१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

तरकारीमा आफूखुसी मूल्य

थोक तथा खुद्रा मूल्यसूचीमा शुक्रबार स्कुसको मूल्य अधिकतम १० रुपैयाँ प्रतिकेजी उल्लेख भए पनि उपभोक्ता थोक मूल्यभन्दा तीन सय प्रतिशत बढी ४० रुपैयाँमा खरिद गर्न बाध्य भए 
अर्जुन राजवंशी

बिर्तामोड — झापाको बिर्तामोडस्थित कृषि उपज बजारमा खुद्रा व्यापारीले तीन सय प्रतिशतसम्म मूल्य राखेर तरकारी बिक्री गर्ने गरेको पाइएको छ । बिर्तामोड नगरपालिका–५ स्थित कृषि उपज बजार परिसरभित्र होलसेलमा तरकारी खरिद गरेर व्यापारीले सोही बजारमा खुद्रा बिक्री गर्दा उपभोक्ताको ढाँड सेकिने गरी मूल्य निर्धारण गरिरहेका छन् ।

तरकारीमा आफूखुसी मूल्य

कृषि उपजका व्यापारीले तरकारीको मूल्य आफैं निर्धारण गर्छन् । कृषि बजार व्यवस्थापन समितिको थोक तथा खुद्रा मूल्यसूचीमा शुक्रबार स्कुसको मूल्य अधिकतम १० रुपैयाँ प्रतिकेजी उल्लेख छ । उपभोक्ताले सोही दिन स्कुस थोक मूल्यभन्दा तीन सय प्रतिशत बढी अर्थात् ४० रुपैयाँ केजीमा खरिद गर्न बाध्य भए ।


शुक्रबार नै व्यापारीले इलाम र धनकुटामा उत्पादन भएको घिउ सिमी प्रतिकेजी ३० रुपैयाँले खरिद गरेका थिए । उक्त घिउ सिमी उपभोक्ताले व्यापारीको खरिद मूल्यभन्दा एक सय प्रतिशत बढी (६० रुपैयाँ) केजीका दरले खरिद गर्नुपर्‍यो । तितेकरेला, लौका, घिरौला, फर्सी, भिन्डी, हरियो धनियाँ र तोरीको साग थोक मूल्यभन्दा एक सय प्रतिशत बढी मूल्यमा खरिद गर्न उपभोक्ता बाध्य भएका छन् ।


इलाम र धनकुटामा उत्पादन भएको काउली उपभोक्ताले ७५ रुपैयाँ केजीका दरले खरिद गरे । उक्त काउली व्यापारीले ३० रुपैयाँ केजीका दरले थोकमा खरिद गरेको कृषि बजार व्यवस्थापन समितिले जनाएको छ । गोलभेडाको थोक मूल्य ५० रुपैयाँ केजी छ ।

उपभोक्ताले ८० रुपैयाँ केजीका दरले खरिद गरिरहेका छन् । गाँजरको थोक मूल्य ५० रुपैयाँ छ । ८० रुपैयाँ केजीमा खरिद गरिरहेको उपभोक्ताले बताए । इलाममा उत्पादन भएको रायोको साग कृषि उपज बजारमै थोक मूल्य प्रतिकेजी २५ रुपैयाँ छ । व्यापारीले उक्त साग उपभोक्तालाई प्रतिकेजी ६० रुपैयाँमा बिक्री गरिरहेको पाइएको छ ।


‘व्यापारीको आफूखुसी मूल्य निर्धारणले तरकारी किनेर खान नसक्ने अवस्थामा पुगेका छौं,’ उपभोक्ता नीलभक्त अधिकारीले भने, ‘एउटै कृषि उपज बजारमा होलसेल मूल्यभन्दा खुद्रा मूल्य अत्यधिक हुँदासम्म प्रशासन मौन छ ।’ उनले बजारमा नियमित नियमन तथा अनुगमन नहुँदा व्यापारीले तरकारीको मूल्य आफूखुसी निर्धारण गर्ने गरेको बताए ।


कृषि बजार व्यवस्थापन कार्यालयका व्यवस्थापक सीताराम नेपालले पनि बजारमा तरकारीको मूल्य अस्वाभाविक भएको स्वीकार गरे । ‘एउटै बजारमा होलसेल र खुद्रा मूल्यमा सय–दुई सय प्रतिशतसम्म फरक पर्नु दुःखद हो । तर, मूल्य निर्धारण गर्ने र बढी मूल्य लिने व्यापारीलाई कारबाही गर्न सक्ने हामीलाई अधिकारी छैन,’ नेपालले भने ।


फलफूल तथा तरकारी व्यवसायी संघका जिल्ला अध्यक्ष उमाकान्त ढुंगेलले व्यापारीले निश्चित मूल्य राखेर तरकारी बिक्री गर्नुपर्नेमा अस्वाभाविक मूल्यले उपभोक्ता मारमा परेको बताए । उनले कृषि उपज बजारलाई सञ्चालन गर्ने सिस्टमको अभावमा उपभोक्ता बढी मूल्य तिर्न बाध्य रहेको बताए ।


‘तरकारी चाँडै बिग्रिने व्यवसाय हो । कतिपय अवस्थामा लागत उठाउन पनि बढी मूल्य लिन व्यापारी बाध्य हुन्छन्,’ ढुंगेलले भने, ‘व्यापारी र उपभोक्ता दुवैलाई क्षति हुन नदिने गरी बजारलाई एउटा सिस्टममा सञ्चालन गर्न जरुरी छ । नियमन निकायको सक्रियता पनि नियमित हुन आवश्यक छ ।’ कृषि बजार व्यवस्थापन समितिका सदस्य खगेन्द्र महतोले बाहिर हल्ला भएजस्तो व्यापारीले बढी मूल्य नलिएको दाबी गरे ।

प्रकाशित : असार १, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?