कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

भारत निर्यातमा पनि अनुदान

बेसार, प्रशोधित मह, प्रशोधित अलैंची, अदुवा, सुठो र जुत्ता निर्यात गर्दा अनुदान पाइने पुष्प र तरकारीमा प्रशोधन नगरे पनि अनुदान
राजु चौधरी

काठमाडौँ — व्यवसायीले भारतमा निर्यात गर्दा पनि अनुदान पाउने भएका छन् । तेस्रो मुलुकमा निर्यात गरेबापत मात्रै पाउने व्यवस्थालाई परिमार्जन गर्दै सरकारले भारततर्फ पनि सुरु गरेको हो । वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीका अनुसार बेसार, तरकारी, प्रशोधित मह, प्रशोधित अलैंची, अदुवा, पुष्प, सुठो, जुत्तामा निर्यात अनुदान पाइनेछ । 

‘निकासीकर्ताले पाउँदै आएको निर्यात अनुदान अब भारततर्फ पनि लागू गरेका छौं । यसले अनुदान पाउने व्यवसायीलाई प्रोत्साहन मिल्नेछ,’ सोमबार पत्रकार भेटघाटमा सचिव अधिकारीले भने, ‘सरकारले भारतमा निर्यात गरे अनुदानको दिने निर्णय गरेको छ ।’ निर्यात अनुदानले उत्पादनमा पनि केही सुधार हुने मन्त्रालयको ठहर छ ।


राष्ट्र बैंकको तथ्यांकअनुसार मुलुकको कुल निर्यात व्यापारमध्ये करिब ६५ प्रतिशत भारतमै निर्भर छ । १० महिनाको तथ्यांकअनुसार भारततर्फ ६४.१ प्रतिशत निर्यात भएको छ । दोस्रोमा अमेरिका ११.३ प्रतिशत, टर्की ३.३ प्रतिशत, जर्मनी ३.३ प्रतिशत र बाँकी १८ प्रतिशत अन्य मुलुकमा निर्यात भएको उल्लेख छ ।


भारतमा मात्रै निर्भर हुँदा पनि निर्यातमा अनुदान थिएन । भारत निर्यातमा अनुदान जायज भएको पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले बताए । ‘यसअघि पक्षपात भएको थियो । जहाँ बढी सम्भावना छ, त्यहीं निकासी हुँदा अनुदान थिएन । न्यायसंगत थिएन,’ उनले भने, ‘त्यसैले भारत निकासीमा पनि अनुदान आवश्यक छ ।’ भारत ठूलो बजार भएको जनाउँदै उनले प्रतिस्पर्धा गर्न पनि अनुदान आवश्यक रहेको बताए । ‘नेपालका लागि भारतीय रुपैयाँ आवश्यक पनि छ । त्यसैले प्रोत्साहन गर्न जरुरी छ,’ ओझाले भने ।


मन्त्रालयका अनुसार जुत्ता पनि निर्यात अनुदान दिइएको छ । हाल गोल्डस्टारबाहेक अन्य जुत्ता निर्यात हुन सकेको छैन । गोल्डस्टारले भने भारतमा निर्यात गर्दै आएको छ । जुत्तालाई व्यवस्थित गर्न सरकारले तुलनात्मक लाभको वस्तुको सूचीमा पनि समावेश गरेको छ । निर्यात भने गर्न सकेको छैन । निर्यात गर्नुको सट्टा आयातमा अर्बौं रुपैयाँ बाहिरिएको छ ।


मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीका अनुसार बेसार, मह, अलैंची, अदुवा र सुठो अनिवार्य प्रशोधन गर्नपर्छ । पुष्प र तरकारीको हकमा पनि प्रशोधन गर्न पर्दैन । व्यवसायीले भ्यालु एडिसनको आधारमा निर्यात अनुदान पाउँछन् । ‘भ्यालु एडिसनकै आधारमा ३ देखि ५ प्रतिशत निर्यात अनुदान वितरण हुन्छ,’ उनले भने, ‘कार्यान्वयनका लागि उद्योग विभागमा पत्राचार गरिसकेका छौं ।’


मन्त्रालयका अनुसार निर्यात अनुदानका लागि साउन र माघमा भ्यालु एडिसनको प्रमाणीकरण गर्नुपर्छ । चालु आर्थिक वर्षमा भारततर्फ छुट दिएको मन्त्रालयले जनाएको छ । ‘समयावधि सकिएकाले व्यवसायीले दाबीअनुसार निर्यात अनुदान दिन्छौं,’ सचिव अधिकारीले भने, ‘यसले भारततर्फको निर्यात र उत्पादन बढाउँछ ।’ यसअघि चालु आर्थिक वर्षको बजेट भाषणको क्रममा निर्यात अनुदान बढाएको थियो । यसअघि व्यवसायीले २ देखि ४ प्रतिशत निर्यात अनुदान पाउँदै आएकोमा अर्थमन्त्री युवराज खतिवडाले औद्योगिक उत्पादनको निर्यातमा ५ प्रतिशतसम्म निर्यात अनुदान दिइने बताएका थिए ।


उक्त अनुदान तेस्रो मुलुक निकासीकर्ताका लागि थियो । सोहीअनुसार मन्त्रालयले २६ वस्तुमा निर्यात अनुदान दिने निर्णय गरेको थियो । मन्त्रालयले १५ वस्तुमा ५ प्रतिशत अनुदान दिएको थियो । ती वस्तुहरू प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला (क्रस्ट) र छालाजन्य उत्पादनहरू, हाते कागज तथा सोबाट उत्पादित सामान, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना छन् ।


अल्लोबाट उत्पादित सामानहरू, मिनरल वाटर, बेसार, तरकारी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैंची, प्रशोधित अदुवा (सुठो, स्लाइडिङ, तेल र पाउडरलगायत) र प्रशोधित जडीबुटी तथा सारयुक्त तेल छन् । ११ वस्तुमा ३ प्रतिशतको दरले अनुदान दिने निर्णय गरेको थियो ।


तीन प्रतिशत नगद अनुदान पाउने वस्तुमा स्वदेशमा उत्पादित कपडा, तयारी पोसाक, गलैंचा र ऊनीका सामान, च्याङ्ग्रा पस्मिना तथा सोबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादनहरू छन् । यी वस्तुहरू तेस्रो मुलुकमा निर्यात गरेबापत अनुदान दिइएको थियो ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?