कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जलविद्युत्मा आकर्षण

काठमाडौँ — यो साता सेयर बजारमा करिब ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भयो । गत साताको तुलनामा कारोबार रकम करिब डेढ प्रतिशतले बढेको हो । साप्ताहिक कारोबारमा नेप्से परिसूचक घटबढको अवस्थामा देखिए पनि कारोबार रकममा खासै उतारचढाव देखिएन । यसकारण साप्ताहिक सेयर कारोबार करिब ५ अर्ब रुपैयाँ पुगेको छ ।

जलविद्युत्मा आकर्षण

साप्ताहिक बजारमा नियमितभन्दा फरक प्रवृत्ति देखिएको छ । सामान्य अवस्थामा कुल सेयर कारोबारमा ५० प्रतिशतभन्दा बढी हिस्सा बैंकिङको, त्यसपछि बिमा, लघुवित्त, विकास बैंकलगायत समूहको रहँदै आएको थियो । यो साता बजारमा त्योभन्दा फरक प्रवृत्ति देखियो । जसमध्ये कुल कारोबारमा बैंकिङ समूहको हिस्सा घटेर ३८ प्रतिशतमा झरेको छ ।


त्यसपछि धेरै हिस्सा ओगटने समूहमा जलविद्युत र उत्पादन तथा प्रशोधन परेका छन् । साप्ताहिक कारोबारमा यी समूहको हिस्सा क्रमशः १६.६४ र १६.४६ प्रतिशत छ । अरू साताहरूमा यी समूहको हिस्सा निकै थोरै रहन्थ्यो । यसको अर्थ लगानीकर्ताले जलविद्युत् र उत्पादन तथा प्रशोधन समूहमा लगानी विस्तार गरे भन्ने हो ।


जलविद्युत् कम्पनीहरूमा अपर तामाकोसीको उल्लेख्य सेयर कारोबार भएको छ । यस्तै उत्पादन तथा प्रशोधन समूहअन्तर्गत हिमालयत डिस्ट्रिलरी र शिवं सिमेन्टको सेयर कारोबार उच्च छ । यही कारण साप्ताहिक कारोबारमा यी समूहको बजार हिस्सा बढेको हो ।


अघिल्ला सातामा सधैं दोस्रो स्थानमा रहने बिमा समूह साप्ताहिक बजार हिस्साका आधारमा यो साता चौथो स्थानमा छ । उक्त अवधिमा बिमा समूहको सेयर हिस्सा करिब साढे ८ प्रतिशत मात्र छ ।


यो साता नेप्से परिसूचक ०.३२ प्रतिशतले ऋणात्मक छ । साताको पहिलो दिन आइतबारको तुलनामा नेप्से परिसूचक २.०७ अंकले ऋणात्मक छ । गत आइतबार १ हजार ३ सय १६.८४ विन्दुमा रहेको नेप्से बिहीबार १ हजार ३ सय १४.५५ विन्दुमा पुगेको नेप्सेले जनाएको छ । साप्ताहिक कारोबारमा होटल, जलविद्युत् र ‘अन्य’ बाहेक सबै समूहका लगानीकर्ताको सम्पत्ति घट्यो ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?