किसानको गुनासो– 'धान रोप्ने बेला मल पाएनौं’

प्रदेश ब्युरो

बुटवल — बाली लगाउने बेलामै मल अभाव भएको छ । सिजनमा खेती लगाउने किसान मल खोज्दै भौंतारिएका छन् । प्रदेशसभा बैठकसम्मै मल अभावको मुद्दा जोडतोडका साथ उठे पनि त्यसको सुनुवाइको संकेत देखिँदैन ।

किसानको गुनासो– 'धान रोप्ने बेला मल पाएनौं’

‘खेत रोप्ने बेला भयो, मल पाइएन,’ तिलोत्तमा नगरपालिका–६ का किसान टीकाराम चापागाईंले भने, ‘भारतीय मल नक्कली आउँछ, त्यसैमा दुवैतर्फका पुलिसको झन्झट छ ।’ प्रहरीले पैसा पाए छोड्ने गरेको उनले बताए ।

पौने दुई बिघामा खेती गर्दै आएका जावेद अली अहिले बीउ रोप्न ढिलो भएपछि चिन्तित छन् । ‘सरकारको अनुदानबाट मल पाउँदा सहज हुन्छ भनेर पर्खिएँ, मल त सकिएछ,’ उनले भने, ‘भारतबाट ल्याउन बाध्य भइयो ।’ त्यतिमात्र नभएर सुनौलीको मलमा वजन पनि कम हुने, खेत जोत्न ट्र्याक्टरले मनपरि शुल्क लिने, अहिलेकै समयमा डिजेलसमेत अभाव हुने समस्या रहेको उनले बताए ।

रामु भण्डारीले हरेक वर्ष साझा समितिबाट मल ल्याई बीउ रोप्थे । तर, यसपालि उनले न त मल पाए, न बीउ नै । सबैले तयारी गरेपछि आफूले पनि रोप्नका लागि साझामा मलका लागि धाए । तर, पाएनन् । भारतबाट ल्याएर बीउ राखे । ‘अब रोप्ने बेला भयो, मलको समस्या टरेन,’ उनले भने, ‘कृषि प्रधान देश नारामा सीमित भयो, भारतको भर परेर कृषि गर्न बाध्य छौं ।’ कृषि सामग्री कम्पनीमार्फत अनुदानमा वितरण हुने मल किसानले पाउनै नसकेको उनले बताए ।

कृषि सामग्री केन्द्र भैरहवाका प्रमुख राजेन्द्र कार्कीले ६० प्रतिशत किसानलाई डीएपी उपलब्ध गराइएको र ४० प्रतिशतलाई दिन नसकिएको बताए । ‘हामीसँग डीएपी मल छैन,’ उनले भने, ‘पश्चिमाञ्चलका कुनै केन्द्रमा यो उपलब्ध छैन ।’ भारतीय चुनाव र मलको मूल्यवृद्धि हुँदा देशभर अभाव भएको उनले बताए ।

जीटूजीको विकल्प नअपनाएसम्म किसानलाई १५ दिनभित्र मल दिन नसकिने कार्कीको भनाइ छ । यहाँबाट पश्चिम क्षेत्रमा मल वितरण गरिन्छ । ३० हजार टन मल आवश्यक पर्छ । केन्द्रबाटै डीएपी मल आवश्यकता अनुसार उपलब्ध गराउन नसक्दा भारतीय बिचौलिया र व्यापारीले ठगेको उनले जानकारी दिए ।

सहकारीले गर्छन् मल कारोबार

बाँकेमा किसानले मलको कारोबार गर्ने सहकारीबाट मात्रै अनुदानको मल खरिद गर्न पाउँछन् । कृषि सामग्री केन्द्रमा १ सय ४९ सहकारी मलको कारोबारका लागि सूचीकृत छन् । झन्डै एक सय सहकारीले प्रत्येक वर्ष किसानलाई मल उपलब्ध गराउँछन् ।

मलको कारोबारका लागि सूचीकृत भएका सबैभन्दा बढी २८ सहकारी नेपालगन्ज उपमहानगरपालिकामा छन् । तर, नरैनापुरमा एउटा पनि सूचीकृत सहकारी छैन । नरैनापुर गाउँपालिकाबाहेकका सहकारीले मलको कारोबार गर्दै आएका छन् ।

डुडुवा गाउँपालिकाका १२, राप्तीसोनारी गाउँपालिकाका ११, बैजनाथ गाउँपालिकाका १७, कोहलपुर नगरपालिकाका ९, जानकी गाउँपालिकाका १४, खजुरा गाउँपालिकाका १८ सहकारीले कृषि सामग्रीबाट मलको कारोबारका लागि सूचीकृत रहेको कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्ज शाखाका प्रमुख रमेश पौडेलले बताए ।

त्यसबाहेक भारतसँग सीमा जोडिएकाले सीधै सीमापारिबाट पनि मल खरिद हुने गरेकाले बाँकेमा मल अभावको ठूलो समस्या छैन । तर, दुर्गम क्षेत्रका किसानले भने सहजै मल पाउने अवस्था छैन । लिमिटेडले सहकारीलाई दिएको मल किसानको हातमा पुगेको स्थानीय तहले अनुगमन गरेपछि मात्रै थप मल सहकारीले पाउने कृषि सामग्री कम्पनी नेपालगन्ज शाखाका प्रमुख पौडेलले बताए ।

‘बिक्री भएको मलको सुनिश्चितता स्थानीय तहले गरेपछि मात्रै मल दिने गर्छौं,’ उनले भने, ‘सहकारीले तोकिएको बिक्री मूल्यमा बेचेको छ/छैन भन्ने पनि अनुगमन गरिन्छ ।’ मल उपलब्ध भएको अवस्थामा सहकारीले मागेबमोजिम मल दिने गरेका छन् । अभावका बेला मागको अनुपातमा बराबरी बाँड्ने गरेको शाखा प्रमुख पौडेलले बताए ।

किसान आक्रोशित

कपिलवस्तु नगरपालिका–३, सडवाका कृष्ण कोहारले २ सातादेखि बजारमा मल खोजे पनि पाएनन् । उनलाई कसैले सीमापारि खुनुवा गएर मल ल्याउन सुझाए । उनले उताबाट एक बोरा डीएपी ल्याउँदा सशस्त्र प्रहरीले बरामद गर्‍यो । ‘न राज्यले दिन सक्छ, न एक बोरा ल्याउन सहुलियत दिन्छ,’ उनले आक्रोश पोखे, ‘सरकार नै किसानको हितमा छैन ।’

सरकारको कृषि नीतिले किसानमा उत्साहभन्दा निराशा बढाउने गरेको उनले बताए । धान रोप्ने बेलामा मल अभाव हुँदा धेरै किसान मर्कामा परेका छन् । ‘बीउको जोहो गरें,’ मलपरवाका किसान सराजुल मुसलमानले भने, ‘मल पाउन भने सकेको छैन ।’ बीउ छर्न तयारी गरेको हिलाम्य खेतमा डीएपी छर्न पाए बीउ राम्रो सप्रने अन्यथा बीउ नउम्रेर लगानी खेर जाने उनले बताए । मल खोज्दै किसान सहकारी संस्था र कृषि सामग्री कम्पनीमा दिनहुँ धाउने गरेको तिलौराकोटका कृषक दर्शनाथ कोहारले बताए ।

जिल्लामा २ सातादेखि युरिया र डीएपी मलको अभाव छ । कृषि सामग्रीको तौलिहवा उपशाखामा ३५ टन डीएपी र ३ सय २८ टन युरिया मलमात्र मौज्दात छ । ‘अहिले डीएपी चाहिने बेला हो,’ तौलिहवा उपशाखा प्रमुख दिनेश शर्माले भने, ‘त्यही छैन । यो महिना आउने छाँट पनि छैन ।’ युरिया भने २ साताभित्र आउने उनले बताए । यहाँबाट सिजनका बेला युरिया र डीएपी साताको ५/५ सय टन बिक्री हुन्छ । जिल्लामा वर्षभरिमा २५/२५ हजार टन युरिया र डीएपी आवश्यक पर्छ ।

अभावले सास्ती

मल अभावले बर्दियाका किसान पनि उस्तै समस्यामा छन् । राज्यले धानको बीउ र रासायनिक मल समयमा उपलब्ध गराउन नसक्दा यहाँ हाहाकार मच्चिएको छ । किसान बाध्यताले सीमावर्ती बजार पुग्ने गरेका छन् । भारतीय बजारमा पाइने मल र बीउ गुणस्तरीय नहुँदा किसान दोहोरो मर्कामा पर्ने गरेका छन् ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा झन्डै ५२ हजार ५ सय हेक्टरमा धान खेती हुन्छ । कृषि प्राविधिकका अनुसार धान खेतीका लागि बर्सेनि झन्डै ३ हजार टन युरिया मलको आवश्यकता रहेको जनाएको छ ।

मल आपूर्तिका लागि कृषि सामग्री संस्थानको मुख्यालय काठमाडौंमार्फत कृषि सामग्री कम्पनी भैरहवामा भारतबाट आउने गरेको छ ।

भैरहवाबाट जिल्लामा ल्याउने मल कृषि सामग्री कम्पनीको लापरबाहीले ढिलाइ भएको किसानहरूको आरोप छ । जिल्लास्थित संस्थानको गोदाम खाली छ । सामग्री कम्पनीका प्रमुख नरहरि पोखरेलले भैरहवा डिपोमै पर्याप्त मल नभएको बताए । धानको बीउ छर्ने समयमा जिल्लामा करिब १ हजार ५ सय मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । भारतबाट मल ल्याउँदा प्रहरी र भन्सारले सताउने गरेको बारबर्दिया नगरपालिका–७ का महादेव थारूले गुनासो गरे ।

(रूपन्देहीबाट सन्जु पौडेल, नेपालगन्जबाट रूपा गहतराज, कपिलवस्तुबाट मनोज पौडेल र बर्दियाबाट कमल पन्थी)

प्रकाशित : असार १, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?