कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सहकारीमा पुरुषभन्दा महिला धेरै 

सहकारीका ५१ प्रतिशत सदस्य महिला भए पनि व्यवस्थापन र कर्मचारीका रूपमा भने पुरुष नै बढी छन् 

काठमाडौँ — सहकारी संस्थाका कुल सदस्यमध्ये आधाभन्दा बढी महिला छन् । चालु आर्थिक वर्षको आठ महिनासम्मको तथ्यांकअनुसार मुलुकभर सञ्चालित ३४ हजार ७ सय ३७ सहकारीमा ६५ लाख १२ हजार सदस्य छन् । 

तीमध्ये ३३ लाख २२ हजार महिला छन् । यो कुल सदस्य संख्याको ५१ प्रतिशत हो । बाँकी ३१ लाख ८९ हजार पुरुष सदस्य रहेको सहकारी विभागको तथ्यांक छ । यसले सहकारी सञ्चालनमा महिलाको भूमिका पुरुषको भन्दा धेरै रहेको देखाउँछ ।


सहकारी क्षेत्रद्वारा महिलाको क्षमता अभिवृद्धि र सशक्तिकरणमा महत्त्वपुर्ण योगदान पुर्‍याएको जानकारहरू बताउँछन् । बहुसंख्यक बचत तथा ऋण सहकारीबाहेक धेरै संस्था ग्रामीण भेगमा सञ्चालित छन् । तीमध्ये अधिकांशले महिलाको क्षमता अभिवृद्धि र सशक्तिकरणमा जोड दिँदै आएकाले संस्थामा उनीहरूको आबद्धता पनि धेरै रहेको बताइएको छ ।


सहकारीमा महिलाको आबद्धता आधाभन्दा बढी भए पनि संस्थाको व्यवस्थापन तहमा ४० प्रतिशत मात्र छन् । यसको अर्थ बाँकी ६० प्रतिशत सञ्चालक पुरुष छन् भन्ने हो । गत फागुनसम्म सहकारी संस्थामा कुल ६३ हजार १ सय ७५ जना कर्मचारी कार्यरत छन् । जसमध्ये महिला कर्मचारी साढे ४६ प्रतिशत (२९ हजार ३ सय ९३ जना) र पुरुष कर्मचारी साढे ५३ प्रतिशत (३३ हजार ७ सय ८२ जना) रहेको विभागको तथ्यांक छ । गत वर्षको तुलनामा यो वर्ष महिला कर्मचारी संख्या बढेको हो भने पुरुषको घटेको हो ।


करिब साढे ३४ हजार सहकारी संस्थामध्ये सबैभन्दा बढी १३ हजार ९ सय १७ वटा बचत तथा ऋण सहकारी संस्था छन् । यो कुल सहकारी संस्थाको ४०.०६ प्रतिशत हो । तीमध्ये केहीले सहकारी सिद्धान्तअनुसार कारोबार गरे पनि अधिकांश संस्थाले सहकारीको मर्म विपरीत काम गर्दै आएका छन् । दर्जनौं बचत तथा ऋण सहकारी संस्था सदस्यको ठूलो रकम कुम्ल्याएर भागेका उदाहरण छन् ।


समस्याग्रस्त सहकारी व्यवस्थापन गर्न छुट्टै निकाय स्थापना भए पनि त्यसले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । यसकारण सदस्यको बचत सुरक्षा गर्ने सवालमा सहकारी अक्षम रहेको भन्दै संस्थाको आलोचना हुँदै आएको छ । यसको मार समग्र सहकारी क्षेत्रमा परेको विज्ञहरू बताउँछन् ।


यसैगरी १० हजार ४ सय ९२ वटा कृषि सहकारी सञ्चालनमा छन् । यो कुल सहकारी संस्थाको ३०.२० प्रतिशत हो । हाल बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि, दुग्ध, उपभोक्ता, विद्युत्, तरकारी तथा फलफूल, चिया, कफी, जडीबुटी, मौरीपालन, सञ्चार, स्वास्थ, उखु र जुनार गरी १५ प्रकारका सहकारी संस्था सञ्चालनमा छन् ।


पछिल्लो तथ्यांकअनुसार हाल सहकारी संस्थामार्फत करिब ३ खर्ब ४५ अर्ब ५९ करोड रुपैयाँ बचत परिचालन भएको छ । गत वर्ष यस्तो बचत ३ खर्ब रुपैयाँ मात्र थियो । गत फागुनसम्म सहकारीमार्फत ३ खर्ब ३१ अर्ब ३२ करोड रुपैयाँ ऋण प्रवाह भएको आर्थिक वर्ष ०७५/०७६ को आर्थिक सर्वेक्षणमा उल्लेख छ । गत वर्ष यस्तो रकम २ खर्ब ७४ अर्ब रुपैयाँ थियो ।


त्यसो त सर्वसाधारणको सम्पत्ति कुम्ल्याएर सहकारी संस्था भाग्ने क्रम अझै रोकिएको छैन । फितलो नियमन र संस्थागत सुशासनको अभावमा सहकारी संस्था समस्याग्रस्त हुने र भाग्ने क्रम नरोकिएको हो । स्थानीय तहलाई सहकारी सुम्पेपछि यस्तो समस्या झनै बढ्ने विज्ञहरूको अनुमान छ ।


स्थानीय तहसँग सहकारी संस्था नियमनको अनुभव नभएको, प्रभावकारी सुशासन नभएको लगायत कारण संस्थामा समस्या हुन सक्ने उनीहरूको दाबी छ । गत वर्षसम्म मुलुकभरबाट ८३ वटा सहकारी संस्था फरार रहेको सरकारी तथ्यांक छ ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?