१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बुद्ध एयरले सोमबारदेखि कोलकत्ता उडान गर्ने

सुरज कुँवर

काठमाडौँ — आन्तरिक उडानमा अग्रस्थानमा रहेको बुद्ध एयरले एटीआर विमानमार्फत सोमबारदेखि काठमाडौँबाट भारतको कोलकत्ता सिधा उडान गर्दैछ । १२ वटा विमान भएको बुद्धका लागि कोलकत्ता चौथो अन्तर्राष्ट्रिय गन्तव्य हो ।

बुद्ध एयरले सोमबारदेखि कोलकत्ता उडान गर्ने

यसअघि बुद्धले भुटानको पारो, भारतको लखनउमा काठमाडौँबाट सिधा उडान गरेको थियो । आर्थिक हिसाबले फाइदा नभएपछि हाललाई यी दुवै रुटमा उडान बन्द गरिएका छन् ।


भारतको बनारसमा भने बुद्धले सातामा दुई उडान भर्दै आएको छ । २२ वर्षअघि स्थापना भएको यस एयरलाइन्सले सोमबारदेखि चौथो गन्तव्यका रूपमा कोलकत्ता उडान थाल्दै छ । यसलगत्तै पाँचौँ गन्तव्यका रूपमा पूर्वोत्तर भारतको आसाममाको राजधानी गुवाहाटीमा पनि उडान थाल्ने घोषणा गरेको छ । ‘गुवाहाटी उडानमा सैद्धान्तिक सहमति पाइसक्यौँ । केही समयभित्रै उडान थाल्दै छौँ,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेतले आइतबार भने ।


बुद्धले ७० सिट क्षमताको एटीआर–७२ विमानबाट यो रुटमा सातामा तीनवटा उडान गर्दै छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि कोलकत्तास्थित नेताजी सुवाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडान अवधि डेढ घन्टाको हुनेछ । बुद्धले यस रुटको दुईतर्फी भाडा २२ हजार हाराहारी तय गरेको छ । ७० सिट क्षमताको एटीआरले एकतर्फी उडानमा ६५ यात्रुसम्म बोक्ने छ ।


यो रुटमा हाल भारतीय एयरलाइन्स एयर इन्डियाले उडान भर्दै आएको छ । भारतभित्र ६९ वटा गन्तव्यसहित ३७ वटा मुलुकमा सिधा उडान भर्दै आएको एयर इन्डियासँग बुद्धले प्रतिस्पर्धा गर्नेछ । नेपाल सरकारले घोषणा गरेको नेपाल भम्रण वर्ष २०२० तथा पछिल्ला वर्ष होटेल लगायत पर्यटन क्षेत्रमा निजी क्षेत्रले बढाएको लगानीलाई आधार मान्दै बुद्धले यो रुटमा उडान थालेको जनाएको छ ।


‘कोलकत्ताको रुट लेभर होइन पर्यटकीय रुट हो’ प्रबन्ध निर्देशक बस्नेतले भने, ‘हामी नेपालको अर्थतन्त्रमा पर्यटकको सङ्ख्या बढाउने प्रयास गर्ने छौँ ।’ उनका अनुसार, बुद्धले कम्तीमा ६ महिना यो रुटमा उडान गर्ने छ । ‘अहिले नाफाघाटा हेर्दैनौँ, ६ महिनापछि हिसाब गर्ने छौँ । यदि कोलकत्ता, गुवाहाटी उडान सफल भइहाले भारतका अन्य सेक्टरमा उडान भर्नु हाम्रा लागि चुनौती हुने छैन,’ आन्तरिक रुटमा परिपक्व भइसकेको बुद्धका प्रबन्ध निर्देशक बस्नेतले भने ।


पर्यटकीय सहित व्यापारिक ट्राफिक हब भएको यो रुटमा यसअघि नेपाल वायुसेवा निगमले पहिलो पटक बोइङ र दोस्रो पटक निजी क्षेत्रको कस्मिकले फोकर विमानबाट सेवा थालेको थियो । तर, जहाज अभावमा निगम अनि टिक्न नसकेर कस्मिकले यो रुटबाट हात झिकेका थिए । भारतको एयर इन्डियाले एयरबस ३२० बाट कोलकता काठमाडौँ उडान भने गर्दै आएको छ । भारतमा सफल हुँदै गएपछी बुद्धले पब्लिक लिमिटेड कम्पनी स्थापना गरी २०७८ भदौदेखि पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्ने घोषणा गरेको छ ।


नेपालमा सन् २०१८ मा नेपाल आएका ११ लाख ७३ हजार पर्यटकमध्ये २ लाख विमान चढेर आउने भारतीय मात्रै थिए । यो सन् २०१७ को दाँजोमा २५ प्रतिशत वृद्धि थियो । सीमा क्षेत्रबाट प्रवेश गर्ने भारतीयहरूको तथ्याङ्क सरकारले राख्ने गरेको छैन ।

प्रकाशित : जेष्ठ १२, २०७६ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?