कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

टेलिकमलाई मोबाइल मनी खोल्ने तयारी

दुई ठूला कम्पनीले अब राष्ट्र बैंकबाट स्वीकृति लिएर यो सेवा सुरु गर्न सक्छन् 
विजय तिमल्सिना

काठमाडौँ — नगद कारोबार गर्न नचाहनेका लागि अहिले विभिन्न विकल्प छन् । मोबाइल बैंकिङ सुविधा लिएकाहरूले आफ्नो खाता रहेको बैंकको एपमार्फत रकम भुक्तानी गर्ने सुविधा लिइरहेका छन् । इसेवा, खल्ती, आईएमई पेजस्ता भुक्तानी सेवा प्रदायकका ग्राहकले पनि यस्ता सुविधाको उपभोग गरिरहेका छन् ।

डिजिटल कारोबारमा अब चाँडै नै नयाँ सुविधा थपिने भएको छ । नेपाल टेलिकम र एनसेल दुवैले मोबाइल मनी सेवा सञ्चालनमा ल्याउने तयारी गरेका छन् । दुवै कम्पनीलाई यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृति दिएको हो ।


प्राधिकरणको सञ्चालक समितिले जेठ १४ गते नेपाल टेलिकम र २५ गते एनसेललाई मोबाइल मनी सञ्चालनका लागि सहायक कम्पनी स्थापना गर्ने स्वीकृति दिएको हो । दुवै कम्पनीले अब राष्ट्र बैंकबाट मोबाइल मनी सञ्चालन गर्ने स्वीकृति लिई सेवा सुरु गर्न सक्छन् । दुवै कम्पनीले मोबाइल मनी सञ्चालनका लागि सहायक कम्पनी खोल्न स्वीकृतिका लागि निवेदन दिएकाले दुवै कम्पनीलाई अनुमति दिइएको प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।


नेपाल टेलिकमले भने सरकारी स्वामित्वको अर्को संस्था राष्ट्रिय वाणिज्य बैंकसँग मोबाइल मनी सेवा सुरु गर्न समझदारी गरिसकेको छ । सरकारी लगानी भएका दुवै संस्थाले संयुक्त रूपमा सहायक कम्पनी सञ्चालन गरी मोबाइलको ब्यालेन्सबाटै भुक्तानी गर्न मिल्ने सेवा सुरु गर्न लागेका हुन् ।


सीमित प्रयोगकर्तामाझ लोकप्रिय रहेको डिजिटल भुक्तानी सेवामा टेलिकम र एनसेलको प्रवेशसँग यसको प्रभावकारिता थप बढ्ने अनुमान छ ।


अहिले मोबाइलको ब्यालेन्जसबाट आफ्नो सेवा प्रदायकले दिने विभिन्न डाटा प्याकेज मात्रै किन्न मिल्छ । अबको केही महिनामा भने मोबाइलका प्रयोगकर्ताले आफ्नो ब्यालेन्सबाटै पसलमा सामान खरिद गरेर पैसा तिर्न, विद्युत् महसुलसहित विभिन्न सेवाको शुल्क तिर्न सक्नेछन् ।


मोबाइलको ब्यालेन्सबाट सामान खरिदबाट रकम तिर्न सकिने सेवा नेपाल टेलिकमले सञ्चालन गर्ने भएको छ । यस्तो सेवाको सुरुवातसँगै मोबाइल नम्बर नै एक खाताजस्तो हुनेछ ।


मोबाइल मनी सञ्चालनका लागि टेलिकमले भविष्यमा उत्पादन गर्ने सिम मोड्युलमा नै यसलाई सपोर्ट गर्ने प्रविधि जडान गर्ने योजना बनाएको छ ।


मोबाइल सेवातर्फ मात्रै टेलिकमका करिब २ करोड ग्राहक छन् । एनसेलको ग्राहक आधार १ करोड ६४ लाख रहेको दूरसञ्चार प्राधिकरणको तथ्यांकमा उल्लेख छ । दुवै टेलिकम कम्पनीबाट सिम लिनेहरूको संख्याको आधारमा यो तथ्यांक निकालिएको भए पनि दुवै कम्पनीका सक्रिय प्रयोगकर्ताको संख्या भने योभन्दा निकै कम रहेको छ ।


मोबाइल ग्राहकले सजिलै आफ्नो नम्बरमार्फत यस्तो सेवा प्रयोग गर्न सक्ने भएकाले यो बढी प्रभावकारी हुने अनुमान छ । टेलिकम कम्पनीहरूले यस्तो सेवा सुरु गरेपछि अहिले चल्तीमा रहेका डिजिटल वालेट र डिजिटल भुक्तानी सेवा प्रदायकका लागि पनि प्रतिस्पर्धा बढ्नेछ ।

प्रकाशित : असार ५, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?