कृषि थोक बजार अस्तव्यस्त

अर्जुन राजवंशी

(बिर्तामोड) — बिर्तामोड नगरपालिकाको कृषि थोक बजार अस्तव्यस्त छ । कृषि मन्त्रालय मातहत सञ्चालित बजारमा नियमन गर्ने निकाय पुग्नै सकेको छैन । ५ वर्षदेखि नेतृत्वविहीन यो बजार कर्मचारीको भरमा सञ्चालन भइरहेको छ । 
०५३ मा स्थापना भएको बजार करिब चार बिघा क्षेत्रफलमा फैलिएको छ ।

उक्त बजार भारतीय तथा पूर्वी पहाडी क्षेत्रका तरकारी किसानको प्रमुख थोक बजार हो । बजार पाँच वर्षयता नेतृत्वविहीन छ ।


बजारको उद्देश्यअनुसार समिति गठन हुन सकेको छैन । सञ्चालनका लागि व्यापारी, किसान, नगरपालिका, कृषि ज्ञान केन्द्रलगायतका पदाधिकारी रहेको बजार व्यवस्थापन समिति गठन गर्नुपर्ने नियम छ । पाँच वर्षअघि तत्कालीन अध्यक्ष मोहन सिवाकोटीको निधन भएपछि नयाँ समिति चयन हुन सकेको छैन ।


गोदाम घरहरू जीर्ण बन्दै गएका छन् । दैनिक निस्किने फोहोरमैलाको उचित व्यवस्थापन छैन । वर्षातको समयमा पानीको निकास नहुँदा उपभोक्ता बजारमा गएर किनमेल गर्न सक्ने अवस्था हुँदैन । कृषि थोक बजार भनिए पनि परिसरभित्र कृषिबाहेकका पसल थपिने क्रम बढेको छ । कृषि थोक बजारभित्रका सटरहरू बजार दरभन्दा ५ सय गुण कम दाममा मासिक भाडामा लगाइएका छन् ।


‘कृषि थोक बजारको अस्तव्यस्तताबारे भनेर साध्य छैन,’ बजार सुरुवातदेखिका उपभोक्ता सुरेन राजवंशीले भने, ‘स्थापनाको अढाई दशक पुग्न लागिसक्यो । सुधार हुन्छ कि भन्ने आशा कहिल्यै पूरा भएन ।’ उनले बजारको भविष्यबारे चिन्ता भए पनि गुनासो गर्ने ठाउँ नभएको बताए । संघीय सरकारले खटाउने एकजना सुब्बासरहको कर्मचारीको भरमा दैनिक करोडौंको कारोबार हुने कृषि थोक बजारको सही सञ्चालन हुन नसक्ने दाबी राजवंशीले गरे ।


कृषि थोक बजारभित्र रहेको कार्यालयका अनुसार बजारमा ३२८ वटा पसल छन् । बजारलाई पाँच सेक्टरमा विभाजन गरिएको छ । फलफूलका ३२, तेलहन दलहनका १९, माछामासुका ६०, खुद्रा सब्जीका १२०, थोक बिक्रेता ८६ र अन्य विविध ११ वटा पसल रहेको व्यवस्थापक सीताराम नेपालले जानकारी दिए । उनले बजारबाट वार्षिक ६० लाख रुपैयाँ आम्दानी हुने गरेको बताए । बजार सञ्चालनका लागि वार्षिक कति बजेट खर्च हुन्छ भन्नेबारे यकिन जानकारी नभएको उनले बताए ।


कृषि थोक बजारभित्र भुइँमा बसेर पसल गर्नेहरूबाट दैनिक तथा बुधबार लाग्ने साप्ताहिक हाटबाट कर उठाइन्छ । तरकारी लिएर आउने गाडीबाट दैनिक प्रवेश शुल्क उठाइन्छ । भुइँमा पसल गर्ने स्टलहरूसँग मासिक ३५० देखि १ हजार १ सय ५० रुपैयाँसम्म तथा सटरका व्यापारीहरूबाट १ हजार ८० देखि १ हजार ६ सय ६५ रुपैयाँसम्म मासिक भाडा उठाउने गरेको कार्यालयका बजार निरीक्षक काशीनाथ अधिकारीले जानकारी दिए ।


बिर्तामोड नगरपालिकाका मेयर ध्रुव सिवाकोटीले कृषि थोक बजारको सञ्चालन अधिकार स्थानीय तहलाई दिनुपर्ने माग गरे । उनले बिर्तामोड पूर्वकै प्रमुख व्यापारिक केन्द्र भएकाले नगरभित्र सञ्चालित कृषि थोक बजारको सञ्चालन प्रद्धति पनि मजबुद हुन जरुरी रहेको तर्क गरे । उनले बजार पूरै अस्तव्यस्त रूपमा चलिरहेकाले अहिलेकै अवस्थामा छाडे समग्र बिर्तामोडकै व्यापारमा असर पर्ने जिकिर गरे । ‘बिर्तामोड तीव्र गतिमा आर्थिक कारोबारको ट्रान्जिटका रूपमा अघि बढिरहेको छ । कृषि थोक बजारको व्यवस्थापकीय अवस्था लथालिंग छ । त्यसलाई सही ट्र्याकमा ल्याइएन भने समग्र बिर्तामोडकै भविष्यमा ठूलो धक्का लाग्ने अवस्था छ,’ मेयर सिवाकोटीले भने । उनले कृषि थोक बजार सञ्चालनको अधिकार माग गर्दै कृषि मन्त्रालयमा निवेदन दिएको बताए । उनले कृषि थोक बजारमा फरक प्रकृतिका पसलहरू थाप्ने क्रम बढ्नु चिन्ताको विषय भएको जनाए ।

प्रकाशित : जेष्ठ २७, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?