एउटै वडामा ६३ उद्योग

रूपा गहतराज

नेपालगन्ज — बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा ६३ उद्योग स्थापना भएका छन् । ४४ वटा सञ्चालनमा छन् भने १९ सञ्चालनको तयारीमा छन् । नेपालगन्ज औद्योगिक क्षेत्रमा ३० मात्रै सञ्चालनमा रहेकामा गनापुरमा भने स्वस्फुर्त रूपमा सिमेन्ट, आइरन, खाद्य, इँटा, जडीबुटी, रोजिन, औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्त्व राख्ने ठूला उद्योग स्थापना भएका हुन् ।

एउटै वडामा ६३ उद्योग

नेपालगन्ज–कोहलपुर सडक खण्डसँगै जोडिएको गनापुरमा लहरै उद्योग स्थापना भएका छन् ।


जानकी गाउँपालिका–६ का वडाध्यक्ष सुरेश अहिरले राजमार्गसँग जोडिएको र नेपालगन्ज उपमहानगरपालिकाबाट नजिक भएकाले गनापुरमा उद्योग थपिने क्रम बढेको बताए । गनापुरमा स्थापना भएका ६३ मध्ये ६ उद्योग अहिले बन्द अवस्थामा छन् भने पाँच नयाँ उद्योग खुल्ने क्रममा रहेका छन् ।


बाँकेको जानकी गाउँपालिकामा पछिल्लो समय नयाँ नयाँ उद्योग थपिँदै गएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले बताए । गाउँपालिकाले उद्योगमैत्री नीति अपनाउँदै गनापुर क्षेत्रलाई औद्योगिक क्षेत्रका रूपमा विकास गरिने उनले बताए ।


नेपालगन्ज उपमहानगरपालिकाभित्र ठूलो उद्योग खोल्नका लागि आवश्यक पर्ने जग्गाको अभाव छ । पाइहाले पनि महँगो पर्छ । ‘त्यसको विकल्पमा उपमहानगरपालिकासँगै जोडिएको र राजमार्गको छेउमै रहेको जानकी गाउँपालिकामा पर्याप्त जग्गा सुलभ मूल्यमा पाइन सहज छ,’ गाउँपालिका अध्यक्ष यादवले भने, ‘त्यसैले उद्योग खोल्दा सबैको रोजाइ जानकी गाउँपालिका हुने गरेको छ ।’


गनापुरमा धेरै उद्योग सञ्चालनमा आए पनि सडकलगायत पूर्वाधारको भने अभाव छ । उद्योगसम्म पुग्नका लागि साँघुरो सडक छ । उद्योग सञ्चालनमा आवश्यक सडक र पूर्वाधार निर्माणमा गाउँपालिकाले ध्यान दिएको अध्यक्ष यादवले बताए । गनापुरदेखि गाउँपालिका कार्यालय हुँदै गुलरिया–नेपालगन्ज जोड्ने सात किलोमिटर सडक विस्तार पनि सुरु गरिएको छ । अहिलेको साँघुरो सडकलाई सात मिटर फराकिलो पक्की सडक निर्माण हुने यादवले बताए ।

प्रकाशित : जेष्ठ २१, २०७६ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?