३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

पर्यटन समिति गठनमा असन्तुष्टि

काभ्रे — नेपाल भ्रमण वर्ष २०२० का लागि गठन गरिएको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिप्रति सम्बद्ध व्यवसायीले आपत्ति जनाएका छन् । सरोकारवालाबिनै सीमित जिल्लाको प्रतिनिधित्व हुने गरी प्रदेशस्तरीय समिति गठन भएको भन्दै होटल तथा पर्यटन क्षेत्र सम्बन्ध व्यवसायीले विरोध जनाएका हुन् । 

‘भ्रमण वर्ष सफल बनाउन होटल तथा पर्यटन क्षेत्रको प्रतिनिधित्व अनिवार्य थियो, पर्यटन क्षेत्रसँग असम्बन्धित मानिसलाई समितिमा राखिएको छ,’ होटल तथा पर्यटन व्यवसायी संघका प्रदेश ३ अध्यक्षसमेत रहेका नुवाकोटका व्यवसायी सन्तोष उप्रेतीले भने, ‘सीमित जिल्लाको मात्रै प्रतिनिधित्व छ, प्रदेशका १३ वटै जिल्लाका मानिस नसमेटिएको समितिले कसरी काम गर्न सक्छ, भ्रमण वर्ष सफल बनाउन बाँकी जिल्लामा गतिविधि हुनुपर्दैन र ?’


संघीय सरकारले मुख्यमन्त्री डोरमणि पौडेलको संरक्षकत्वमा हुने समितिको अध्यक्षमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल र सहअध्यक्षमा प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल तोकेको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवले सदस्य सचिवका रूपमा काम गर्ने उल्लेख छ ।


निजी क्षेत्रका संस्थाका प्रतिनिधि भन्दै काठमाडौंका मेघ लामा, अनुज पाण्डे, होम पाठक र केशव बडाल, धादिङका राजेन्द्र सापकोटा र शिव लामिछाने, चितवनका सुमन घिमिरे र दोलखाका सुन्दर कार्कीलाई सदस्य तोकिएको छ । प्रदेशका १३ जिल्लामध्ये काठमाडौं, भक्तपुर ललितपुर, चितवन र मकवानपुरका उद्योग वाणिज्य संघलाई मात्रै सदस्य तोकिएको छ ।


नुवाकोट उद्योग वाणिज्य संघका उपाध्यक्ष उप्रेतीले सबै जिल्लाका उद्योग वाणिज्य संघ नसमेटिनु खेदजनक भएको बताए । ‘प्रदेशको पर्यटन प्रवर्द्धनका लागि हामी लागिरहेका छौं तर यस्ता कार्यक्रममा हाम्रो संस्थागत प्रतिनिधित्व छैन,’ उनले भने ।

प्रकाशित : असार ९, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?