कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निकुञ्ज र संरक्षित क्षेत्रमा बढे पर्यटक

पर्यटकबाट वार्षिक ७१ करोड राजस्व संलकन
अब्दुल्लाह मियाँ

काठमाडौँ — निकुञ्ज र संरक्षित क्षेत्रमा पर्यटकको आकर्षण बढेको आर्थिक सर्वेक्षण प्रतिवेदनले देखाएको छ । २०६६/६७ मा ३ लाख ८१ हजार पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेकामा २०७४/७५ मा करिब सात लाखले भ्रमण गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा आरक्षित क्षेत्रको राजस्व १४ करोडबाट वृद्धि भई ७१ करोड रुपैयाँ पुगेको छ । 

नेपालमा १२ निकुञ्ज, एक सिकार आरक्ष, एक वन्यजन्तु आरक्ष र ६ वटा संरक्षण क्षेत्र छन् । चालु आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म ४ लाख ४० हजार पर्यटकले निकुञ्ज र संरक्षित क्षेत्र भ्रमण गरेका छन्् । यसबाट ३९.२ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।


२०७३/७४ मा ६ लाख ४ हजार ९१, २०७२/७३ मा ३ लाख ८९ हजार २ सय २३, २०७१/७२ मा ५ लाख १७ हजार ९५, २०७०/७१ मा ५ लाख ५८ हजार ५ सय ७७ जनाले भ्रमण गरेका थिए । २०६९/७० मा ५ लाख १० हजार २ सय ५, २०६८/६९ मा ५ लाख २ हजार ९२ र २०६७/६८ मा ४ लाख ५५ हजार २ सय ३७ जनाले निकुञ्ज र संरक्षित क्षेत्र भ्रमण गरेको प्रतिवेदनमा उल्लेख छ ।


काठ उत्पादन लक्ष्यभन्दा आधा

चालु आवमा ६० लाख क्युबिक फिट काठ उत्पादन गर्ने लक्ष्य लिइएकामा फागुनसम्म त्यसको आधामात्र काठ उत्पादन भएको प्रतिवेदनमा उल्लेख छ ।


वनमन्त्री शत्तिबहादुर बस्नेतले वार्षिक ६० लाख क्युबिक फिट काठ उत्पादन गर्ने घोषणा गर्दै कार्यक्रम अघि बढाएका थिए । तर फागुनसम्म ३२ लाख १३ हजार ६ सय ८४ क्युबिक फिट मात्र काठ उत्पादन भएको छ । यसबीचमा ५ हजार २ सय ८८ चट्टा दाउरा उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्ष १ करोड ७५ लाख ५२ हजार क्युबिक फिट काठ उत्पादन भएको थियो ।


वन क्षेत्रलाई समृद्धिको आधार बनाउन सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरेको छ । विदेशबाट हुने काठ आयात घटाउन सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममार्फत उत्पादन बढाउने उद्देश्य राखेको थियो । आव २०७४/७५ सम्म १५ साझेदारी वन, ३२६ सामुदायिक वन र ६ चक्ला वनमा वैज्ञानिक वन व्यवस्थापन प्रणाली लागू भएको छ ।


सामुदायिक वनमा ३० लाख जनता

आव २०७४/७५ सम्म २२ हजार २ सय ६६ सामुदायिक वन हस्तान्तरण भएका छन् । अहिलेसम्म २२ लाख ३७ हजार ६ सय ७१ हेक्टर वन समुदायमा हस्तान्तरण भएको छ । यसबाट २९ लाख ८ हजार ७ सय ८१ घरधुरी लाभान्वित भएका छन् । करिब १ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा १० वटा संरक्षित वन छन् ।


वन र बुट्यान ४४.७ प्रतिशत

नेपालमा प्रतिव्यक्ति ०.२ हेक्टर वन क्षेत्र र १११ रूख भागमा पर्ने देखिएको छ । आर्थिक सर्वेक्षणअनुसार वन क्षेत्रले ५९ लाख ६२ हजार हेक्टर र अन्य काठ तथा बुट्यान क्षेत्रले ६ लाख ४८ हजार हेक्टर भूभाग ओगटेको छ । दुवै गरी ४४.७ प्रतिशत हुन आउँछ ।


मुलुकको वनमा रूखको कुल स्टेम आयतन ९८ करोड २३ लाख ३२ हजार क्युबिक मिटर छ । कुल स्टेम आयतनमध्ये साल प्रजातिमा १९ प्रतिशत छ । जसमा कुल बायोमास ११ हजार ५ सय ५७ टन छ ।


सबभन्दा बढी वन मध्यपहाडमा छ भने कम तराईमा छ । प्रदेशगत हिसाबले सबभन्दा बढी वन क्षेत्र कर्णाली प्रदेशमा छ भने सबभन्दा कम प्रदेश २ मा छ । औसत रूख संख्या प्रतिहेक्टर ४ सय ३० छ । दक्षिण एसियाली मुलुकमा वनका हिसाबले नेपाल दोस्रो स्थानमा छ ।


सबभन्दा बढी वन क्षेत्र भुटानमा ७२.५ प्रतिशत छ भने नेपालमा ४०.३६ (बुट्यानबाहेक) प्रतिशत छ । श्रीलंकामा ३३, भारतमा २१.५४, बंगलादेशमा १०.९६, अफगानिस्तानमा २.१० र पाकिस्तानमा १.८५ प्रतिशत वन क्षेत्र छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?