माथिल्लो तामाकोसीमा सफलता, ठाडो सुरुङमा पेनस्टक पाइप जडान
दोलखा — अति नै कठिन ठानिएको कार्य सात घण्टा १५ मिनेटको प्रयासमा सफल भएपछि दोलखास्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा आइतबार राति खुसी छायो । पटकपटक असफल भएको २७ टनको पाइपलाई क्रेनले तोकिएको ठाउँमा गएराति १० बजे राखेपछि आयोजनाभित्र खुसी फैलिएको हो ।
करिब चार वर्षदेखि प्रयासरत ठाडो सुरुङमा पेनस्टक पाइप जडान कार्यको सफल सुरुवातीले ४५६ मेगावाटको उक्त आयोजनाको बाँकी दुई प्रतिशत कार्य पछिल्लो पटक निर्धारित समयमा सकिने आशा बलियो बनेको छ ।
उक्त कार्य गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा अपर तामाकोसी हाइड्रो पावर सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ आफै लामावरस्थित आयोजनाको सुरुङभित्र खटेका थिए । आयोजनाका कार्यकारी अधिकृत विज्ञान श्रेष्ठ र प्रमुख दिनेशजंग राणासहितको विज्ञ प्राविधिकहरू दिउँसो २ः४५ देखि राति १० बजेसम्म खटेका थिए । उक्त कार्यको सुरुवातपछि थप ७३ वटा पेनस्टक राख्ने कार्य सजिलै अघि बढ्ने आयोजनाको भनाई छ ।
आयोजनाको मुख्य सकसपूर्ण तीन सय ७३ मिटर तल्लो र तीन सय १० मिटर माथिल्लो ठाडो सुरुङमा पेनस्टक पाइपको जडानको कार्य हुन सकेको थिएन । २०७२ सालको भूकम्प अगाडि नै पाइप राख्न मिल्ने गरी सुरुङ खनिएपनि विभिन्न कारणले उक्त काम सम्पन्न हुन सकेको थिएन ।
आयोजनाका प्रवक्ता गणेश न्यौपानेले तल्लो ठाडो सुरुङमा पाँच मिटर लम्बाइका तीन दशमलव ६ मिटर व्यासका सबै स्टिल पाइपहरू सुरुका दिनहरूमा लामोसाँघु जिरी सडक खण्डको स्तरवृत्ति कार्यले ढुवानी हुन बाधा पुगेको थियो ।
प्रकाशित : असार २, २०७६ १५:१४