१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

चीनले अमेरिकी सोयाबिन थन्क्याउने

रोयटर्स

बेइजिङ/सिंगापुर — चीनले संयुक्त राज्य अमेरिकासँग किनेकोमध्ये बढीमा ७० लाख टन सोयाबिन भण्डारण गर्ने भएको छ । केही अघि व्यापार युद्ध अलि साम्य भएका बेला चीनले यति परिणाममा सोयाबिन खरिद गरेको थियो । यसलाई उसले क्रसिङ गरेर तत्काल बेच्नुको सट्टा थन्काएर राख्ने निर्णय गरेको जानकारहरूले बताएका छन् ।

गत महिनादेखि चीन र अमेरिकाको व्यापार युद्ध थप चर्किएपछि चीनले यति ठूलो परिणामको सामग्री भण्डारण गर्ने असामान्य निर्णय गरेको हो । सोयाबिन आयातको मामिलामा चीनका लागि अमेरिका दोस्रो ठूलो वितरक हो । चीनले विश्वकै दुई तिहाइ सोयाबिन खरिद गर्ने गरेको छ । चौपायालाई खुवाउन उसले सोयाबिन किन्ने गरेको हो ।


सोयाबिनको आयात घटाउन चीनले वैकल्पिक आहारामा ध्यान दिन थालेको छ । पशुको खान्कीमा प्रोटिनको मात्रा नियन्त्रण गर्ने उपाय पनि उसले अवलम्बन गर्न थालेको छ । चीनले डिसेम्बरमा अमेरिकाबाट १ करोड ७० लाख टन सोयाबिन खरिद गरेको थियो । त्यसमध्ये ६० लाखभन्दा बढी टन चीन भित्रिसकेको छ । भित्रिएका सोयाबिनलाई पेलेर तेल निकाल्नुका साथै सोयामिलसमेत बनाइसकिएको छ ।


चीनको एक सरकारी ट्रेडरका अनुसार खरिद गरिएको बाँकी सोयाबिन चीनको सीओएफसीओ र सिनोग्रेन नामक संस्थाले बुक्ड गरेकामा अब त्यसलाई सरकारी खरिदमा डाइभर्ट गरिनेछ । बेइजिङ र वासिङ्टनबीचको बढ्दो तनावपछि चीनले आफ्नो खरिद रणनीतिमा परिवर्तन ल्याएको बताइन्छ ।


‘अमेरिकाबाट अब जति परिणाममा सोयाबिन आउँछ, ती सबै भण्डारणमा जानेछ,’ चीनका एक अन्तर्राष्ट्रिय ट्रेडरले भने, ‘लामो अवधिको व्यापार तनावका लागि यो उनीहरूको तयारी हो ।’ सञ्चार माध्यमसँग बोल्ने अनुमति नदिइएकाले कुनै पनि व्यापारीले परिचय खुलाउन मानेन् । राज्यको सोया भण्डारणको व्यवस्थापन गर्ने सिनोग्रेन र सीओएफसीओ दुवैले प्रतिक्रिया दिन आनाकानी गरे ।


पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमा भन्सार शुल्क वृद्धि गरेपछि चीनका ट्रेडर्सले खरिदका लागि बुक्ड गरेको सोयाबिन अब चीन सरकारले आफ्नो नाममा बुकिङ सारेको हो । विश्वमा सबैभन्दा धेरै सोयाबिन खरिद गर्ने चीनले अमेरिकाबाट भित्र्याइने सामग्रीमा भारी कटौती गर्न थालेको छ । अमेरिकी आयात कम गर्न चीनले ब्राजिल र अन्य देशबाट सामग्री आयात गर्न सुरु गरेको छ ।


आगामी वर्ष बाली भित्र्याउने बेला (अक्टोबर) सम्म चीन र अमेरिकाको व्यापार युद्ध टुंगो लागोस् भन्ने व्यापारीले चाहेका छन् । पछिल्लो हप्ताको तनावपछि चीनले भने वैकल्पिक तयारी गर्न थालेको छ । यसपालि अफ्रिकी स्वाइनफ्लुले चीनको सुँगुर फार्मलाई ठूलो क्षति पुर्‍याए पनि सोयामिलबाट पाइने प्रोटिनको माग घटेको छैन । बेइजिङले कति मात्रामा सोयाबिन भण्डारण गर्दै आएको छ भन्ने खुल्न सकेको छैन तर उसले अर्जेन्टिनाबाट सोयाबिन किनेर परिपूर्ति गर्ने विकल्प रोजिसकेको छ ।

प्रकाशित : जेष्ठ २३, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?