१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चितवन दूधमा आत्मनिर्भर 

रमेशकुमार पौडेल

चितवन — दूध उत्पादनमा चितवन आत्मनिर्भर भएको छ । रत्ननगरमा बुधबार भेला भएका सयौं किसानहरू माझ प्रदेश–३ का कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री दावादोर्जे लामाले दूध उत्पादनमा चितवन आत्मनिर्भर भएको घोषणा गरेका हुन् । जिल्लामा दैनिक आवश्यक पर्ने न्यूनतम दूधभन्दा १ लाख ३४ हजार लिटर बढी उत्पादन भएको कार्यक्रममा जानकारी गराइएको थियो ।

चितवन दूधमा आत्मनिर्भर 

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले संयुक्त रूपमा उक्त घोषणा कार्यक्रम राखेका थिए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार दुई महिनासम्म तथ्यांक संकलन गरेर निकालेको यथार्थ विवरणका आधारमा जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर घोषणा गरेको हो ।


चितवनमा दैनिक गाईको दूध २ लाख २४ हजार १५६ लिटर र भैंसीको ६५ हजार १ सय ८३ लिटर उत्पादन हुने डा. श्रेष्ठले जानकारी दिए । ‘हामीले जिल्लाका सातैवटा स्थानीय तहबाट संकलन गरेको विवरणका आधारमा जिल्लाको कुल जनसंख्या ६ लाख २४ हजार २ सय ९९ हुन आउँछ । यो जनसंख्याका लागि न्यूनतम १ लाख ५६ हजार ७५ लिटर दूध आवश्यक पर्छ,’ डा.श्रेष्ठले भने ।


एक व्यक्तिलाई न्यूनतम २५० मिलिलिटर दूध आवश्यक पर्ने विवरणका आधारमा आवश्यक दूधको परिमाण यकिन गरेको उनले बताए । जिल्लामा दैनिक २ लाख ८९ हजार ३ सय ४० लिटर दूध उत्पादन हुने गरेको छ । न्यूनतम आवश्यकताभन्दा धेरै दूध उत्पादन भएका कारण आत्मनिर्भर घोषणा गरेको डा. श्रेष्ठले बताए । उत्पादितमध्ये ५७ प्रतिशत दूध जिल्लामै खपत हुन्छ । बाँकी ४३ प्रतिशत अन्य जिल्ला जान्छ ।


काठमाडौं, पोखरालगायतका बजारमा चितवनको दूध बिक्री हुने गरेको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका सचिव किशोर बगालेका अनुसार बाहिरी जिल्लामा दैनिक ६४ लाख ५३ हजार १०१ रुपैयाँ बराबरको दूध बिक्री हुन्छ । जिल्ला बाहिर र भित्र बिक्री हुने गरेर चितवनमा दैनिक १ करोड ५० लाख ४५ हजार ६ सय ७७ रुपैयाँ बराबरको दूध बिक्री हुने उनले बताए ।


‘दूध उत्पादन बढेको छ । आत्मनिर्भर भएको घोषणा गरेर हामीले यहाँका किसानको मिहिनेतको कदर गर्न खोजेका हौं । उत्पादन बढेसँगै यो व्यवसायको सुदृढीकरणका लागि थप कामहरू गर्नुपर्ने हुन्छ । डेरी उद्योगहरूलाई अत्याधुनिक बनाउनु छ । यो विषयमा नीति निर्माताको ध्यान जानुपर्छर्,’ डा. श्रेष्ठले भने । उत्पादनसँगै गुणस्तर सुधारमा किसान, निजी र सरकारी निकाय मिलेर काम गर्नुपर्ने उनले बताए ।


केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष रामेश्वर पोखरेलले मिहिनेतअनुसार किसानले प्रतिफल नपाएको गुनासो गरे । ‘दाना चोक्करको मूल्य ४० प्रतिशतभन्दा बढी हुँदा किसान पुरानै मूल्यमा दूध बेच्न बाध्य छन् ।


किसानले मिहिनेतअनुसारको मूल्य पाउन अब कम्तीमा प्रतिलिटर १० रुपैयाँ किसानले नै पाउने गरेर दूधको मूल्य बढाउन आवश्यक छ,’ उपाध्यक्ष पोखरेलको माग थियो । कार्यक्रममा प्रदेशमन्त्री लामाले किसानलाई उपलब्ध हुने प्रतिलिटर ५१ पैसा अनुदान रकम वितरण पनि गरे । सहकारीमा दूध बेच्ने किसानहरूले त्यस्तो अनुदान पाउँछन् ।


७४ वटा दुग्ध सहकारीले कुल ९० लाख रुपैयाँ बराबरको त्यस्तो अनुदान पाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डा. विजयकुमार श्रेष्ठले बताए । थप १६० किसानले दुई लाख रुपैयाँ बराबरको अनुदान पनि पाए ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?