धानको बीउमा कालोबजारी

भवानी भट्ट

कञ्चनपुर — महेन्द्रनगर बजार क्षेत्रका एग्रोभेटहरूले धानको बीउमा कालोबजारी गरेको पाइएको छ । सरकारी अनुदानको बीउलाई प्याकेजिङ गरी बिक्री गरेको भेटिएको हो । भारतबाट अवैध रूपमा भित्र्याएको र खाने प्रयोजनको धानलाई समेत बीउको बोरामा राखेर बिक्री गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रतिनिधिसहितको टोलीले यसै साता गरेको अनुगमनमा अधिकांश एग्रोभेटहरूले बीउमा कालोबजारी गरेको भेटिएको छ । अनुदानमा वितरण भएको बीउ बिक्री भइरहेको सूचना पाएपछि पहिलो पटक बीउविजनको अनुगमन गरिएको थियो ।


‘अनुदानको बीउसँगै भारतबाट खाने प्रयोजनको धान ल्याएर बीउ भन्दै बिक्री गरिरहेको भेटियो,’ अनुगमन टोलीमा सहभागी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान जोनका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले भने, ‘यस क्षेत्रका लागि सिफारिस नभएका धानका बीउसमेत बिक्री भइरहेको पाइयो ।’ उनका अनुसार महेन्द्रनगरको महाकाली एग्रोभेट, सम्मी एग्रोभेट र न्यु कलौनी एग्रोभेटलगायतले सरकारले प्रतिबन्ध लगाएका बीउसमेत बिक्री गरिरहेका हुन् ।


महाकाली एग्रोभेटको गोदाममा थुप्रै धान भुइँमा फालिएको थियो । एक व्यक्ति त्यही धान विभिन्न जात र कम्पनीको नाम लेखिएका बोरामा भरिरहेका थिए । अनुगमन टोली पुग्दा थुप्रै बोराहरू भरिएका पाइए । ‘त्यहाँ भेटिएको १४ बोरा सिल गरेर छाडेका छौं,’ थापाले भने, ‘एउटै धानलाई फरकफरक जात भन्दै किसानलाई ठग्ने काम भइरहेको छ ।’ कतिपय बोरामा नेपालमा उत्पादन भएका धानको जातसमेत लेखिएको भेटिएको छ । उनका अनुसार ‘पन्त ४’ देखि ‘सर्जु ५२’ सम्मका जातका नाम लेखेका बोरा ती ठाउँमा भेटिएका हुन् ।


यस्तै न्यु कलौनी एग्रोभेटमा भारतबाट आएको बीउ बिक्री भइरहेको अनुगमन टोलीले भेटेको छ । सरकारले सिफारिस नगरेका बीउ बिक्री भइरहेका हुन् । सम्मी एग्रोभेटमा हेल्मेटको पसलमा बीउ राखिएको र सरकारले अनुदानमा दिएको बीउसमेत बिक्रीका लागि राखेको भेटिएको वरिष्ठ कृषि विकास अधिकृत थापाले बताए ।


उक्त एग्रोभेटमा सहकारीले बिक्री गरेको अनुदानको बीउ पुगेको छ । भीमदत्त नगरपालिकाको महेन्द्रनगरसँगै वेदकोटको दैजी र सिसैया क्षेत्रका एग्रोभेटहरूले समेत बीउमा कालोबजारी गरिरहेको अनुगमनका क्रममा भेटिएको छ । यस वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र भीमदत्त नगरपालिकाकाले मात्रै भीमदत्तनगर क्षेत्रका लागि ४ टन धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।


जुन ६ सय हेक्टरका लागि पुग्छ । विभिन्न सहकारीले बिक्री गर्ने भने पनि उक्त बीउ बिक्री हुन सकेको छैन । यसबाहेक सबै स्थानीय तहले आआफ्नो क्षेत्रमा पनि ५० प्रतिशत अनुदानमा बीउ वितरण गरेका छन् । यसबाहेक ग्रामीण भेगमा रहेका विभिन्न सहकारीले उत्पादन गरेको बीउ पनि वितरण भएको छ ।


कृषकहरू नेपालमा प्रतिबन्धित बीउ नै लगाउन रुचाउँछन् । व्यापारीहरूले पनि एउटा जातलाई अर्कै भनेर विभिन्न तरिकाले कृषकलाई ठगिरहेका छन् । त्यस्ता बीउले विभिन्न किसिमका रोग किरा भित्रिनुका साथै महामारीसमेत फैलिन सक्ने प्राविधिकहरूले बताए ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?