कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जोगबनी–बथनाह सडक जीर्ण

विनोद भण्डारी

विराटनगर — जोगबनी–बथनाह रुटको साँघुरो जीर्ण सडकले निकासी–पैठारी प्रभावित हुने गरेको छ । सडकमा परेका खाल्डामा पानी जम्दा र ट्राफिक जामका कारण नेपालबाट निकासीका वस्तु लिएर गएका र भारत तथा तेस्रो मुलुकबाट औद्योगिक कच्चा पदार्थ र तयारी सामान बोकेर आएका ट्रक हरेक दिन पल्टिने गरेको पाइएको छ । यसले सम्बद्ध उद्योगी व्यवसायीले हरेक दिन ठूलो आर्थिक भार खेप्दै आएका छन् ।

अप्ठ्यारो सडकका कारण मालवाहक ट्रक आउन र जान समस्या भएको गुनासो व्यवसायीले गरिरहेको विराटनगर भन्सार प्रमुख मिमांस अधिकारीले बताए । ‘सडक जीर्ण र अप्ठ्यारो छ । त्यसमा पनि अत्यधिक जाम हुने गरेको र खाल्डामा ट्रक पल्टिने भएकाले निकासी पैठारीमा केही प्रभाव परेको छ,’ अधिकारीले भने ।


जोगबनी–बथनाह करिब ७ किलोमिटर सडक सिंगल लेनको छ । त्यसमा पनि ठूल्ठूला खाल्डा परेका छन् । सडकमा त्यसै पनि चौबिसै घण्टा जाम हुन्छ । सिंगल लेनको सडक, खाल्डा र जामले मालवाहक ट्रक हरेक दिन पल्टिने गरेका छन् । जुटका तयारी वस्तु निकासीकर्ता राजकुमार गोल्छाले भने, ‘एक महिनामा जुटका तयारी वस्तु लिएर भारत जाँदै गरेका ६ वटा ट्रक पल्टिँदा लाखौंको नोक्सानी भएको छ ।’


पछिल्लो समय अरिहन्त मल्टिफाइवर र रघुपति जुट मिलबाट उत्पादित तयारी सामान भारत लिएर जाँदै गरेका आरजे १४ जीजी ७४३९ र आरजे ३६ जीए ३७२० नम्बरका ट्रक बथनाहमा पल्टिए । ती ट्रक सडकबाट उठाउँदा र सामानको क्षति गरी लाखौंको आर्थिक नोक्सानी भयो । गोल्छाले भने सडककै कारण ट्रान्सपोर्ट कम्पनीले ढुवानी गर्न नमान्दा निकासी पैठारी नै प्रभावित भएको बताए ।


राजस्थान आसामा ट्रान्सपोर्टका सञ्चालक पवन शर्माका अनुसार जेठ महिनाको दोस्रो सातासम्ममा ट्रान्सपोर्टका ५ वटा मालवाहक ट्रक पल्टिँदा लाखौंको क्षति पुगेको छ । साँघुरो सडक त्यसमा परेका खाल्डा र ट्राफिक जामले मालवाहक ट्रकलाई जोगबनी–बथनाह आउजाउमा समस्या छ । उनले भने, ‘त्यही कारणले प्रायः हरेक दिन पल्टिने गरेकाले निकासी–पैठारीकर्ताले ठूलो आर्थिक क्षति भोग्दै आएका छन् ।’


महालक्ष्मी ट्रान्सपोर्टका सन्दीप सिंह पनि एक महिनाको अवधिमा आफ्नो ट्रान्सपोर्टका ४ वटा मालवाहक ट्रक पल्टेको बताउँछन् । सानो सडकमा परेका ठूला खाल्डा र जामकै कारण दैनिक ट्रक पल्टिने गरे पनि सम्बन्धित निकायले मर्मत नगर्दा आयात–निर्यात प्रभावित हुने गरेको सिंहको भनाइ छ ।

प्रकाशित : असार ५, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?