कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानमार रुटबाट सुन र सुपारी तस्करी

पर्वत पोर्तेल

टमु, म्यानमार — गत वर्ष जेठ १८ मा चीन हुँदै सिक्किमको नाथुला मार्गबाट भित्रिएको ३२ किलो सुन केन्द्रीय राजस्व अनुसन्धान विभागको टोलीले सिलिगुडीबाट समात्यो । करिब वर्षर् दिनपछि अर्थात् वैशाख ३१ मा सिलिगुडीबाटै २४ दशमलव १५० किलो सुन बरामद गर्‍यो । 

यसपटक सुन नाथुलाबाट नभएर म्यानमार (बर्मा) बाट भित्रिएको थियो । अन्दाजी आठ करोड भारुको सुन बरामदसँगै तस्करले म्यानमार–मोरे (मणिपुर) नाकालाई तस्करीको अर्को रुटका रूपमा प्रयोग गरिरहेको खुलेको छ ।


म्यानमारको टमुका स्थानीय र मणिपुरको मोरेका बासिन्दालाई यो नाकामा आवतजावत गर्न छुट छ । अन्तर्राष्ट्रिय सीमा भए पनि व्यापारिक सिलसिलामा बर्मेलीहरू भारततिर आउने र भारतीयहरू उता जाने गर्छन्, भिषाबेगरै । त्यही खुला सीमाको फाइदा उठाउँदै तस्करले धमाधम सुन भित्र्याइरहेका छन् ।


नेपालमा कडाइ भएपछि अन्तर्राष्ट्रिय संगठित आपराधिक गिरोहले कहिले चीन हुँदै सिक्किमको नाथुला, कहिले चीन हुँदै भुटानको जयगाउँबाट सुन भित्र्याउँदै आएकामा यसपालि चीनबाट बर्मा हुँदै मणिपुरको मोरेबाट सुन भारत भित्र्याइरहेको स्रोतले जनाएको छ ।

‘खुला सिमानाका कारण यो नाका सुन तस्करीका लागि सहज देखिन्छ,’ अनुसन्धान विभागका एक अधिकारी भन्छन् ।


मोहम्मद नोमान, मोहम्मद लुक्सान, मोहम्मद जमिल अहमद, हाजिफ मिसवाउद्दिन, मोहम्मद दाउद अख्तर र मोहम्मद वासिम खानलाई विभागको टोलीले पक्राउ गरेको थियो । अभियुक्त सबै पूर्वोत्तर भारतीय राज्य मणिपुरका बासिन्दा हुन् । अनुसन्धान टोलीका अनुसार सुन तस्करीकै लागि भनेर बनाइएको उनीहरूको भित्री पोसाक विशेष थियो ।



सिलिगुडी 'ट्रान्जिट’

शृृंखलाबद्ध सुन बरामदले पश्चिम बंगालको दोस्रो ठूलो सहर सिलिगुडी सुन तस्करीको ‘ट्रान्जिट’ बन्दै गएको देखाउँछ । गत वर्ष असार १३ गते २ किलो, असार २३ मा १० किलो, भदौ ९ मा २० किलो बरामद भएको थियो सिलिगुडीबाटै ।


‘सुन बरामदको घटना हेर्दा सिलिगुडी ट्रान्जिट बन्दै गएको देखिन्छ,’ केन्द्रीय राजस्व अनुसन्धान विभागका पूर्वी क्षेत्रीय उपनिर्देशक पार्थ प्रतिम वसु भन्छन्, ‘पछिल्लो समय सिलिगुडी सुन थुपार्ने गोदाम बन्दै गएको छ ।’ केन्द्रीय राजस्व अनुसन्धान विभागका अनुसार वर्ष दिनभित्र १ अर्ब ४५ करोड ६९ लाख मूल्यको सुन सिलिगुडीबाट बरामद गरिएको छ । नेपाल, भुटान, चीन र म्यानमार (बर्मा) बाट तस्करले सुन सिलिगुडी पुर्‍याएका हुन् ।


विगतमा हङकङ हुँदै नेपालबाट सुन भारत तस्करी हुन्थ्यो । तर, ३२ किलो सुन काण्डपछि सरकारले गरेको कडाइका कारण नेपालबाट सुन तस्करीमा कमी आएको भारतीय अधिकारीहरूको भनाइ छ । नेपाल, भुटान र बर्मा भारतीयका लागि खुला नाका हो । यी तीनै देशमा आवतजावत गर्न भारतीयलाई भिसा चाहिँदैन । त्यही कारण सुनलगायत अन्य तस्करीजन्य गतिविधिमा सहज हुने गरेको छ । सबै सुन सिलिगुडीको सेवोक रोड क्षेत्रबाट बरामद गरिएको देखिन्छ ।


सुन तस्करीको ‘अखडा’ का रूपमा यो क्षेत्रलाई भारतीय गुप्तचर र राजस्व विभाग दुवैले लामो समयदेखि निगरानी गर्दै आएका थिए । तस्करीको सुन सिलिगुडीबाट दक्षिण भारतका विभिन्न सहर र फिल्म नगरी मुम्बईमा पुर्‍याइने गरेको अनुसन्धान क्रममा खुलेको छ । ‘दक्षिण भारतीय सहरको माग सिलिगुडीले पूर्ति गर्दै आएको देखियो,’ गुप्तचर विभागका एक अधिकारीले भने ।


गुप्तचर विभागले सिलिगुडी सुन तस्करीको ट्रान्जिटका रूपमा विकास हुँदै आएको दाबी गरेको छ । ‘नेपालबाट सुन तस्करी गर्न नपाउँदा अन्तर्देशीय संगठित गिरोहहरूले पहिला नाथुला, पछि भुटान र अहिले बर्माको नाका प्रयोग गरेर सुन भित्र्याइरहेका छन्,’ भारतीय गुप्तचर विभागले भन्यो, ‘नेपालको बाटोबाट भित्र्याउँदा जति सहज थियो, अहिले त्यस्तो सहज चाहिँ छैन ।’


सुपारी पनि

२०५० को दशकभन्दा अघिबाटै नेपालमा इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया र सिंगापुरलगायत मुलुकबाट सुपारी आयात हुँदै आएको थियो । यो क्रम अहिले क्रमशः घट्दो छ । विगतमा सुपारी आयातबाटै केही भन्सारको लक्षित राजस्व पूरा हुन्थ्यो । अहिले सुपारीको आयात बर्सेनि घटिरहेको छ ।


यसको मुख्य कारण सुपारी कारोबारमा संलग्न गिरोहले नेपालमा सुपारी पठाउन कम गर्दै लगेकाले हो । नेपालको स्थान अहिले भारतसँगको छिमेकी मुलुक म्यानमार (बर्मा) ले लिएको छ । थाइल्यान्ड, मलेसिया, सिंगापुरजस्ता मुलुक म्यानमारका छिमेकी भएकाले सुपारी आयातमा म्यानमारलाई सहज छ । आयातित सुपारी म्यानमारमा हैन भारतमा खपत हुन्छ ।


जसरी विगतमा नेपाली व्यवसायीमार्फत आयात भएका सुपारी वैधानिक र अवैधानिक दुवै माध्यमबाट भारत पुर्‍याइन्थ्यो । अहिले म्यानमारले आयात गरेको सुपारी तस्करीको बाटोबाट भारत पुर्‍याइन्छ । भारतका ठूलठूला गुटखा कारखानाहरूमा सुपारीको खपत बढी छ । ‘नेपालबाट भन्दा बर्माबाट सुपारी ल्याउन भारतलाई सहज र सस्तो पर्छ,’ झापाका एक व्यवसायीले भने, ‘त्यही भएर बर्मा रुट फस्टाएको छ ।’


विगतमा व्यवसायीहरूले सरकारसँग प्रत्यक्ष मिलेमतो गरेर आयातित सुपारीलाई नेपाली उत्पादनको ब्रान्डमा वैधानिक बाटोबाट भारत पनि पठाए । अवैध ढंगबाट पनि भारत नै पठाइयो । अहिले सरकारले सुपारीको कोटा नै खारेज गरिएको छ । वाणिज्य मन्त्रालयको सिफारिसमा विगतमा वार्षिक करिब साढे ९ हजार टन सुपारी वैधानिक बाटोबाट भारत पठाइथ्यो ।


यो काममा ठूलठूला व्यवसायीदेखि सरकारी कर्मचारीको प्रत्यक्ष संलग्नता थियो । उद्योग वाणिज्य संघ, सुपारी खेती विकास संस्थालगायत निजी क्षेत्रले विदेशी सुपारीलाई नेपाली भनी सिफारिस गर्थे । त्यसबापत उनीहरूले निश्चित कमिसन पाउँथे ।


अख्तियारले विराटनगर भन्सारबाट निर्यात हुन लागेको सुपारी केही वर्षअघि रोकेदेखि नै सुपारी कारोबार क्रमशः घट्दै गएको हो । निर्यात गर्न नपाएपछि व्यवसायीले आयात गर्नै छाडेका छन् । मेची भन्सारका अनुसार सुपारीको आयात पूर्ण रूपमा रोकिएको त छैन तर विगतमा भन्दा धेरै गुणा आयात घटेको छ ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?