१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जडीबुटी खेती विस्तार

खोटाङ — जिल्लाका किसान जडीबुटी खेती विस्तारमा लागेका छन् । केपिलासगढी र साकेला गाउँपालिका तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसान जडीबुटी खेतीमा लागेका हुन् ।

जडीबुटी खेतीबाट मनग्गे आम्दानी हुने भएकाले खेतीमा किसानको आकर्षण बढेको छ । बूढोओखती, सुगन्धवाल, सतुवा, हलेदो, पाखनवेद, चिराइतो, मछिनोलगायत जडीबुटी प्रशस्त पाइन्छ । केपिलासगढी गाउँपालिका १ फेदीका किसानले भने जडीबुडी निकासी नै गरिसकेका छन् । स्थानीय नरजित राईले फेदीको चित्रे, पत्करु, बर्खे, पिपिन, सुम्देलगायत लेकाली क्षेत्रमा उत्पादन हुने बूढोओखती र सुगन्धवाल संकलन गरी काठमाडौं निकासी गरेको बाक्सिलास्थित सबडिभिजन वन कार्यालयका वन रक्षक खबिराज राईले बताए ।


राइले ७५० केजी ठूलोओखती र दुई सय केजी सुगन्धवाल निकासी गरेको छन् । गाउँमा प्रतिकेजी ८० रुपैयाँदेखि सय रुपैयाँमा सुगन्धवाल पाइन्छ । काठमाडौंमा प्रतिकेजी डेढ सयदेखि दुई सय रुपैयाँसम्ममा बिक्री हुने राईले बताए । यस्तै बूढोओखती प्रतिकेजी ३० देखि ५० रुपैयाँमा पाइन्छ । काठमाडौंमा त्यसको प्रतिकेजी ८० देखि १ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । जडीबुटीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि २०७५ असारमा तत्कालीन जिल्ला वन कार्यालयमा दर्ता गरेर ठूलोओखती र सुगन्धवाल खेती सुरु गरेको राईले बताए ।


यस्तै साकेला गाउँपालिका–३ खिदिमामा तीन वर्षदेखि मछिनो उद्योग सञ्चालन गरिएको छ । यसबाट मनग्गे आम्दानी गर्न सकिने सञ्चालक युवाराज तामाङले बताए । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा पनि तितेपाती प्रशोधन सुरु भएको छ । स्थानीय तितेपातीबाट तेल उत्पादन गरेर निकासी सुरु गरिएको वडा १० का वडाध्यक्ष मुगाधन राईले बताए ।


जडीबुटी खेतीतर्फ किसान आकर्षित भएपछि केपिलासगढी गाउँपालिका, साकेला गाउँपालिका र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले योजना निर्माणको तयारी गरेको छ । जडीबुटीबाट आर्थिक समृद्धि ल्याउन योजना निर्माणको तयारी गरिएको केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए ।


साकेला गाउँपालिका पनि जडीबुटीको उर्वर क्षेत्र मानिन्छ । त्यसैले जडीबुटीलाई समेट्न नीति निर्माणको तयारी गरिएको साकेला गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले बताए । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले पनि जडीबुटी खेतीका लागि अध्ययन गर्ने र त्यसैका आधारमा योजना निर्माण गर्ने नगरप्रमुख दीपनारायण रिजालको भनाइ छ ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?