सोलुमा घट्याे 'तोकमारु’

महाकुलुङ गाउँपालिकाका केही गाउँमा झन्डै सय रोपनी जग्गामा मार्सी धान लगाइन्थ्यो, अहिले घटेर ६० देखि ६५ रोपनीमा सीमित भएको छ
कुम्भराज राई

ओखलढुंगा — सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा मार्सी धानको उत्पादन घटेको छ । वडा–३ छेस्काम क्षेत्रमा खेती घटेको हो । छेस्काम, पिचिरिम, धिरित्ती, नम्सुर्बे, पञ्चाईदिखी, गेइमाई, हल्ला, लोक्चेस्कोलगायत गाउँमा मार्सी धान खेती हुने गर्छ । स्थानीय भाषामा यसलाई ‘तोकमारु’ समेत भनिन्छ ।

सोलुमा घट्याे 'तोकमारु’

यसक्षेत्रमा मार्सी धान रोपिने खेत एक सय रोपनी हाराहारीमा छ । हाल खेती घट्दै गएपछि ६० देखि ६५ रोपनीमा सीमित भएको स्थानीय चतुर कुलुङले बताए । धान पाक्न छ महिनासम्म लाग्ने र प्रतिफल कम दिने भएपछि स्थानीयले मार्सी लगाउन छोडेका हुन् । ‘धेरैले मार्सी धान फल्ने खेत मासेर अलैंची लगाएका छन्,’ कुलुङले भने, ‘यसको किनबेच यहाँ हुँदैन । कसैले बजार मूल्यबारे पनि जानकारी राखेका छैनन् । त्यसैले खेती घट्दो क्रममा छ ।’


समुद्री सतहदेखि १ हजार ९ मिटरदेखि २ हजार मिटरको उचाइमा मार्सी धान फल्ने गरेको स्थानीयको भनाइ छ । जेठदेखि सुरु भएको रोपाइँ अहिले अन्तिम चरणमा रहेको स्थानीय किशोर कुलुङले बताए । ‘जुम्लातिर मार्सीको मूल्य राम्रो छ रे व्यापार हुन्छ रे भन्ने सुनेका छौं,’ उनले भने, ‘हाम्रोतिर भने अहिलेसम्म किनबेच भएको छैन । किसानले राम्रै मूल्य पाउने रहेछन् भने त पक्कै व्यापारिक प्रयोजनका लागि पनि रोपिन्थ्यो होला ।’


हाल गाउँमै पनि सडकका कारण आयातित चामल धेरै बिक्री हुने गरेको स्थानीयको भनाइ छ । वैदेशिक रोजगारीमा जाने र पैसाले बजारको चामल किनेर खाने चलन बढेपछि मार्सी रोप्ने कृषकको संख्या बर्सेनि घटेको उनीहरूले बताए । रातो चामलका रूपमा समेत परिचित मार्सी धानबाट स्थानीयले खाना, जाउलो र रोटीको परिकार बनाउछन । अन्य चामलभन्दा स्वादिलो भएकाले यसको महत्त्व भने धेरै पहिलदेखि रहेको कृषकले बताए ।


कृषि ज्ञान केन्द्र सोलुखुम्बुलाई समेत जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रमा मार्सी धान फल्छ भन्ने जानकारी छैन । ज्ञान केन्द्रका प्रमुख झलकनाथ कँडेलले आफूलाई यस विषयमा औपचारिक जानकारी नभएको बताए ।


‘भर्खरै मात्र हामी महाकुलुङकै कृषिसम्बन्धी योजना बनाउने बृहत् कार्यक्रममा सहभागी भएर फर्कियौं,’ प्रमुख कँडेलले भने, ‘यस विषयमा कुनै स्थानीय र कृषकले जानकारी गराउनु भएन ।’ उनले आफ्ना प्राविधिकमार्फत बुझेर मार्सी धान फल्ने क्षेत्रबारे अध्ययन गर्ने बताए ।

प्रकाशित : असार ९, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?