२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

आयो किसानलाई मल

देवनारायण साह

मोरङ — युरिया मलको अभाव झेल्दै आएका यहाँका कृषकलाई विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेड क्षेक्रीय कार्यालयले शुत्रबारबाट मल वितरण सुरु गरेको छ । कोलकाता बन्दरगाहबाट सडकमार्ग भएर बिहीबार २८ ट्रक युरिया मल भित्रिएपछि वितरण थालिएको हो ।

आयो किसानलाई मल

क्षेत्रीय कार्यालयका प्रबन्धक गोविन्दप्रसाद पराजुलीले कृषकलाई तत्काल युरिया मल आपूर्ति गर्नका लागि कोलकाता बन्दरगाहबाट रेलमा ल्याउन समय लाग्ने भएकाले सडकमार्गबाट २ हजार ४ सय २० टन ल्याउन सुरु गरिएको बताए । ‘बिहीबार २८ ट्रक युरिया मल विराटनगर भन्सार कार्यालय पुग्यो । शुक्रबारबाट कृषकहरूलाई वितरण गरिरहेका छौं,’ पराजुलीले भने ।


उनले कोलकाता बन्दरगाहबाट अब नियमित रूपमा खरिद गरिएको मल आउने भएकाले अहिलेको सिजनमा कृषकलाई मकै, चैते धान, तरकारी बालीमा युरिया मलको अभाव नहुने दाबी गरे । कृषि सामग्री कम्पनीले खरिद गरेको ५५ हजार टनमध्ये विराटनगर कार्यालयलाई १३ हजार ५ सय टन उपलब्ध गराएको हो ।


कम्पनीको क्षेत्रीय कार्यालय विराटनगरबाट मोरङका लागि कृषि मल वितरण गर्नुका साथै पूर्वाञ्चलस्थित कम्पनीको कार्यालयहरू लहान, राजविराज, गाईघाट, इटहरी, धनकुटा, बिर्तामोड, इलामका लागि युरिया मल पठाउने उनले बताए । मोरङमा वार्षिक ८ हजार टन युरिया, ६ हजार टन डीएपी र ३ सय टन पोटास आवश्यक हुने गरेको उनको भनाइ छ ।


कृषकले डेढ महिनादेखि युरिया मलको अभाव झेल्दै आएका थिए । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले पर्याप्त मल उपलब्ध गराउन नसक्दा पूर्वाञ्चलका कृषक गुणस्तरहीन भारतीय मल प्रयोग गर्न बाध्य थिए । मकै, उखु, चैते धान र तरकारी खेतीलगायतमा युरिया आवश्यक भए पनि कम्पनी र ट्रेडिङले वैशाखदेखि कृषकलाई मल उपलब्ध गराउन सकेका थिएनन् । कृषक गुणस्तरहीन भारतीय मल महँगो मूल्यमा खरिद गर्न बाध्य थिए ।


नेपालमा अभाव भएपछि भारतीय सीमावर्ती बजार जोगबनीबाट मल खरिद गरेर ल्याउँदा भारत र नेपाल दुवैतर्फका सुरक्षाकर्मीले कृषकलाई दुःख दिँदै आएका थिए । चालु आर्थिक वर्षको चैत मसान्तसम्म मात्रै सुरक्षाकर्मीले भारतबाट किसानले खरिद गरेर ल्याएको ४ हजार १ सय ५० केजी रासायनिक मल बरामद गरी मुद्दा दाखिला गरेको विराटनगर भन्सार कार्यालयको तथ्यांकमा

उल्लेख छ ।


मुलुकको वार्षिक माग करिब ६ लाख टन छ । सरकारले मागको आधा मात्रै मल वितरण गर्न सकेको छ । सरकारले आर्थिक वर्ष २०७०/७१ मा २ लाख ३२ हजार टन, २०७१/७२ मा २ लाख ९८ हजार टन, २०७२/७३ मा २ लाख ५८ हजार टन, २०७३/७४ मा ३ लाख २८ हजार टन, २०७४/७५ मा ३ लाख ४८ हजार टन वितरण गरेको छ । २०७५ र ७६ मा करिब ३ लाख टन वितरण हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान छ । किसानले पर्याप्त मल नपाउँदा उत्पादनमा कमी आउने गरेको छ ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?