सीमामा अवैध सटही कारोबार

एक वर्षयता सीमा क्षेत्रमा झन्डै १ करोड रुपैयाँसहित दुईजना पक्राउ परिसकेका छन् 
लक्ष्मी साह

बारा — प्रहरीले सुराकीका आधारमा सुवर्ण गाउँपालिका–७ सनफुलवास्थित दसगजा क्षेत्रबाट मंगलबार साँझ एक भारतीयलाई ५७ लाख ७९ हजार ४ सय ९० रुपैयाँसहित पक्राउ गर्‍यो । भारतको मोतीहारीका २४ वर्षीय बृजकिशोरकुमार कुसवाहा पक्राउ परेका थिए । 

घटनास्थल उनको ससुराली गाउँ नजिक पर्छ। बीआर ०५ एसी ४४८६ नम्बरको भारतीय बाइकसहित कुसवाहा पक्राउ परे। जाँचका क्रममा बाइकको विभिन्न भागलगायत उनले लगाएको हेल्मेट, पिंडौला, ढाड, पेट, कम्मर, जिन्स पाइन्टको खल्तीलगायत ठाउँमा लुकाएको रकम बरामद भयो। रकमको स्रोत नखुलेपछि प्रहरीले उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ललितपुर पठाएको छ।

एक वर्षअघि दसगजा क्षेत्रमा पर्ने विश्रामपुर गाउँपालिका–१ छतवामा ४० लाख नेपाली रुपैयाँ ल्याउँदै गर्दा अर्का एक भारतीय नागरिक पक्राउ परेका थिए। मोतीहारी जिल्ला आदापुर श्यामपुर बजारका गुडुकुमार साह कानु बाइकसहित पक्राउ परेका थिए। उनलाई पनि प्रहरीले अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागमा पठाएको थियो। बृजकिशोर र गुडु पक्राउ परे पनि यस्तो कारोबार गर्ने धेरै भए पनि समातिएका उदाहरण कमै छन्।

केही समययता सीमा क्षेत्रमा अवैध रकम सटही गर्ने यस्तो कारोबार बढदा प्रहरी सक्रिय भएको छ। भारतीय रुपैयाँको अभावले यस्तो धन्दा फस्टाउँदै गएको हो। भारतीय रुपैयाँको आवश्यकता पूरा गर्न व्यक्तिले सटही कारोबार गर्ने गरेका छन्। भारतीय रुपैयाँ साट्नका लागि लाग्ने बट्टा (प्रतिसयमा ३ रुपैयाँ) बाट कमाउने उद्देश्यले भारतीय र नेपाली नागरिकले सीमा क्षेत्रमा यस्तो धन्दा बढाएका छन्।

‘व्यापार र जागिरभन्दा यसमा बढी कमाइ हुने भएकाले यो कारोबार गर्छौं,’ एक सटही कारोबारीले भने, ‘कारोबार गर्न सजिलो छ।’ नेपालको बैंकमा नेपाली रकम राखेर पारिको बैंकबाट भारतीय रकम झिकेर प्रति सयकडा ३ रुपैयाँको दरले बट्टा कमाएर कारोबार गर्ने गरिएको उनले बताए।

नेपाली व्यापारीलगायतलाई भारतबाट कारोबार गर्दा भारु रकम चाहिने भएकाले यो धन्दा फस्टाएको उनले सुनाए। सीमापारिका भारतीयले नेपाली आफन्त, श्रीमती, नातागोता, विश्वासिलो र साझेदारीमा काम गर्ने नेपालीको नाममा रहेका बैंक खातामा रकम जम्मा गरी पारिको बैंकबाट भारतीय रकम झिकेर सटही गर्न यस्तो धन्दा अपनाएको उनले बताए।

अहिले सबैजसो पालिकामा बैंक भइसकेकाले त्यस्तो कारोबार गर्नेहरू झन् बढेका छन्। प्रहरीका एसपी रञ्जितसिंह राठौरका अनुसार सीमा क्षेत्रमा हुन्डी र बट्टालगायत अवैध सटही गर्ने संगठित गिरोहको निगरानी बढाइएको छ। यसैबीच स्रोत नखुलेको रकमसहित पक्राउ पर्दा पक्राउ पर्नेको पक्षबाट प्रहरी अधिकारीलाई छोडन ‘लबिइङ’ गर्ने पनि बढेका छन्।

‘हुन्डी र अवैध सटही कारोबार गर्ने फरकफरक गिरोह छन्। हुन्डीमा सरकारलाई तिर्नुपर्ने विनिमय दरअनुसारको खरिद तथा बिक्री मूल्य तिर्नु पर्दैन,’ उनले भने, ‘बैंकबाट कारोबार नगरेर हातोहात कारोबार गर्छन्, जसबाट उनीहरूलाई एक त सरकारलाई कर तिर्नु परेन र अर्को बैंकमा स्रोत खुलाउनु परेन। नोक्सानी नभएर सिधै अवैध कमाइ भयो।’ यसैगरी सटही काम गर्नेले नेपाली रकमबाट भारतीय रकम साटेर बढी मुनाफा कमाउन बट्टाको काम गर्ने गरेको उनको राठौरको भनाइ छ।

प्रकाशित : असार ४, २०७६ २०:११
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फर्जी तालिम दिने पक्राउ

लक्ष्मी साह

बारा — जिल्लाका विभिन्न विद्यालयका राहत शिक्षिका र बाल विकास सहयोगी कार्यकर्तालाई ‘शैक्षिक तालिम दिन्छौं’ भन्दै अवैद्य रकम असुल्ने गरेको पाइएको छ । एक सयभन्दा बढी शिक्षिकाबाट प्रति शिक्षक २ हजार ५ सयदेखि ३ हजारसम्म गरेर ३ लाखभन्दा बढी रकम असुल गरिएको पाइएको हो ।

प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र राहत दरबन्दीका शिक्षिकालाई तालिम दिने भन्दै अग्र्रिम रकम उठाउँदै हिँडेका एक जनालाई प्र्रहरीले पक्रेपछि यो रहस्य खुलेको हो ।

प्रहरीले ठगी गरेको आरोपमा सर्लाहीको हरिपुर नगरपालिका–२, का ३५ को विजय चौधरी भन्ने वीरेन्द्र कुवँरलाई कोल्हवी नगरपालिका–३, स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयबाट रकम संकलन गर्दैगर्दा सोमबार पक्राउ गरेपछि अवैद्य रकम असुलेको पुष्टि भएको हो ।

पक्राउ परेका कुवँरको साथबाट रकम संकलनमा प्र्रयोग गरिएको १ ठेली रसिद, संस्थाको लेटर प्याड, केही थान सिडी चक्काहरू र उद्योग मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरिएको एउटा गैरसरकारी संस्थाको प्र्रमाणपत्र बरामद भएको इलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक पुष्कर बोगटीले बताए ।

प्रहरीले कुवँरमाथि ठगी मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । ‘पहिलेदेखि नै गुनासो आएको थियो,’ प्रहरी निरीक्षक बोगटीले भने, ‘विभिन्न विद्यालयबाट १ सय भन्दा बढीसँग रकम संकलन गरिसकेको रहेछन् ।’ निरीक्षक बोगटीले जिल्लाका दुर्गम क्षेत्रका विद्यालयमा कार्यरत शिक्षिकाबाट कुवँरले रकम संकलन गरेको उनले बताए ।

‘सेभ द स्कुल’ बहुउद्देश्यीय संस्थाको नाममा कुवँरले एक महिनायता जिल्लाको निजगढ, कोल्हवी, सिमरा र छिमेकी रौतहटका विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकलाईसमेत प्रभावमा पारेर तालिम दिने नाममा रकम उठाउदैँ आएका थिए । कुवँरले निजगढ नगरपालिकाको विभिन्न विद्यालयबाट २० जनासँग २५/२५ सयका दरले रकम उठाएको पाइएको छ । निजगढ–११ का नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतनपुरका शिक्षक कुलदिप ठाकुरका अनुसार कुवँरले जेठ २४ बाट तालिम संचालन गर्ने भन्दै एक महिना अघि पैसा लिइ तालिम दिएका छैनन् । ‘रकम लिएर गएपछि सम्पर्कविहिन भए, उनले भने, ‘अहिले एर्कैचोटी पक्राउ परेपछि ठगी गरेको थाहा भयो ।’

कुवँरले तालिम वापत हरेकसँग अग्र्रीम २ हजार ५ सय र प्रमाण पत्रको छुट्टै थप ५ सय गरी ३ हजारका दरले अवैद्य रकम अुलेको सुनाए । संस्थाले बालबालिकाको लागि उपयोगी शैक्षिक सामाग्र्री र पुस्तकसमेत सप्लाई गर्ने भन्दै कुवँरले विद्यालयमार्फत खरिदको लागि प्रस्ताव राख्ने गरेको पनि सुनाए । केही समयअघि चौधरीले कोल्हवी नगरपालिका कार्यालयमा पुगेर नगर भित्रका विद्यालयको लागि आफ्नो संस्था मार्फत शैक्षिक सामाग्र्री खरिद गरिदिन आग्र्रहसमेत गरेको कोल्हवी नगरपालिकाका प्रमुख भरतबहादुर भण्डारीले जानाकारी दिए ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT