निजी आवास पुनर्निर्माणमा ८२ प्रतिशत प्रगति

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५ सय ९५ घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ । निजी आवास पुनर्निर्माणका सम्बन्धमा ८२ प्रतिशत उपलब्धि हासिल गरेको प्राधिकरणको वक्तव्यमा छ । उक्त प्रयोजनका लागि अनुदान सम्झौता गरेकामध्ये ५२ प्रतिशतले पुनर्निर्माण सम्पन्न गरेको र ३० प्रतिशतले घर बनाउँदै गरेको प्राधिकरणले जनाएको छ । 

संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २ लाख २८ हजार ८ सय ८५ घर बन्दै गरेको जानकारी दिए । निजी आवास पुनर्निर्माणका लागि हालसम्म ७ लाख ६७ हजार २ सय ४८ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये ९९ प्रतिशतले प्रथम किस्ता, ७६ प्रतिशतले दोस्रो किस्ता र ५७ प्रतिशतले तेस्रो किस्ता भुक्तानी लिएको जारी विज्ञप्तिमा छ ।

सरकारले निजी आवास पुनर्निर्माणमा पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार तेस्रो किस्तामा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ । ‘निजी आवास पुनर्निर्माणलाई सबैभन्दा महत्त्व दिएर काम गरेका छौं,’ ज्ञवालीले भनेका छन्, ‘शैक्षिक संस्था, स्वास्थ्य संस्था, सम्पदालगायत भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माणका मूलभूत कार्य पूर्वनिर्धारित समयमा नै सम्पन्न गर्नेछौं ।’

सांसद खिमकुमार विकले पुनर्निर्माणमा भएका उपलब्धिले आशा जगाएको भन्दै भूकम्पपछिको चुनौतीलाई अवसरका रूपमा लिएर काम गरिरहेको बताए । उनले गलत विवरण दिएर कतिपय गुनासो पेस गरिएको भन्दै प्रस्तावहरूलाई अस्वीकार गर्न प्राधिकरणलाई आग्रहसमेत गरे । सांसद रमेशजंग रायमाझीले कतिपय एकीकृत बस्ती गाउँमैत्री नभएको टिप्पणी गर्दै गाईवस्तु पाल्ने ठाउँ नराखिएकामा आलोचना गरे ।

प्रकाशित : जेष्ठ २९, २०७६ २०:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नेप्से परिसूचक पुनः ओरालो

कान्तिपुर संवाददाता

काठमाडौँ — मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.५० बिन्दुले घटेर एक हजार २७२.४८ अङ्कमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.५० बिन्दुले घटेर २७२.३५ अङ्कमा पुगेको छ । स्टकका अनुसार आज कूल १७४ कम्पनीका १८ लाख ७१ हजार ८०९ कित्ता शेयर रु ५० करोड २६ लाख ८२ हजार ८८१ मा खरीद बिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये तीन उपसमूहको मात्र शेयर बढेको छ ।

व्यापार ११.७, होटल ६.९५ र अन्य उपसमूहको शेयर १.९६ बिन्दुले बढ्दा बैंकिङ ३.०२, विकास बैंक ४.६४, जलविद्युत् ३.५६, वित्त १.४३, निर्जीवन बीमा ६१.३४, उत्पादन २.७४, लघुवित्त ७.५६, जीवन बीमा २७.३४ र म्युचुअल फण्ड उपसमूहको शेयर ०.१५ बिन्दुले घटे । स्टकका अनुसार कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक लिमिटेडको संस्थापक शेयर रु सात करोड १२ लाख ६२ हजार २२२ मा कारोवार भई शीर्ष स्थानमा रह्यो । यसैगरी शिवम् सिमेन्ट रु चार करोड २५ लाख ४३ हजार ३४३, प्रभु बैंक लिमिटेड रु दुई करोड १३ लाख ५८ हजार ५०१, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड रु एक करोड ५९ लाख १० हजार ६५९ र एनआइसी एशिया बैंकको रु एक करोड ५३ लाख ९० हजार ९५५ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

साल्ट टेड्रिङ कर्पोरेशनका शेयरधनीले १० प्रतिशतले कमाए । गणपति माइक्रो फाइनान्स वित्तीय संस्था र सिभिल लुघवित्त वित्तीय संस्था ५÷५, खानीखोला हाइड्रोपावर ४.२३ र युनाइटेड मोदी हाइड्रोपावरका शेयर धनीले ३.५७ प्रतिशतले कमाउँदा नेपाल हाइड्रो डेभलपर्स ७.०९, मल्टीप्रपोज फाइनान्स कम्पनी लिमिटेड ६.९७, कर्णाली विकास बैंक ६.४५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ६.३५ र कर्पोरेट विकास बैंकका शेयरधनीले ६.३४ प्रशितले गुमाए ।

प्रकाशित : जेष्ठ २९, २०७६ १८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT