सिर्सिया भन्सारलाई लक्ष्य भेट्टाउन हम्मे

ब्यापार घट्यो
शंकर आचार्य

पर्सा — व्यापार घटेपछि वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले वैशाख महिनामा लक्ष्यअनुरूपको राजस्व असुली गर्न सकेन । भन्सारले २ अर्ब २७ करोड ९५ लाख ४९ हजार रुपैयाँ मात्र राजस्व संकलन गर्‍यो । यो मासिक लक्ष्यको ७० दशमलव २४ प्रतिशत मात्र हो ।

सिर्सिया भन्सारलाई लक्ष्य भेट्टाउन हम्मे

भन्सार कार्यालयले वैशाखमा ३ अर्ब २४ करोड ५३ लाख ८८ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको थियो ।


चैतमा पनि लक्ष्यको करिब ८० प्रतिशत मात्र राजस्व संकलन गरेको थियो । ३ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा लक्ष्यको ७९ दशमलव ६९ प्रतिशत (२ अर्ब ५८ करोड रुपैयाँ) मात्र राजस्व संकलन भएको थियो ।


कात्तिकयताका कुनै पनि महिनामा यो भन्सारले मासिक राजस्व असुली लक्ष्य भेट्टाउन सकेको छैन । यस वर्ष असोजमा मात्रै मासिक राजस्व असुली लक्ष्य भेटाएको थियो । भन्सार कार्यालयका सूचना अधिकृत विकास साहका अनुसार मासिक राजस्व असुलीका तुलनामा वार्षिक राजस्व असुली लक्ष्य केही राम्रो भए पनि त्यसमा पनि पूर्ण सफलता भने मिलेको छैन । चालु आवको वैशाख मसान्तसम्म यो भन्सारले २९ अर्ब २३ करोड ९९ लाख ९३ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकामा २६ अर्ब १२ करोड ७८ लाख २० हजार रुपैयाँ मात्र संकलन भएको छ । जुन लक्ष्यको ८९ दशमलव ३६ प्रतिशत हो ।


असोजबाहेकका अन्य महिनामा यो भन्सारले मासिक राजस्व असुलीको औसत ८५ देखि ९५ प्रतिशतसम्म मात्र संकलन गर्न सकेको थियो । वैशाखमा ८० प्रतिशतमुनि झरेको छ । अघिल्ला आर्थिक वर्षहरूमा यो भन्सारले उत्साहजनक रूपमा राजस्व संकलन गर्दै आएको थियो । भन्सारको राजस्वमा सर्वाधिक योगदान गर्ने वस्तु फलामको आयात घटदो छ । राजस्वमा राम्रो योगदान गर्ने अर्को वस्तु चिनीको आयातमा पनि परिमाणात्मक बन्देज लागेको छ । तेस्रो मुलुकबाट मदिराको आयात पनि घटेको छ ।


सूचना अधिकृत साहले समग्रमै व्यापार घटेकाले यस वर्ष राजस्व असुली लक्ष्य भेट्टाउन समस्या भइरहेको बताए । कतिपय आयातकर्ताले बन्दरगाहमा ल्याइसकेको सामान पनि जाँचपास गराएर लगेका छैनन् । ‘यस वर्ष समग्रमै व्यापार घटेको छ,’ उनले भने, ‘तैपनि गत वर्षको वैशाखसम्मको तुलनामा यस वर्ष राजस्व बढी नै संकलन हुँदा पनि वार्षिक राजस्व असुली लक्ष्य नै बढी भएकाले पनि समस्या भएको हो ।’

प्रकाशित : जेष्ठ १३, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?