१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

धराशायी हुँदै खाद्य उद्योग

मोहन बुढाऐर

धनगढी — कुनै बेला कैलाली र कञ्चनपुरबाट बंगलादेशमा गहुँ निर्यात हुन्थ्यो । धान भारतमा पठाइन्थ्यो । अहिले यहाँ अपुग भएर धान–गहुँ आयात भइरहेको छ । खाद्य उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

कैलालीको गेटामा डेढ दशकअघि दुगड ग्रुपले स्थापना गरेको राइस मिल बन्द भएपछि यहाँको खाद्यान्न विदेश जान पाएन । सोही समयमा अर्को ठूलो उद्योग श्रद्धा फुड्स इन्डस्ट्रिज पनि बन्द भयो । एकपछि अर्को गरी एक दशकमा कैलालीका एक दर्जन ठूला

राइस मिल बन्द भएका छन् ।


चालु अवस्थामा रहेका खाद्य उद्योग पनि ५० प्रतिशतभन्दा कम क्षमतामा चलिरहेका छन् । आन्तरिक उत्पादनबाट उद्योग सञ्चालन गर्न तीन महिना पनि पुग्दैन । खाद्य उद्योगी ओमप्रकाश अग्रवालले आयातित कच्चा पदार्थबाट यहाँका खाद्य उद्योग चलिरहेको बताए । ‘तोरी र मकैको आन्तरिक उत्पादन एक दिन पनि पुग्दैन,’ अग्रवालले भने, ‘भारतबाट ९९ प्रतिशत तोरी आयात भइरहेको छ ।’


उद्योगी अग्रवालले जनसंख्या वृद्धिले किसानको खाद्यान्नमै बचत कम भइरहेकाले उद्योग संकटमा परेको बताए । उनका अनुसार कैलाली र कञ्चनपुरबाट अहिले १० लाख क्विन्टल खाद्यान्न मात्रै खरिद भइरहेको छ । ‘जनसंख्या वृद्धिले खपत बढ्यो, स्थानीय उत्पादन घट्यो,’ अग्रवालले भने, ‘सहरीकरणले तराईको उर्वरा खेत खण्डीकरण भएर उत्पादकत्व पनि स्वतः घटेको छ ।’


उनले आन्तरिक उत्पादनको निर्भरता मात्रै रहे अरू खाद्य उद्योग पनि बन्द गर्नुपर्ने अवस्थामा पुग्ने बताए । ‘भारतलगायत बाह्य मुलुकबाट कच्चा पदार्थ आयात गरी खाद्य उद्योगलाई दिगो रूपमा चलाउन गाह्रो छ,’ अग्रवालले भने, ‘सरकारले यहाँको उर्वराभूमिको उत्पादकत्व बढाउनतिर ध्यान दिनुपर्छ ।’


कैलाली भन्सार नाकाबाट गएको साउनदेखि हालसम्म चामल १ अर्ब ८२ लाख र गहुँ ६३ करोड १७ लाखभन्दा बढी मूल्यको आयात भएको छ । यस नाकाबाट धान, गहुँ, तोरी, मकैलगायत खाद्य कच्चा पदार्थ वार्षिक ३ अर्बभन्दा बढीको आयात हुने गरेको भन्सार कार्यालयका कम्प्युटर अधिकृत यज्ञराज जोशीले बताए ।


नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष शंकर बोगटीले आन्तरिक उत्पादनको कच्चा पदार्थ अपुग हुँदा खाद्य उद्योग पूर्ण क्षमतामा चलाउन हम्मे भएको बताए । ‘अहिले पनि सुदूरपश्चिममा ठूला उद्योग भनेकै खाद्यका मात्र हुन्,’ बोगटीले भने, ‘कैलाली र कञ्चनपुरमा खाद्य उद्योगमा ५० अर्बभन्दा बढी लगानी छ ।’ कैलालीमा राजश्री फुड, भागेश्वर एग्रो, भागेश्वर राइस मिल, ठाकुर एग्रो, नेपाल एग्रो, अवस्थी एग्रो र थापा एग्रोलगायत ठूला उद्योग सञ्चालनमा छन् ।


अध्यक्ष बोगटीले अपुग कच्चा पदार्थले उत्पादन घट्ने, लागत बढ्ने भएकाले यहाँका खाद्य उद्योग धराशायी भइरहेको बताए । ‘अहिले त झन् भारतबाट सस्तोमा खाद्यान्न आइरहेको छ,’ उनले भने, ‘स्थानीय उत्पादनको कच्चा पदार्थ कम पाइनु, कम उत्पादनमा लागत बढ्नु र भारतको उत्पादित खाद्य वस्तुसँग घाटा प्रतिस्पर्धाले स्थानीय खाद्य उद्योग धराशायी भइरहेका छन् ।’


स्थानीय मोटो चामलको मूल्यभन्दा भारतबाट मसिनो चामल सस्तोमा यहाँ पुग्न थालेको उनको भनाइ छ । ‘सुदूरपश्चिमका लागि कैलाली र कञ्चनपुर खाद्यान्नमा अपार सम्भावना बोकेका जिल्ला हुन्,’ उद्योग वाणिज्य संघका पूर्वमहासचिव रूपेश स्वाँरले भने, ‘त्यसैले यहाँको उर्वरा भूमिको उत्पादकत्व वृद्धि गर्न कृषिमा आधुनिकीकरणको योजना र खाद्य उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याउन जरुरी छ ।’

प्रकाशित : जेष्ठ १९, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?