‘चिया मासेर अन्य खेती गर्छौं’

अर्जुन राजवंशी

बिर्तामोड — झापाका पुराना चिया बगान सञ्चालकहरूले चिया मासेर अन्य कृषिजन्य खेती गर्न पाउनुपर्ने माग गरेका छन्  । सरकारले चियामा कुनै सहुलियत नदिएकाले पुराना चिया बगान सञ्चालन गर्न नसक्ने अवस्था आएको उनीहरूको दाबी छ  ।

बगान उद्यमीहरूले चियाको उद्देश्य परिवर्तन गर्न पाउनुपर्ने माग अघि सारेका छन् । पुराना बगानबाट पर्याप्त उत्पादन हुन छोडेको, श्रम ऐनअनुसार श्रमिकको लागत बढेको तथा तयारी चियाले उचित मूल्य नपाएको उनीहरूको तर्क छ । ‘श्रम ऐनका कारण चियामा लागत हात्तै बढेको छ । लागतअनुसार तयारी चियाले मूल्य पाएको छैन,’ गिरी बन्धु टी स्टेटका सञ्चालक छत्र गिरीले भने, ‘बढेको लागत पुरानो चिया बगानको उत्पादनले थेग्न सक्ने अवस्था छैन ।’


गिरी बन्धु, सत्तीघट्टा, मित्तल, हिमालय र बुधकरण टी स्टेट जिल्लाका पुराना चिया बगान हुन् । यी बगान ०१६ देखि ०२१ सालसम्ममा दर्ता भएका थिए । ‘पुरानो शैलीको रोपाइँ र पुराना बिरुवाले कति उत्पादन दिन्छ ?’ गिरीले भने, ‘बगान पुरानो भएकाले उत्पादन बर्सेनि घटदो छ । श्रमिक, मलखाद, सिँचाइ, विद्युत्मा लागत बढदो छ । कसरी बगान चलाउन सक्नु ?’ गिरी बन्धु ३ सय बिघा क्षेत्रफलमा फैलिएको छ ।

‘तयारी चियाको मूल्य १५ वर्षदेखि एउटै छ,’ बुधकरणका सञ्चालक राजेन्द्रसिंह राजवंशीले भने, ‘श्रमिकको ज्याला बर्सेनि वृद्धि गर्नु परिरहेको छ । कोइलामा लागत बढेको बढयै छ । तीन महिना काम हुँदैन तर पनि कर्मचारीलाई ज्याला दिएर राख्नुपर्छ । यति धेरै खर्च बूढो भइसकेको बगानले कसरी थेगोस् ?’ उनले पुराना बगान बचाउने हो भने सरकारले विशेष अनुदान दिनुपर्ने माग गरे । उनले अनुदान नदिने हो भने चिया बगानको सट्टा अन्य कृषिजन्य खेती गर्न पाउनुपर्ने माग राखे ।

बुधकरण ३५० बिघा क्षेत्रफलमा फैलिएको छ । उक्त बगान ०१६ सालमा रोपिएको थियो । ‘अहिलेको महँगी थेग्न सक्ने अवस्था छैन । त्यसैले सरकारले यही जमिनमा जडीबुटी तथा कृषिजन्य खेती गर्न मिल्ने वातावरण सिर्जना गरिदिनुपर्छ,’ उनको माग छ ।

सरकारले अनुदान नदिए पुराना चिया बगान चाँडै बन्द गर्ने अवस्थामा आफूहरू पुगेको चिया उद्यमीको भनाइ छ । सरकारले चिया खेतीका लागि पाँच दर्जन बढी चिया बगानलाई हदबन्दी छुट दिएको छ । हदबन्दी छुटमा जमिन पाएकाले चिया बगान मास्न नमिल्ने सरकारी पक्षको भनाइ छ । उद्यमीहरूले हदबन्दी छुट लिए पनि जमिन आफूहरूको निजी भएकाले उद्देश्य परिवर्तन गर्न पाउनुपर्ने तर्क राख्दै आएका छन् । ‘हामीले जमिनको बर्सेनि मालपोत तिर्दै आएका छौं । जमिन हामीले आफ्नो पैसा हालेर खरिद गरेका हौं । आफ्नो जमिनमा चियाको सट्टा अर्को खेती गर्छु भन्दा किन नपाउने ?’ गिरीको प्रश्न छ ।


उद्यमीले माग गरेकै भरमा सरकारले चिया बगान मास्न दिन नमिल्ने अखिल नेपाल चिया मजदुर संघकी केन्द्रीय अध्यक्ष सीता सापकोटाले बताइन् । हजारौं श्रमिकको रोजीरोटी खोसिने गरी चिया बगानको उद्देश्य परिवर्तन गर्न नमिल्ने उनको जिकिर छ । ‘पुराना चिया बगानहरूमा समस्या छ । त्यसको समाधान के हुन सक्छ गम्भीर भएर खोजी गर्न जरुरी छ,’ सापकोटाले भनिन्, ‘समस्या छ भन्दैमा सहज रूपमै चिया खेती मास्न भने पाइँदैन ।’


प्रकाशित : जेष्ठ २९, २०७६ १२:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गति लिँदै कोसी कोरिडोर

कान्तिपुर संवाददाता

पाँचथर — पूर्वी नेपालका हिमाली र पहाडी जिल्ला हुँदै तराई जोड्ने कोसी करिडोरको काम धमाधम भइरहेको छ  । ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटालगायत पहाडी र तराईको सुनसरी हुँदै प्रदेश राजधानीको केन्द्र जोड्ने यो मार्गमा ४५ प्रतिशत काम भएको छ  ।

यो पहाडबाट तराई जोड्ने छोटो राजमार्ग हो । निर्माणको प्रगति सन्तोषजनक रहेको सडक आयोजना प्रमुख अभिमान मुल्मीले बताए । पूर्वमा पाँचथरको गणेशचोकदेखि सुनसरीको चतरासम्म जोड्ने सडक १४८ किलोमिटर लामो हुनेछ । अहिलेसम्म १३० किलोमिटर ट्र्याक खुलिसकेको छ । अब करिब १८ किलोमिटर मात्रै बाँकी रहेको मुल्मीले बताए । माझीटार, चतरा मूलघाट, नावालगायत खण्डमा भने ट्र्याक खुल्न बाँकी छ ।


तमोर जलाशय, कोसी उच्चबाँध निर्माण भए पनि सडकलाई असर पर्ने छैन । चतराखण्डमा ५, नावामा ५ र माझीटारमा ३ किलोमिटर ट्र्याक खोल्न बाँकी छ । काममा कुनै अवरोध नभए चाँडै ट्र्याक खुल्ने मुल्मीले बताए । ‘कामको प्रगति अत्यन्तै राम्रो छ,’ उनले भने, ‘अहिलेसम्मको काम हेर्दा निर्धारित समयमै सकिनेछ ।’


ट्र्याक खुलेको ठाउँमा पर्खाल लगाउने, नाली बनाउने काम सुरु भएको छ । तमोरको किनारै किनार गएर कोसी नदीमा पुग्ने र कोसीबाट किनारै किनार अघि बढ्ने भएकाले आयोजनाको नाम कोसी करिडोर राखिएको हो ।


कोरिडर निर्माण सम्पन्न भएसँगै प्रदेश राजधानी विराटनगर, तराईका सुविधा सम्पन्न अस्पताल र केन्द्रीय सहर काठमाडौं पुग्न सहज हुनेछ । डबल लेनको सडक बन्ने भएकाले यातायात सञ्चालनमा कठिनाइ नहुने प्राविधिक बताउँछन् । पहिलो चरणमा ग्राभेल सडक बनाउने र त्यसपछि कालोपत्रे गर्ने योजना रहेको आयोजना कार्यालयले जनाएको छ । अहिले ७ वटा प्याकेजमा काम भइरहेको छ ।


६ अर्ब १५ करोड १४ लाख रुपैयाँ बजेटमा काम भइरहेको आयोजना पाँचथरबाट सुरु भए पनि यसको प्रत्यक्ष लाभ ताप्लेजुङका बासिन्दाले पनि पाउनेछन् । गणेशचोकदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङको दूरी करिब ५० किलोमिटर छ । अझ ताप्लेजुङको पूर्वका तीन गाउँपालिकाका बासिन्दालाई सडकले सुविधा पुग्नेछ ।


मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत ‘कोसी करिडोर सडक विस्तार योजना–२’ सञ्चालन भएको हो । यसको सम्झौता अवधि ३० महिनाको छ । पाँचवटा प्योकजको गत वर्षको फागुन र दुई प्याकेजको वैशाखमा ठेक्का सम्झौता भएको थियो ।


मध्यपहाडी लोकमार्गलाई छोट्याउने सडकका रूपमा यसलाई विकास गरिएको हो । ताप्लेजुङको ओलाङचुङगोलाको टिप्ताला भञ्ज्याङ नाकादेखि मूलघाटसम्म जोड्ने सडकलाई कोसी करिडोरअन्तर्गत विकास गर्ने प्रयासस्वरूप काम भइरहेको छ । चीन र नेपालको सिमाना टिप्ताला भञ्ज्याङदेखि ओलाङचुङगोलासम्म ट्र्याक ओपनको काम भइरहेको छ । सदरमुकाम फुङलिङबाट ओलाङचुङगोलातर्फ विस्तारको काम पनि भइरहेको छ ।

प्रकाशित : जेष्ठ २९, २०७६ १२:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT