कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ऋणीलाई बिमाको भारी

यज्ञ बञ्जाडे

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा जबरजस्ती बिमा पोलिसी पनि किन्नुपर्ने बोझ ऋणीले बेहोर्दै आएका छन् । व्यवसाय विस्तारको नाममा बैंक तथा वित्तीय संस्थाले ऋणीलाई परिबन्दमा पारेर बिमा पोलिसी भिराउने प्रवृत्ति बढेपछि ग्राहक मर्कामा परेका हुन् ।

ऋणीलाई बिमाको भारी

ऋणको जोखिम सुरक्षण गर्न बिमा गराउनु आवश्यक भए पनि बैंकले बिमा पोलिसी बेच्नकै लागि अनावश्यक रूपमा ऋणीलाई परिबन्दमा पार्न थालेपछि अतिरिक्त बोझ थपिएको ग्राहकको गुनासो छ ।


अहिले अधिकांश वित्तीय संस्थामा बिमा नगरी ऋण पाउने अवस्था नरहेको काठमाडौं कीर्तिपुरका एक ऋणी श्रीनिवास महर्जनले गुनासो गरे । घडेरी किन्नका लागि ऋण लिन एक वाणिज्य बैंक पुगेका महर्जनले पनि बिमा नगरी ऋण पाउन नसकेको बताए । ‘ऋणका लागि सबै प्रक्रिया पूरा भएपछि क्रेडिट कार्ड र बिमा पोलिसी नलिई खातामा पैसा नजाने बैंकका कर्मचारीले बताए,’ उनले भने, ‘मैले पहिले नै जीवन बिमा गरिसकेको छु, फेरि किन गर्नु भन्दा पनि मानेनन् । ऋण नै नपाइने अवस्था भएपछि छोरीको बिमा गरिदिएँ । अनि बल्ल ऋण पाइयो ।’ अप्ठेरो पारेर ऋण लिन जाँदा बैंकले अनावश्यक रूफमा बिमा, त्रेडिट कार्डजस्ता अनावश्यक झन्झट थप्दा ग्राहक मर्कामा पर्ने उनले बताए ।


बैंकबाट ऋण लिँदा बिमा पोलिसी पनि किन्नुपर्ने बाध्यता रहेको बर्दियाकी सरस्वती विष्टको अनुभव छ । बर्दिया स्थायी घर भएकी विष्ट कामकाजको सिलसिलामा काठमाडौं बस्दै आएकी छन् । उनले बैंकमा ऋण लिन जाँदा बैंकले कम्तीमा दुई लाख रुपैयाँ बराबरको बिमा गराउन भनेको उनले बताइन् । ‘राष्ट्र बैंकमा काम गर्ने मेरो एक जना नातेदारलाई बैंकमा कुरा गर्न लगाएपछि बल्ल बिमा नगरेरै ऋण पाएँ,’ उनले थपिन्, ‘त्यसपछि मैले राष्ट्र बैंकमा उजुरी पनि दिएकी थिएँ ।’ बैंक तथा वित्तीय संस्थाका यस्ता गतिविधिले ग्राहकलाई निकै अप्ठेरो भएको उनले सुनाइन् ।


बजारमा नयाँ बिमा कम्पनी थपिएपछि यो क्रम बढेको जानकारहरू बताउँछन् । ‘पहिले त्यत्ति धेरै थिएन, बैंकमा तरलता अभाव र बिमा कम्पनी थपिएपछि यो क्रम हात्तै बढेको उनीहरूको तर्क छ । पछिल्लो समयमा बैंकिङ क्षेत्रमा बैंकास्योरेन्सका नाममा विकृति भित्रिँदै गएको राष्ट्र बैंकका एक अधिकारीले बताए । ‘यो क्रम बढ्दै गयो भने निकट भविष्यमै वित्तीय प्रणालीमै अर्को समस्या आउँछ,’ ती अधिकारीले भने, ‘बैंकहरूमा वार्षिक मुनाफा ठूलो अंश बिमाबाटै प्राप्त गरेको देखिन्छ ।’


केही बैंकहरूले वार्षिक योजनामै बिमाबाट ठूलो परिमाणमा नाफा कमाउने उल्लेख गरेको स्मरण गर्दै उनले भने, ‘लक्ष्य भेटाउनकै लागि बैंकले हरेक ऋणीलाई बिमा गराउन कर्मचारीलाई परिपत्र पनि जारी गरेको भेटिएको छ ।’ केही बैंकहरूले ऋणीलाई प्रदान गरेको ऋणको निश्चित प्रतिशत (यस्तो सीमा बैंकअनुसार फरक फरक छ) बराबर रकम बिमा शुल्क (प्रिमियम) उठाउनैपर्ने अनिवार्य व्यवस्था गरेका छन् । यसकारण पनि कर्मचारी दबाबमा रहने भएकाले बिमा नगर्दै ऋण पाइने अवस्था नरहेको ती अधिकारीको भनाइ छ ।


राष्ट्र बैंकमा यो विषयमा छलफल भए पनि ठोस निर्णय नभएकाले बैंकहरू अराजक बन्दै गएको उनले बताए । सरकारी बैंकहरूमा जबरजस्ती बिमा पोलिसी नबेचे पनि धेरै निजी बैंकमा बाध्यात्मक अवस्था नै रहेको जनाइएको छ ।


बैंकास्योरेन्सले बिस्तारै विकृतिको रूप लिंदै गएको प्रति स्वयम् बैंकरहरू पनि सहमत छन् । बैंकहरू आक्रामक रूपमा बिमाका लागेकाले विकृतिको संकेत देखिएको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘कर्मचारीहरू बैंकिङभन्दा पनि धेरै बिमामा फोकस हुने अवस्था देखियो, यस्तो गतिविधिले विकृति ल्याउँछ कि भन्ने लागेको छ,’ उनले भने, ‘बैंकहरू बिमा कम्पनीको एजेन्ट भएको अनुभव हुन थालेको छ ।’


सम्भावित विकृति न्यूनीकरणका लागि यो विषय बैंकर्स संघको बैठकमा पनि उठाउने तयारी भएको उनले बताए । ‘संघका आगामी बैठकमा यो विषयमा छलफल गर्ने योजना छ,’ उनले भने, ‘समयमै नियन्त्रण नगरीले विकृतिको सम्भावना देखियो ।’


बैंक तथा वित्तीय संस्थाले ऋणीलाई अनावश्यक रूपमा जीवन बिमा पोलिसी किन्न बाध्य पारेर गैरकानुनी काम गरेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘ऋणीलाई जबरजस्ती जीवन बिमा पोलिसी बेच्नु बैंकिङ मान्यताविपरीत काम हो,’ उनले थपे, ‘यो बैंकहरूको अराजकताको पराकाष्ठा मात्र नभएर सीधा रूपमा ठगी हो ।’


ग्राहकलाई अनावश्यक रूपमा जीवन बिमा किन्न बाध्य पार्ने बैंकका प्रमुख कार्यकारी अधिकृतहरू नै बिमा कम्पनीको एजेन्ट बनेको उनको आरोप छ । यो विषयमा धेरै गुनासा आएकाले राष्ट्र बैंकले तिनलाई सूक्ष्म रूपमा अध्ययन गरी आवश्यक कारबाही अघि बढाइने निरौलाले बताए ।


बैंकास्योरेन्स गैरकानुनी

नेपालमा बैंकास्योरेन्स सम्बन्धमा कुनै कानुन छैन । यसकारण बैंक तथा वित्तीय संस्थाले बैंकास्योरेन्सका नाममा अघि बढाएका बिमा गतिविधि गैरकानुनी भएको जानकारहरू बताउँछन् । बिमाका जानकार भोजराज शर्मा भने बैंकहरूले संस्थागत अभिकर्ताको रूपमा काम गरेकाले त्यो बैंकास्योरेन्स नभएको बताउँछन् । ‘बैंकले अभिकर्ताको रूपमा काम गरेका हुन्, उनीहरूले त्यसलाई बैंकास्योरेन्स नाम दिएका छन् । त्यो बैंकास्योरेन्स होइन,’ उनले भने ।


नेपाल बैंकास्योरेन्ससम्बन्धी नीतिगत व्यवस्था नभएकाले गैरकानुनी भएको जानकारहरू बताउँछन् । प्रस्तावित बिमा ऐनमा बैंकास्योरेन्ससम्बन्धी व्यवस्था छ । ऐन पारित भएपछि सोहीअनुसार बैंकास्योरेन्स निर्देशिका ल्याउने बिमा समितिले तयारी गरेको छ । प्रस्तावित ऐन पारित नभएकै कारण हाल निर्देशिकाको काम पनि स्थगित भएको बिमा समितिले जनाएको छ ।


जबर्जस्ती बिमा पोलिसी बेच्ने प्रवृत्ति लघुवित्तमा अत्यधिक रहेको जानकारहरू बताउँछन् । लघुबिमाको नाममा सर्वसाधारण र विपन्न वर्ग यसको मारमा परेको छन् । बिमा समितिले पनि प्रभावकारी रूपमा अनुगमन गर्न नसकेकाले वित्तीय क्षेत्रमा विकृति झांगिँदै गएको पनि उनीहरूको गुनासो छ ।


मौन राष्ट्र बैंक

बैंकास्योरेन्सले ल्याएको विकृति सम्बन्धमा राष्ट्र बैंक जानकार छ । यो विषयमा पटक पटक छलफल पनि भएको छ । बैंकले गर्ने बिमालाई कडाइ गर्ने/नगर्ने सम्बन्धमा आन्तरिक रूपमा विवाद भएकाले राष्ट्र बैंकले ठोस निर्णय लिन नसकेको हो ।


राष्ट्र बैंक सुपरिवेक्षण विभागले बैंकास्योरेन्सले विकृति ल्याएकाले त्यसलाई रोक्नुपर्ने प्रस्ताव ल्याए पनि उच्च अधिकारीहरूले बिमा पहुँच बढेको भन्दै नियन्त्रण गर्न नमानेपछि ठूलो निर्णय हुन नसकेको स्रोतले बताएको छ । यसअघिको छलफलमा बैंकले सहायक कम्पनीमार्फत मात्र बिमा गर्न पाउने सम्बन्धमा छलफल भएको बताइएको छ । त्यसपछि राष्ट्र बैंकमै मत बाझिएपछि कुनै निर्णय हुन पाएको छैन ।


दर्जनभन्दा बढी बिमा कम्पनीसँग सम्झौता

एउटा वित्तीय संस्थाले दर्जनभन्दा बढी बिमा कम्पनीसँग बैंकास्योरेन्सका लागि सहमतिपत्रमा हस्ताक्षर (एमओयू) गरेको भेटिएको छ । ती कम्पनीसँग वास्तविक काममा लागि भन्दा पनि उनीहबाट निक्षेप संकलन गर्नकै लागि सम्झौता गरिएको हो । यसकारण एमओयू भएका सबै बिमा कम्पनीले कारोबार पाउँदैनन् । जुन कम्पनीले बैंकका उच्च व्यवस्थापनलाई खुसी बनाउँछ ती कम्पनीमा धेरै व्यवसाय जान्छ ।


बैंकका कर्मचारीलाई पनि अरूभन्दा धेरै व्यवसाय ती कम्पनीलाई दिन प्रत्यक्ष निर्देशन आउने गरेको एक बैंकरले बताए । त्यसो हाल कुन बैंकको कति बिमा कम्पनीसँग सम्झौता भएको छ भन्ने तथ्यांक सरकारी निकायसँग छैन । नेपालमा बैंकास्योरेन्ससम्बन्धी नीति नभएकाले उक्त तथ्यांक नभएको हो । बैंकले बिमा समितिबाट संस्थागत अभिकर्ताको प्रमाणपत्र लिने र त्यसकै आधारमा बैंकमार्फत बिमा पोलिसी बेच्ने प्रचलन छ ।


बिमा कम्पनीको बार्गेनिङ

अधिकांश बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत उपस्थित एक सार्वजनिक कार्यक्रममा बैंकास्योरेन्सले आफ्ना कर्मचारीलाई शुद्ध रूपमा बिमा एजेन्ट बनाएको बताए । ‘बिमा कम्पनीले आफ्नो पोलिसी नबेचे निक्षेप निकाल्ने धम्की दिँदा रहेछन्, निक्षेप जोगाउनकै लागि पनि शाखा प्रबन्धकहरू बिमा पोलिसी बेच्नतिर लागेको भेटियो,’ ती अधिकारीले भने, ‘यही क्रम हो भने शाखाबाट ऋण प्रवाह रोकिएर बिमा पोलिसी मात्र बिक्री हुन्छ ।’ नयाँ बिमा कम्पनी बजारमा आएपछि अस्वस्थ प्रतिस्पर्धा बढेकाले यस्तो अवस्था आएको उनीहरूको बुझाइ छ । ‘यही कारण बैंकहरू ऋणीलाई अनिवार्य रूपमा बिमा पोलिसी भिराउन बाध्य हुन्छन्,’ ती बैंकरले भने ।


पहुँचवालाले बिमा किन्नु पर्दैन

बैंक तथा वित्तीय संस्थाले ऋण दिंदा सर्वसाधारणलाई बिमा पोलिसी किन्न बाध्य पारे पनि सरकारी उच्च अधिकारी र पहुँचवालालाई छुट रहेको गुनासो राष्ट्र बैंकमा परेको छ । यसको अर्थ बिमा पोलिसी किन्न बाध्य पारिने सर्वसाधारण र विपन्न वर्ग नै हुन् । यसले ग्राहकहरूमा पनि विभेद भएको छ ।


बिमाबापत कर्मचारीलाई छुट्टै भत्ता

बिमा गरेकै कारण त्यसबाट प्राप्त आयबाट बैंकास्योरेन्स गतिविधिमा आबद्ध कर्मचारीलाई छुट्टै विशेष भत्ता आउने गरेको छ । यसकारण सो बिमा विभागमा काम गर्न कर्मचारीहरू उत्सुक देखिन थालेका छन् ।


बैंकको सेवा सुविधाबाहेक बैंकास्योरेन्ससँग सम्बन्धित सबै कर्मचारीलाई छुट्टै भत्ता आउने भएकाले विभेद देखिन थालेको जानकारहरू बताउँछन् ।


आधाभन्दा बढी पोलिसी रद्द

बैंक तथा वित्तीय संस्थाले बाध्यात्मक रूपमा बिमा गराएकामध्ये आधाभन्दा धेरै पोलिसी रद्द हुने गरेको जानकारी प्राप्त भएको छ । ऋण लिनकै लागि पहिलो वर्ष बिमा शुल्क तिर्ने र अर्को वर्षबाट नतिर्दा ती पोलिसी रद्द हुने गरेको एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए ।


‘उनीहरूले स्वैच्छिक रूपमा बिमा गरेका हुँदैनन्,’ उनले भने, ‘बाध्यात्मक रूपमा बिमा गर्दै यस्तै अवस्था हुन्छ ।’ किन प्रिमियम नतिरेको भनेर एक ऋणीलाई जिज्ञासा राख्दा बिमा गरेको भन्दा पनि ऋण लिँदा बैंकलाई प्रिमियमका रूपमा कमिसन दिएको जवाफ ग्राहकबाट पाएको ती अधिकारीले बताए ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?