२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

ऊर्जा बैठकमा डेडिकेटेड प्रसारण लाइन प्रमुख एजेन्डा

विजय तिमल्सिना

काठमाडौँ — काठमाडौं– दुई देशबीच डेडिकेटेड प्रसारण लाइनलाई प्राथमिकतामा राखेर नेपाल र बंगलादेशबीच भएको ऊर्जा सहकार्यसम्बन्धी समझदारीअनुसार गठन भएको सहसचिव र सचिवस्तरीय समितिको दोस्रो बैठक बिहीबार र शुक्रबार ढाकामा बस्ने भएको छ ।

ऊर्जा बैठकमा डेडिकेटेड प्रसारण लाइन प्रमुख एजेन्डा

बैठकमा नेपाल र बंगलादेशबीच भारतको भूमि प्रयोग गरी डेडिकेटेड प्रसारण लाइन निर्माणको विषयमा छलफल हुने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए । बैठकमा सहभागी हुन ऊर्जा सचिव दिनेशकुमार घिमिरेसहितको टोली बंगलादेश पुगिसकेको छ ।


समितिको पहिलो बैठक मंसिर १७ र १८ मा काठमाडौंमा भएको थियो । यो बैठकका अन्य एजेन्डा काठमाडौंमा बसेको बैठककै निरन्तरता हुने ऊर्जा मन्त्रालयले स्रोतले जनाएको छ । काठमाडौंमा बसेको बैठकले दुई देशबीच अन्तरदेशीय प्रसारण लाइनको सम्भावना, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट बंगलादेशले किन्ने भनेको ५ सय मेगावाट विद्युतको विषयमा छलफल गरेको थियो ।


भारतको चिकेन नेक भनेर चिनिने सिलिगुडी करिडोरबाट नेपाल र बंगलादेशबीच प्रसारण लाइन निर्माण गर्न सकिने विषयमा दुई देशका ऊर्जा अधिकारीहरूले छलफल गर्ने एजेन्डा तय भएको मन्त्री पुनले जानकारी दिए । ‘दुवै देश मिलेर प्रसारण लाइन निर्माण गर्ने विषयमा छलफल हुन्छ,’ उनले भने, ‘बैठकमा भएको छलफलको आधारमा भारतसँग यो विषयमा थप कुराकानी गर्ने योजना छ ।’


भारतको पश्चिम बंगाल राज्यस्थित सिलिगुडी करिडोरले नेपाल र बंगलादेशलाई २२ किलोमिटरको दूरीले मात्रै छुट्याउँछ । नेपाल र बंगलादेश जोडिने यो सबैभन्दा छोटो नाका हो । यहाँबाट भुटान पनि नजिक पर्छ ।


नेपाल र बंगलादेशका ऊर्जा अधिकारीहरूको काठमाडौंमा बसेको बैठकले दुई देशबीच प्रसारण लाइन निर्माणका लागि आवश्यक पर्ने भारतीय भूमि प्रयोग गर्न दुवै देशले आआफ्नो तर्फबाट पहल गर्ने निर्णय गरेको थियो । बिहीबार दुवै देशका ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठक बस्ने र सोही बैठकले गरेको निर्णयलाई शुक्रबार बस्ने सचिवस्तरीय बैठकले अनुमोदन गर्ने तयारी छ ।


बुधबार भने दुवै देशका ऊर्जा अधिकारी सम्मिलित संयुक्त प्राविधिक टोलीको बैठक बस्नेछ । काठमाडौंमा भएको बैठकले उत्पादन र प्रसारणतर्फ छलफल गर्न दुवै देशका तीन–तीन सदस्य रहने गरी संयुक्त प्राविधिक टोली गठन गरेको थियो ।


गत साउन २५ गते नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।


दुई देशका ऊर्जा सहसचिव र सचिवस्तरीय बैठकमा जीएमआरले निर्माण गर्ने भनेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेशले खरिद गर्ने विषयमा पनि थप छलफल हुने मन्त्री पुनले जानकारी दिए । बंगलादेशले भारतीय विद्युत् व्यापार निगमसँग माथिल्लो कर्णालीको विद्युत् खरिद गर्न सैद्धान्तिक सहमति गरिसकेको छ । माथिल्लो कर्णाली आयोजनाले उत्पादित विद्युत् भारतीय निकायलाई बिक्री गर्ने र सोही विद्युत् निगमले बंगलादेशलाई बिक्री गर्ने गरी सैद्धान्तिक सहमति जुटेको हो ।


‘बंगलादेशले सुनकोसी दोस्रो र तेस्रोमध्ये एक आयोजनामा लगानी गर्न चासो देखाएको छ,’ मन्त्री पुनले भने, ‘संयुक्त लगानी गर्ने वा बंगलादेशले मात्रै लगानी गर्ने विषयमा पनि बैठकमा छलफल गर्ने एजेन्डा तय भएको छ ।’ सुनकोसी दोस्रो १ हजार १ सय १० मेगावाट र तेस्रोको ५ सय ३६ मेगावाट क्षमतामा निर्माण गर्न सकिने आयोजना हो ।


नवीकरणीय ऊर्जामा बंगलादेशले उल्लेख्य प्रगति हासिल गरेको भन्दै मन्त्री पुनले नेपाललाई आफ्नो अनुभव र प्रविधि बाँड्न बंगलादेश इच्छुक रहेको टिप्पणी गरे । उनका अनुसार बैठकमा नवीकरणीय ऊर्जामा बंगलादेशको अनुभव र प्रविधि भित्र्याउने विषयमा पनि छलफल हुनेछ ।


बंगलादेशले ऊर्जा अभाव टार्न भारतबाट विद्युत् आयात गरिरहेको छ । भुटानमा जलविद्युत् आयोजनामा लगानी गर्ने र सोही विद्युत् आफ्नो देशमा भित्र्याउने गरी बंगलादेशले भारत र भुटानसँग भित्रपक्षीय समझदारीका लागि पनि पहल गरिरहेको छ । बंगलादेशले नेपालबाट सन् २०४० सम्ममा नेपालबाट ९ हजार मेगावाट विद्युत् आयात गर्ने योजना बनाएको छ ।


प्रकाशित : असार ४, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?