१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मल अभावले पहेंलिए मकै 

सुवास बिडारी

मकवानपुर — हेटौंडामा युरिया मलको चरम अभाव छ । कृषि सामग्री केन्द्र लिमिटेडले समयमै उपलब्ध नगराउँदा अभाव भएको हो । करिब दुई महिनापछि सरकारी अनुदानको ३ हजार ३ सय ४० बोरा मल आए पनि त्यसले किसानको माग थेग्न सकेन ।

‘दस टन युरिया मल माग गरेका थियौं । ६० बोराभन्दा बढी पाइएन,’ मनहरी–७ स्थित विश्वास कृषि सहकारी संस्थाका कृष्णहरि बर्तौलाले भने, ‘कृषि सामग्री केन्द्रले सहकारीमार्फत मात्र मल वितरण गर्छ । हाम्रो क्षेत्रमा तीनवटा सहकारी छन् । तीमार्फत यो सिजनमा तीन टनभन्दा बढी मल खपत हुने अवस्था छ ।’ उनले मल आउने खबरले सहकारीमा किसानको भीड लागेको बताए ।


मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका किसान मनहरी बजारमा मल किन्न आउँछन् । ‘राक्सिराङ र कैलाशमा वर्षाको समयमा गाडी चल्दैन । त्यसकारण किसान अहिले नै मलको जोहो गर्छन् । हाल दैनिक एउटा सहकारीबाट एक सय बोराभन्दा बढी मल बिक्री हुन्छ,’ उनले भने ।


हाँडीखोलाबाट मल किन्न हेटौंडा आएका प्रेमबहादुर खत्रीले मकैमा सुत्ला लागिसकेको र चैते धानमा समेत मल हाल्ने समय घर्केको भन्दै किसानको समस्याप्रति संवेदनशील नभएको आरोप लगाए । ‘हामीले बर्सेनि भोग्ने समस्या एउटै छ । कहिले पनि सजिलै मल पाइएन,’ उनले भने । २७ कट्ठामा मकै छरेका उनले मल अभावले मकैको पातहरू पहेंलो हुन थालिसकेको बताए । उनले आफू मल किन्न चारपटकसम्म हेटौंडा आएर फर्केको बताए ।


कतिपय किसानले भारतबाट लुकाएर ल्याएको मल खरिद गरेर बालीमा हालिसकेका छन् । यस सिजनमा मात्र मकवानपुरमा करिब ५० हजार बोरा मल बिक्री हुने दाबी कृषि सहकारीकर्मी गर्छन् । केन्द्रले वार्षिक मुस्किलले ४७ हजार बोरा मल वितरण गरेको तथ्यांक कृषि सामग्री केन्द्रसँग छ ।


कृषि सामग्री केन्द्र मकवानपुरकी प्रमुख शर्मिला घिमिरेले यस वर्ष मल आउन ढिलो भएको स्विकारन् । ‘हामीले गर्नुपर्ने काम समयमै गरेका छौं । मल आइपुग्न ढिला भयो । हामीले मल प्राप्त हुनासाथ वितरण सुरु गरिसकेका छौं,’ उनले भनिन्, ‘अब धमाधम आउँछ भनिएको छ । हामी जिल्लाभर मागको आधारमा मल वितरण गरिरहेका छौं ।’

प्रकाशित : जेष्ठ २६, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?