो ।’ बुधबार सिमकोट पुगेर सोही दिन हिल्सा हुँदै मानसरोवरका लागि जाने तयारी रहेको भए पनि योजना असफल भएको उनले बताए ।

हुम्ला पुगेर पनि फर्किनुमा यात्रुहरूले ट्राभल एजेन्सीलाई दोष दिएका छन् । भिसा ‘कन्फर्म’ नगरी यात्रामा हिँडाउँदा यस्तो अवस्था आएको अर्का एक तीर्थयात्रीले बताए । ‘हामीबाट अग्रिम पैसा मागेर लगे, भिसा भइहाल्छ भनेर हुम्लासम्म ल्याए,’ तीतीर्थयात्रीले भने, ‘आखिर अहिले आएर अनाहकमा दुःख पाइयो ।’

७ सय तीर्थयात्री मानसरोवर
बुधबारसम्म मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीयतीर्थयात्रीको संख्या ६ सय ९२ पुगेको छ । तीमध्ये ३ सय ५९ पुरुष र ३ सय ३३ महिला रहेका छन् ।

तीर्थयात्रीलाई सिमकोटबाट हिल्सासम्म पुर्‍याउन र ल्याउन निजी हेलिकोप्टर कम्पनीलाई भ्याइनभ्याई छ । अहिले सिमकोटमा सिम्रिक र समिट एयरका दुई/दुई र माउन्टेन एयरको एक हेलिकप्टर छन् । सिम्रिक एयरका प्रतिनिधि कमल गौतमले बिहानदेखि बेलुकीसम्म उडान भर्ने गरिएको बताए ।

(प्रशिक्षार्थी)

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्