कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

भन्सारका समस्या समाधान गर्ने सहमति

भन्सार प्रक्रिया सरलीकरण, वैदेशिक व्यापार सहजीकरण, भन्सार विन्दुबीच देखापर्ने आकस्मिक समस्याको समाधान गर्ने विषयमा छलफल 
पर्वत पोर्तेल

काँकडभिट्टा — नेपाल, भारत्, बंगलादेश र भुटानका भन्सार अधिकारीहरूले भन्सार विन्दुमा देखिने तमाम समस्याहरूको समाधान गर्न र वैदेशिक व्यापार सहजीकरणका लागि हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता गरेका छन् । 

दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोगसम्बन्धी भन्सार उपसमूहको उपक्षेत्रीय परियोजनाअन्तर्गत बंगलादेश, भुटान, भारत र नेपाल (बीबीआईएन) का भन्सार अधिकारीबीच भुटानको फुन्छोलिङमा मंगलबार सम्पन्न सीमा बैठकमा अधिकारीहरूले प्रतिबद्धता जनाएका हुन् ।


नेपालको व्यापार भारत र बंगलादेशसँग बढी छ । यी दुई देशसँग व्यापारिक समस्या पनि धेरै छन् । चारै देशका भन्सार अधिकारीबीच भन्सार प्रक्रिया सरलीकरण, वैदेशिक व्यापार सहजीकरण, सम्बन्धित भन्सार विन्दुहरूबीच देखापर्ने आकस्मिक समस्याहरूको समाधान गर्ने सम्बन्धमा विभिन्न चरणमा बहुपक्षीय, त्रिपक्षीय एवं द्विपक्षीय छलफल भएका थिए ।


खासगरी नेपाल र भारतका भन्सार अधिकारीहरूबीच सम्पन्न द्विपक्षीय वैठकमा भारतको पानीट्यांकी भन्सारमा ढुवानीका साधनका लागि पार्किङ सुविधा व्यवस्था गर्नुपर्ने, पानीट्यांकी भन्सारमा खाद्य क्वारेन्टाइन कार्यालय नभएकाले नेपालबाट निर्यात हुने खाद्यपदार्थहरू चिया, अदुवालगायतका मालवस्तुहरूको परीक्षण गर्न कोलकाता पठाउनुपर्ने बाध्यतालगायत समस्याबारे भन्सार विभागका निर्देशक राजेन्द्रप्रसाद चुडालले जानकारी गराएका थिए ।


यस किसिमको झन्झटिलो प्रक्रियाले समय र लागतसमेत बढेको भन्दै चुडालले पानीट्यांकी भन्सारमा खाद्य क्वारेन्टाइन कार्यालय सञ्चालन हुनुपर्ने, नेपालमा उत्पादन भई भारततर्फ निर्यातका लागि तरकारी तथा कृषिजन्य वस्तुहरूलाई भारततर्फ निर्यातमा सहजीकरण तथा खुला गर्नुपर्ने माग गरेका थिए ।


भारतीय अधिकारीले नेपाली अधिकारीको मागलाई गम्भीर रूपमा लिएको बताउँदै पार्किङस्थल निर्माणका लागि जग्गा खरिदको प्रक्रिया अघि बढाइएको, भारत निर्यात हुने खाद्यवस्तुहरूको परीक्षण कोलकाताबाटै गर्ने गरेको तथा नेपालबाट तरकारी र कृषिजन्य वस्तुहरू भारत निर्यात खुला गर्नका लागि आफूहरूले माथिल्लो निकायमा लिखित जानकारी गराएको जनाएका थिए ।


नेपाल र बंगलादेशका भन्सार अधिकारीहरूबीच पनि द्विपक्षीय छलफल भएको थियो । सो क्रममा बंगलादेशतर्फ निर्यात हुने नेपाली मालवस्तुहरूमा बंगलादेशमा उच्च ड्युटी (राजस्व) लाग्ने गरेकाले नेपालबाट बंगलादेशतर्फ निर्यातमा वृद्धि हुन नसकेको नेपाली अधिकारीहरूको भनाइ थियो ।


नेपाल, भारत र बंगलादेशका भन्सार अधिकारीहरूबीच भएको त्रिपक्षीय वार्तामा बंगलादेशबाट नेपालतर्फ आयात हुने बंगलादेशी मालवस्तुहरू भारतको फुलबारी (नाका) भन्सार कार्यालयमा लोड अनलोड हुने गरेकामा नेपाल आयात हुने मालवस्तु बोकेका ढुवानीका साधनहरूलाई छुट्टै पार्किङ क्षेत्रको अभाव रहेको, सडकमा लोड अनलोड कार्य गर्नुपरेको सम्बन्धित व्यवसायीहरूका गुनासो रहेका छन् ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?