१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कुलेखानी–३ असार मसान्तसम्म

हेटौंडा — कुलेखानी ३ जलविद्युत् आयोजनाको विद्युत्गृहमा जडान गरिएका उपकरणहरूको परीक्षण थालिएको छ । सिभिलसँगै मुख्य सुरुङ र पेनेस्टक पाइपको परीक्षण भइसकेको छ । दुई सातायता भने उपकरणहरूको परीक्षण भइरहेको हो ।

‘केही ‘फल्ट’ देखियो, तिनको पुनर्निर्माणपछि परीक्षण गरिरहेका छौं,’ आयोजना प्रमुख शुभासकुमार मिश्रले भने, ‘१५ दिनदेखि काम गरिरहेका छौं । अझै आधा उपकरणहरूको परीक्षण बाँकी छ ।’


साना–ठूला गरी विद्युत्गृहमा ५ सय ६० वटा उपकरण छन् । पालैपालो ती सबै उपकरणहरूको परीक्षण गर्नुपर्ने आयोजनाका एक इन्जिनियरले बताए । परीक्षण कार्यमा चिनियाँ निर्माण कम्पनीका चारजना प्राविधिक खटिएका छन् । बाँकी रहेको एउटा टावरको निर्माण पनि भइरहेको छ । ‘उक्त टावर निर्माणपछि तार तान्ने काम सुरु हुन्छ,’ आयोजना प्रमुख मिश्रले भने, ‘टावर निर्माण गर्न र तार तान्न समस्या छैन, उपकरणहरूको परीक्षण गर्न के कति समय लाग्छ भन्न सकिँदैन ।’


उपकरणहरूमा ‘फल्ट’ देखिएन भने छिट्टै परीक्षणको काम सकिनेछ । तीनवटा टावर निर्माण गर्नुपर्नेमा दुईवटा सम्पन्न भइसकेका छन् भने साताभित्रै अर्कोको पनि काम सकिने आयोजनाले जनाएको छ । इलेक्ट्रो मेकानिकलको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी जेजियाङ जियालिङले हुलासलाई कामको जिम्मा दिएको छ ।


नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ साताअघि कुलेखानी ३ को विद्युत् गृह अवलोकनमा आएका थिए । उनले छिटो काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए ।


ढिलोमा असार मसान्तसम्ममा विद्युत् उत्पादन गरिसक्ने आयोजनाको लक्ष्य छ । चालु आवको अन्त्यसम्ममा विद्युत् उत्पादन हुने आयोजनाका एक वरिष्ठ अधिकृतले जानकारी दिए । यसअघि पुस महिनामा परीक्षण उत्पादन गर्ने भनिएको थियो । निर्माण कम्पनीको ढिलाइले तोकिएको समयमा परीक्षण उत्पादन नभएको हो ।


चिनियाँ ठेकेदार कम्पनी जेजियाङ जियालिङको ढिलासुस्तीका कारण ४४ महिनामा सक्नुपर्ने काम करिब सय महिनाभन्दा पछाडि धकेलिएको छ । ‘कम्पनीले विभिन्न वहाना बनाएर ढिलासुस्ती गरेकाले समयमा निर्माण कार्य सम्पन्न नभएको हो,’ आयोजनाका एक अधिकृतले भने । २ अर्व ४३ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ११ वर्षअघि निर्माण कार्य सुरु गरेको उक्त आयोजनाको लागत वृद्धि भएर अहिले ४ अर्ब ६३ करोड पुगेको छ ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?