कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

विदेशी लोभ्याउँदै नेपाली हस्तकला

नुमा थाम्सुहाङ

काठमाडौँ — नुवाकोट घर भएका श्रीकृष्ण थपलिया १७ वर्षदेखि ठमेलमा नेपाल क्याप एन्ड ब्याग हाउस सञ्चालन गरिरहेका छन् । रोल्पा र रुकुममा गाँजाका बोटबाट बनेको धागो ल्याएर झोला सिलाउँछन् । झोला बिक्री बाट राम्रो आम्दानी गरिरहेका छन् ।

‘विदेशी पर्यटकले नेपाली उत्पादन धेरै मन पराउँछन्,’ थपलियाले भने, ‘उनीहरूले धेरै महँगो सामान किन्दैनन्, त्यसैले नेपाली हातबाट बनेको सामान लिएर जान्छन् ।’


नेपाली हस्तकलाको गुणस्तर कमै मूल्यमा पनि राम्रो भएकाले विदेशीले यसलाई रुचाउने गरेको उनले बताए । ठमेललाई काठमाडौंको पर्यटकीय स्थलको रूपमा चिन्ने गरिन्छ । विगतमा नेपालीहरूलाई यहाँ सामान महँगो पाइन्छ भन्ने भ्रम थियो । तर यसमा अहिले परिवर्तन आएको थपलियाले सुनाए । उनले नेपाली ग्राहकलाई समेत ध्यानमा राखेर ५० देखि पाँच हजार रुपैयाँसम्मको सामान राख्ने गरेको बताए ।


अमेरिकाकी पर्यटक जे कायल आफन्तका लागि नेपाली हातबाट बनेको ब्याग हेर्दै थिए । नेपालबाट फर्किंदा चिनोस्वरूप नेपाली हातबाट बनेको सामान लिएर जाने विचार गरेको उनले सुनाए । ‘नेपाली हस्तकलाको महत्त्व अमेरिकामा धेरै छ,’ उनले भने, ‘आफन्तका लागि नेपालको चिनो लान लागेको हुँ ।’ नेपाली हस्तकलाका उत्पादनको गुणस्तर राम्रो भएकाले आफन्तलाई उपहार दिन लागेको उनले बताए ।


विदेशी पर्यटक जमघट हुने थलो हो ठमेल । ठमेलमा थांका, गलैँचा, पस्मिना सल र काठ, मेटलबाट बनेका बुद्ध तथा हात्तीका मूर्ति, कटनबाट बनेका नेपाली कपडा र प्युर ह्याम्पका ब्याग बिक्रीका लागि राखिएका छन् । सामानको गुणस्तर हेरेर न्यूनतम मूल्य २ सयदेखि २० हजार रुपैयाँसम्म पर्छ । गलैँचाको न्यूनतम मूल्य १५ सयदेखि तीन लाख रुपैयाँसम्म पर्छ ।


ठमेलमा तीन हजारको हाराहारीमा व्यवसायी रहेको ठमेल पर्यटन परिषद्का अध्यक्ष प्रकाश रानाले बताए । हस्तकलाका सामान पचास प्रतिशत नेपालमै उत्पादन गरिने र बाँकी पचास प्रतिशत चीन तथा भारतको कास्मिरबाट निर्यात गरिने उनले बताए । ‘अमेरिका, युरोपका पर्यटकले नेपाली हस्तकलाको सामान (थांका, बुद्धका मूर्ति, गलैंचा) बढी रुचाउँछन्,’ रानाले भने, ‘चिनियाँ र भारतीय पर्यटकहरूले पस्मिनाको सल बढी किन्छन् ।’


नेपाली हस्तकलाको उत्पादनलाई फस्टाउन सरकारले विशेष सहयोग गर्न आवश्यक रहेको रामेछापका धनलाल घिसिङ बताउँछन् । उनले २३ वर्षदेखि काठमाडौंमा थांका व्यवसाय सञ्चालन गरिरहेका छन् । उनी फाबा च्यांग्रेसी थांका आर्ट स्कुलका सञ्चालकसमेत हुन् । एउटा सामान्य थांकाको २ सय रुपैयाँ पर्छ भने ६ देखि ७ वर्ष लगाएर बनाएका थांकाको मूल्य भने लाखौं रुपैयाँभन्दा बढी पर्ने उनले बताए ।


‘नेपाली हस्तकलाको उत्कृष्ट नमुना हो नेपाली थांका,’ घिसिङले भने, ‘तर अहिले यसको बजार घटदै गएको छ ।’ थांकामा बुद्धसँग सम्बन्धित इतिहास समेटिएको हुन्छ । नेपालमा भने थांका कलाको महत्त्व नबुझेको उनले गुनासो पोखे ।


निरञ्जन गारमेट एन्ड ह्यान्डी क्राफ्टका मादप पाण्डेले २२ वर्षदेखि नेपाली कपडा व्यवसाय सञ्चालन गर्दै आएका छन् । ‘विदेशी पर्यटकले नेपालीको हातबाट बनेका वस्तु मन पराउँछन्,’ उनले भने, ‘यसको विदेशमा बेग्लै महत्त्व छ, त्यसैले नेपालीको हातबाट बनेको वस्तुप्रति आकर्षण छ ।’


सामान्य टिर्सटको दुई सय रुपैयाँदेखि लिएर कपडाको गुणस्तरअनुसार एक हजार रुपैयाँसम्म पर्ने भएकाले अहिले आएर नेपालीहरूले पनि मनपराएको पाण्डेले बताए । भने, ‘नेपालीहरूले पनि बिस्तारै मन पराइरहेका छन् । किनभने यो कटनबाट बनेको हुन्छ, त्यसैले यसको विशेषता भनेको गर्मीका लागि चिसो र जाडोका लागि न्यायो हुनु हो ।’


विकास वस्तीले ठमेलमै बज्र पस्मिना ह्यान्डीक्राफ्ट सञ्चालन गरिरहेका छन् । उनले १५ वर्षदेखि पस्मिना हस्तकलाको व्यवसाय गरिरहेका हुन् । ‘नेपालमा पहिले तिब्बतबाट ल्याएको च्यांग्राको रौंसहितको छालालाई प्रशोधन गरेर पस्मिना तयार गरिन्थ्यो,’ उनले भने, ‘अहिले भने त्यो प्रचलन हटेर थानको धागोलाई पस्मिना, सिल्क, उल र कटनसँग मिसाएर तयार गरिन्छ ।’ मंगोलियाबाट धागो आयात गरी पस्मिनाको सल तयार गरिने वस्ती बताउँछन् ।


प्योर पस्मिनाको एक ग्रामको २५ र सस्तो मिसावट भएको १५ रुपैयाँ पर्ने वस्तीले बताए । ‘समरमा लगाउने पस्मिना ७० ग्रामको हुन्छ,’ उनले भने, ‘जाडोमा लगाउने पस्मिना एक सयदेखि ढेड सय ग्रामको हुन्छ ।’ बजारमा पाइने मिसावट भएको पस्मिनाको मूल्य न्यूनतम तीन सय रुपैयाँदेखि तीन हजार रुपैयाँ पर्ने तर प्योर पस्मिनाको कम्तीमा दुई हजारदेखि दस हजार रुपैयाँसम्म पर्ने उनले बताए ।


पस्मिना ह्यान्डीक्राफ्टसका जेसन डाबरले १२ वर्षदेखि पस्मिना सलको व्यवसाय चलाइरहेका छन् । ‘पस्मिना सल, कटन सल र कढाइ (एम्ब्रोडरी) सल विदेशीले किन्न मनपराउँछन्,’ उनले भने, ‘नेपाली उत्पादनको गुणस्तर राम्रो भएकाले चाइनिज र इन्डियन मेडमा रुचि त्यति देखाउँदैनन्, त्यसैले नेपाल मेड लेखेको सामान खोज्छन् ।’


जुनै विदेशी पर्यटक आए पनि सबैले नेपाली हातबाट बनेको वस्तु नै रुचाउने गरेको १० वर्षदेखि आर्ट क्राफ्टको व्यवसाय गर्दै आएका नेपाल आर्ट एन्ड क्युरियोका व्यवसायी कृष्णबहादुर सेढाईले बताए ।

प्रकाशित : असार ५, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?