पप्पुलाई कारबाही गर्न निर्देशन

काठमाडौंको तीनकुनेस्थित वागमती नदीको पुल निर्माण अघि नबढाउन समितिले निर्देशन दिदाँदिँदै पनि अटेर गरेर काम गरिरहेपछि पप्पुलाई कारबाही गर्न निर्देशन दिएको हो
विमल खतिवडा

काठमाडौँ — संसद्को विकास तथा प्रविधि समितिले गुणस्तरहीन काम गरेको भन्दै पप्पु कन्स्ट्रक्सनलाई कारबाही निर्देशन दिएको छ ।
काठमाडौंको तीनकुनेस्थित वागमती नदीको पुल निर्माण अघि नबढाउन समितिले निर्देशन दिदाँदिँदै पनि अटेर गरेर काम गरिरहेपछि पप्पुलाई कारबाही गर्न निर्देशन दिएको हो ।

गुणस्तरीय काम नगरेको र आफूले गरेको कामको जवाफदेहिता नलिएको भन्दै उनीमाथि कारबाही गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको समितिले जनाएको छ । समितिले ०७६ जेठ २ गते स्थलगत अनुगमन गरी पुल निर्माणमा गम्भीर त्रुटि फेला परेको थियो । त्यसपछि काम रोक्न निर्देशन दिएको थियो । काम जारी राखेपछि उनलाई कारबाही गर्न निर्देशन दिएको समितिले जनाएको छ ।


‘निर्माणमा लापरबाही देखिएको छ,’ समिति सभापति कल्याणीकुमारी खडकाले भनिन्, ‘सरकारी निकायबाट समेत गुणस्तरमा ध्यान नदिएको पाइयो । सम्झौताअनुसारको काम भएको छैन । समयमै सक्नुपर्ने ठेक्का भए पनि अहिलेसम्म प्रगति देखिएको छैन ।’ उनले जो दोषी भए पनि त्यसलाई तुरुन्त कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको बताइन् । पप्पुसँगै ठेक्का पाएको अर्को आयोजना धोबीखोलाको पुल आगामी मंसिरमा सम्पन्न हुँदै छ । उपत्यका सडक विस्तार आयोजनाका अनुसार पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको तीनकुने पुलको निर्माण भने अहिलेसम्म ३० प्रतिशत मात्र प्रगति छ ।


‘दोषीउपर कारबाही गरी तुरुन्त निर्माण सम्पन्न गर्न भनेका छौं,’ उनले भनिन्, ‘चाँडोभन्दा चाँडो गुणस्तरीय रूपमा काम सम्पन्न गर्न निर्देशन गरेका छौं ।’ समितिले ०७६ जेठ २ गते स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा पुलको ३ वटा ‘पाइल्स’ मा त्रुटि रहेको पाइएको थियो ।


काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण कम्पनीलाई फाउन्डेसन निर्माण (पाइल्स) को समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन दिएको थियो । उक्त कन्ट्रक्सनले अटेर गर्‍यो । कन्स्ट्रक्सनले निर्देशनको पालना नगरी पुलको ‘सब–स्ट्रक्चर’ निर्माण गरी ‘स्ल्याब’ ढलानको तयारी गरेको पाइएको समितिले जनाएको छ ।


२९ दशमलव ५ मिटर गहिरो (लम्बाइ) का १६ वटा पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भए पनि निर्माण व्यवसायीले एउटा पाइल १६ दशमलव ५ मिटरको मात्र निर्माण गरेको र २ वटा पाइल्स क्रयाक भएको प्राविधिक परीक्षणबाट देखिएको आयोजना सम्बद्ध कर्मचारीबाट जानकारी पाएको समितिले जनाएको छ ।


तीनकुने खण्डमा निर्माण गरिएको संरचनाले दुर्घटना हुने सम्भावना देखिएकाले त्यस्ता संरचनाको तत्काल व्यवस्थापनका लागि निर्देशन दिइएको छ । आयोजनाले पूर्वतयारीबिना ठेक्का लगााएकाले ढल, खानेपानीको पाइप र बिजुलीको पोल हटाउन ६ महिना लागेकाले काम समयमै सुरु हुन नसकेको देखिएको समितिको निष्कर्ष छ ।


पुलमा देखिएको समस्या समाधानका लागि आयोजनाले तत्काल इन्जिनियरिङ अध्ययन संस्थानसँग समन्वय गरी परिमार्जित डिजाइन प्राप्त गरी सोहीअनुसार काम अघि बढाउने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ । निर्माणको गुणस्तर कायम गर्न आयोजना सम्बद्ध पदाधिकारीले आवश्यकताअनुसार पटकपटक प्राविधिक परीक्षणसहित गुणस्तर कायम हुने आधार सुनिश्चित गर्नुपर्ने सुझाव दिइएको छ ।


‘निर्माणमा ढिलाइ गरेकै हो, सँगै टेन्डर भएको धोबीखोलाका दुवै पुल अर्को वर्ष सकिन्छन्,’ आयोजनाका इन्जिनियर एवं प्रवक्ता विश्वविजयलाल श्रेष्ठले भने, ‘तीनकुने पुल निर्माणमा सोचेअनुरूपको काम हुन सकेको छैन ।’ तीनकुनेमा दुवैतर्फ २ वटा पुल निर्माण थालिएको हो । ०७५ असार ५ गते निर्माण सम्पन्न गर्ने गरी ०७१ पुस ४ गते ठेक्का भएको थियो । २१ करोड ३३ हजारमा ठेक्का भएको उक्त पुल सम्पन्न हुन सकेका छैन ।


जताततै विवादमा

पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएका अधिकांश पुल र सडक समयमै सकिएका छैनन् । ठेक्का लिएर निर्माण नसक्ने, गुणस्तरहीन काम गर्ने भन्दै यो कन्स्ट्रक्सन विवादित बन्दै आएको छ । केहीको निर्माण सकिएको र बाँकी रहेका ठेक्कको काम पनि सन्तोषजनक नरहेको सडक विभागअन्तर्गत पुल महाशाखाले जनाएको छ ।


‘पप्पुले ठेक्का लिएका केही पुलको निर्माण पूरा पनि भएको छ,’ पुल महाशाखाका प्रमुख दीपक भट्टराईले भने, ‘अधिकांश निर्माणकै क्रममा छन् ।’ उनका अनुसार पप्पु–जेडआईईसी जेभीले टेकु पुलको ठेक्का लिए पनि प्राविधिक रूपमा उक्त पुल निर्माण भएको छैन ।


‘टेकुको पुल प्राविधिक रूपमा निर्माण नभएकाले त्यसलाई स्विकार्न सकिँदैन भन्दै परामर्शदाताले सुझाव दिएको छ,’ उनले भने, ‘निर्माण व्यवसायीले अटेरी गरेको पाइएको छ, परामर्शदाताले पत्र लेख्छन् तर पत्रअनुसार निर्माण व्यवसायीले काम गरेनन्, आफ्नै हिसाबले काम गर्दा समस्या भएको हो ।’


संयुक्त रूपमा ठेक्का लिए पनि काम सबै पप्पु कन्स्ट्रक्सनले गरेको हो । पुल निर्माण भए पनि सञ्चालनमा रोक लगाइएको छ । यो पुलको ठेक्का रकम २० करोड १३ लाख हो । सडक र पुलको ठेक्का १२ अर्बभन्दा बढीको ठेक्का यो कन्स्ट्रक्सनले पाएर काम गरिरहेको छ । अधिकांशको ठेक्का सम्झौता सकिएको छ । सडकको ठेक्का ५ अर्ब २५ करोड ७४ लाख ७० हजार र हुलाकी राजमार्गअन्तर्गतका पुलको ठेक्का ७ वटा रहेको छ ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?