२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

प्रसारण लाइन विस्तारमा अवरोध

विनु तिम्सिना

विराटनगर — मोरङको ग्रामथान गाउँपालिकास्थित गिदनीय टोलका स्थानीयले तार विस्तार गर्न नदिएपछि दुहबी सबस्टेसन–कटहरी सबस्टेसनको ३३ केभी प्रसारण हाइटेनसन लाइनको विस्तार हुन सकेको छैन । 

प्रसारण लाइन विस्तारमा अवरोध

कटहरी गाउँपालिकामा एडीबीको सहयोगमा सबस्टेसन निर्माण भइसकेको विद्युत् प्राधिकरण विराटनगर वितरण शाखाले जनाएको छ । दुहबीदेखि कटहरीसम्मको २० किलोमिटर क्षेत्रमा विद्युतका पोलहरू गाड्ने काम भइसकेको छ । दुहबीदेखि बूढीखोलाको पुलसम्म २ किलोमिटर अन्डरग्राउन्ड गरिएको छ ।


ग्रामथानको गिदनीय टोलमा ३ किलोमिटर क्षेत्रमा बाहेक सबै स्थानमा लाइन विस्तार गर्ने कामसमेत भइसकेको छ । कटहरी १ खोरिया बस्तीमा सबस्टेसन निर्माण भइसकेको छ । सबस्टेसनको इलेक्ट्रिकल काम सबै सम्पन्न भइसकेको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाले जनाएको छ ।


के भन्छन् स्थानीय ?

३३ केभी प्रसारण लाइनका विषयमा ग्रामथान ५ गिदनीया बस्तीका स्थानीयमा भ्रम फैल्याइएको पाइएको छ । ३३ केभी हाइटेन्सनको लाइन विस्तार गर्दा क्यान्सर लाग्ने, छालाको समस्या देखिने, गर्भपतन हुने र हाइटेन्सन लाइन विस्तार गरिएको जग्गाको मूल्याङनसमेत घट्ने तर्क गिदनीया टोलका स्थानीयको छ । उनीहरू कुनै पनि हालतमा आफ्नो गाउँबाट विद्युत् विस्तार गर्न नदिने अडानमा छन् ।


प्रसारण लाइन अन्डरग्राउन्ड गर्नुपर्ने, कभरसहितको तार टाँग्नुपर्ने अथवा टावरमार्फत तार लैजानुपर्ने स्थानीयको माग छ । हाल गाडिएको पोल घरमाथि नै पर्ने र अत्यन्तै होचो भएको कारण जोखिम हुने भन्दै उनीहरूले पोलभन्दा डबल अग्लो टावर निर्माण गरेर विद्युतको तार लैजानुपर्ने बताउँदै आएका छन् ।


घना बस्तीको बीचबाट हाइभोल्टेजको तार लान नहुने स्थानीय आशनारायण चौधरीको भनाइ छ । ‘घना बस्तीबाट यति ठूलो क्षमताको लाइनको तार टाँग्ने कुरा नै गलत छ,’ उनले भने, ‘प्राधिकरणका कर्मचारीले अन्डर ग्राउन्ड र कभर लगाउँदा झनै खतरा हुने बताए, पोल अग्लो बनाउन पनि हुँदैन भन्छन्, त्यसो भए त खुला राख्दा त झनै खतरा हुन्छ नि ।’


बूढीगंगा गाउँपालिकामा प्रभावित क्षेत्रका स्थानीय र गिदनीया टोलवासीले लाइन विस्तार गर्न नदिन संघर्ष समिति नै बनाएका छन् । संघर्ष समितिका अध्यक्ष भक्कुलाल विश्वास थारूले मर्न तयार हुने तर लाइन विस्तार गर्न नदिने बताए । ‘हामीलाई कसैले उचालेको हैन, कसैले उचालेको भरमा हामी लाग्ने पनि हैन,’ उनले भने, ‘ग्रामथान र बूढीगंगामा हामी एक हजार घरपरिवार प्रभावित हुन्छौं, बस्तीबाट किन लानुपर्‍र्या ? नहरै नहर लाँदा पनि त हुन्छ ।’


स्थानीय भड्किनुमा प्राधिकरणकै कर्मचारीकै हात रहेको ग्रामथान ५ का वडाध्यक्ष खड्गनारायण खाँ चौधरीले बताए । ‘पहिले कभर लगाउने प्रस्तावमा त स्थानीय मानेकै हुन् तर कर्मचारीले झन् खतरा हुन्छ भने । कभर लगाउँदा खतरा हुने हो भने खुलामा झन् खतरा हुन्छ भन्ने स्थानीयको भनाइ छ,’ उनले भने, ‘सुरुमा कभर लगाउने कुरामा खतरा भनेर स्थानीयलाई भडकाए अहिले फेरि कभर हालिदिन्छौं भन्छन्, स्थानीय मान्दैनन् हामी त थाकिसक्यौं बुझाउँदा बुझाउँदा ।’


के भन्छ विद्युत् प्राधिकरण ?

कटहरी क्षेत्रमा टंकीसिनबारी र विराटनगर रानी सबस्टेसनको ११ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । विद्युत् प्राधिकरण विराटनगर शाखा प्रमुख राजीव सिंहका अनुसार टंकिसिनबारी सबस्टेसन अब थप लोड धान्न सक्ने अवस्थामा छैन ।


कटहरी सबस्टेसन तत्काल सञ्चालन गर्न नसक्ने हो भने कटहरीलगायत विराटनगरमा समेत भोल्टेज समस्या देखिने सिंहको भनाइ छ । गिदनीया बस्तीको समस्या समाधान भए कटहरीमा निर्माण भइसकेको सबस्टेसन सञ्चालनमा आउने र समस्या हल हुने उनले बताए ।


उनले भने, ‘दुहबी–कटहरीको ३३ केभी प्रसारण लाइन सञ्चालनमा आउना साथ कटहरी–रंगेली करिडोरमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान हन्छ, विराटनगरमा समेत भोल्टेजको समस्या देखिँदैन ।’


विश्व बैंकको १४ करोड अमेरिकी डलर ऋण सहयोगमा नारायणीपूर्व १, २ र ३ नम्बर प्रदेशमा १३ वटा र नारायणी पारि १२ वटा गरी देशभर जम्मा २५ वटा ३३ केभी प्रसारण लाइनको सबस्टेसनहरू निर्माण भइरहेको नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख बोधराज ढकालले जानकारी दिए । सबै आयोजना अबको ५ महिनाभित्र सम्पन्न भइसक्ने उनले बताए ।


नारायणीपूर्वका आयोजनामध्ये झापाको घैलाडुब्बामा निर्माण सम्पन्न भइसकेको छ भने सप्तरीको बाधेबर्साइनमा एक साताभित्र सञ्चालनमा आउने ढकालले बताए । पर्साको सेढुवा, रौतहटको मौलापुर, मोरङको उर्लाबारी, झापाको जुरोपानीलगायतका सबस्टेन निर्माण भइरहे पनि विभिन्न अवरोध झेल्नुपरेको उनले बताए ।


गिदनीया बस्तीका स्थानीयले भनेजस्तो ३३ केभी प्रसारण लाइनका कारण स्वास्थ्यमा कुनै असर नपर्ने वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाका इन्जिनियर प्रमोद खरेलले बताए । ‘म आफैं इलेक्ट्रिकल ईन्जिनियरिङमा मास्टर्स डिग्री गरेको विद्यार्थी हुँ, गिदनीयाका स्थानीयले भनेजस्तो ३३ केभी प्रसारण लाइनका कारण गर्भपतन हुने वा स्वास्थ्यमा कुनै खाले समस्या आउने विषयमा मैले पढेको या सुनेको छैन आजसम्म,’ उनले भने, ‘यो सबै भ्रम फैलाइएको हो ।’

प्रकाशित : जेष्ठ १२, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?