कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

चैते धानबाट बिचौलियालाई फाइदा

कृषकबाट १५ सयदेखि १५ सय ७५ रुपैयाँ प्रतिक्विन्टल दरमा किनेको धान बिचौलियाले मिलमा पुर्‍याएर १८ सय रुपैयाँमा बिक्री गर्छन्
देवनारायण साह

मोरङ — चैते धान उत्पादन गर्ने किसान बिचौलियाबाट ठगिँदै गएका छन् । सबैभन्दा बढी नाफा बिचौलियाले नै लिने गरेको पाइएको छ । उत्पादन गर्ने किसान भने हेरेका हेर्‍यै छन् । कृषकबाट १५ सयदेखि १५ सय ७५ रुपैयाँ प्रतिक्विन्टलका दरमा किनेको धान बिचौलियाले मिलमा पुर्‍याएर १८ सय रुपैयाँमा बिक्री गरिरहेका हुन् ।

चैते धानबाट बिचौलियालाई फाइदा

गाउँमा व्यापारीले कृषकलाई धानको तौलमा समेत ठगी गरिरहेका छन् । भारतबाट ल्याएको डिजिटल काँटामा प्रतिमन (४० किलो) मा २ देखि ५ किलोसम्म बढी धान तौलेर ठगी गरिरहेको स्थानीयले बताए । रंगेली नगरपालिका ५ का कृषक सुरेन्द्र मण्डलले ५४ कट्ठामा लगाएको चैते धान यस वर्ष राम्रो उत्पादन हुने अनुमान थियो ।


उनले तौलमा व्यापारीले ठगी गरिरहेकाले धर्मकाँटामा तौल गर्ने सर्तमा स्थानीय व्यापारी नन्दलाल मण्डललाई प्रतिक्विन्टल १५ सय ७५ रुपैयाँको दरमा बिक्री गरेको बताए । उनले घुटराज प्रजातिको ३५ मन धान तौलेर र बजरंगी प्रजातिको धान तौल नगरी बोरामा भरेर व्यापारीलाई दिएको सुनाए ।


‘मैले ३ सय ४० मन जति धान हुने अनुमान गरेको थिए । तर, नन्दलालले ३ सय १४ मन ३५ किलो मात्रै तौल आएको बताउनुभयो,’ मण्डलले भने, ‘धर्मकाँटाको बिलमा आफूले अनुमान गरेअनुसारै ३ सय ३५ मन ३५ किलो तौल उल्लेख छ तर नन्दलालले २१ मन धान बाटोमा पनि ट्रकमा लोड गरेको भनेर ठग्न खोज्दै छ ।’ उनले व्यापारीले ठगी गरेकोबारे जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने तयारी गरेको बताए ।


उनले गत वर्ष पनि त्यत्तिकै जग्गामा लगाएको चैते धान ३ सय ८२ मन दाइँ गरेर बिक्री गरेको तर यस वर्ष व्यापारीले ठग्न खोजेको गुनासो पोखे । यस्तै कृषक रामानन्द मण्डलले पनि ९ बिघा जग्गामध्ये २ बिघामा लगाएको चैते धान २ सय २० मन फलेको बताए ।


‘चैते धान असार लागेपछि काटेकाले तत्काल बिक्री गर्नुपर्ने बाध्यात्मकस्थितिको व्यापारीले फाइदा उठाएर कम मूल्यमा खरिद गरे,’ उनले भने, ‘सबैको १५ सय ७५ रुपैयाँ प्रतिक्विन्टल दरमा खरिद गरिरहेको धान मेरोमा भने १५ सयको दरले मात्रै खरिद गर्‍यो ।’ आफ्नो आँगनमा सुकाउने ठाउँ नभएको र वर्षा हुन सुरु भएकाले व्यापारीले मूल्य घटाएर खरिद गरेको उनले गुनासो पोखे ।


‘सबै कृषकले चैते धान कम्पन मेसिनले काटदा परालजति खेतमै रहन्छ । धान मात्रै घर ल्याउँछन्,’ उनले भने, ‘प्रतिकट्ठा ५/७ मनका दरले उत्पादन भएको धान कुनै पनि कृषकको भण्डारण गर्ने क्षमता हुँदैन किनकि काँचो धानलाई सुकाएर मात्रै भण्डारण गर्न मिल्छ ।’


वर्षाको समय सुरु भएपछि पाक्ने चैते धान गाउँमा सुकाउने ठाउँ पनि नहुने गरेकाले सबै कृषकले एकैपटक बिक्री गर्न बाध्य हुने गरेको स्थानीय युगेस मण्डलले बताए । ‘कृषकलाई बिक्री गर्नैपर्ने बाध्यात्मक अवस्थामा व्यापारीले मनोमानी रूपमा ठगी गर्दै आएका छन् र त्यसका लागि बोलिदिने कोही छैनन्,’ उनले भने, ‘व्यापारीले धान तौलमा समेत ठगी गरिरहेका छन् । तर, नियामक निकाय काँटा जाँच्न अहिलेसम्म आएको थाहा छैन ।’


नाप तौल विभागले काँटा जाँच गरेर ठग्ने व्यापारीलाई कारबाही गर्नुपर्ने मण्डलले बताए । उनले सरकारले एकातिर खेत बाँझो राख्नेलाई कारबाही गर्ने कानुन ल्याएको छ । अर्कोतिर असुविधै असुविधाका बीच खेती गर्ने किसान ठगीमा पर्नु कत्तिको जायज हो भन्दै प्रतिप्रश्न गरे ।


मण्डलले आफूहरूले स्थानीय व्यापारीलाई १५ सय प्रतिक्विन्टल बिक्री गरेको धान ठूला व्यापारीले १७ सयमा खरिद गरेर विराटनगरस्थित दलाल मण्डीमा १८ सयमा बिक्री गर्ने गरेको बताए । दलालले राइस मिललाई मुनाफा खाएर बिक्री गर्ने गरेको उनको भनाइ थियो ।


‘गाउँमा कुनै किसानकहाँ धान खरिदका लागि एउटा व्यापारी आइसकेपछि अर्को व्यापारी मरिगए पनि आउँदैनन्,’ उनले भने, ‘धान खरिद गर्ने व्यापारीहरूले सिन्डिकेट लगाएर मनोमानी रूपमा धान खरिद गरिरहेका छन् ।’ आफूहरूले राइस मिलमा गएर धान बिक्री गर्नै नसक्ने अवस्था रहेको मण्डलको भनाइ थियो ।


‘राइस मिल र धानको मूल्य विराटनगरस्थित मन्डीका दलालहरूको हातमा हुन्छ,’ उनले भने, ‘मिलले दलालमार्फत र दलालले ठूला व्यापारीमार्फत साना व्यापारी परिचालन गरेर धान खरिद गर्ने चलन बनाएका छन् ।’ मुलुकभरमा विराटनगर, वीरगन्ज र भैरहवामा रहेको दलाल मन्डीले कृषिजन्य उत्पादनको मूल्य तोक्ने गरेको छ । कृषिजन्य वस्तुको बजार उनीहरूकै मुठ्ठीमा रहेको स्थानीय एक व्यापारीले बताए ।


सरकारले धानलगायतका कृषिजन्य उत्पादनको मूल्य तोक्नुपर्ने र कृषकले गरेको उत्पादन खरिद गर्ने व्यवस्था गर्न कृषकहरूले माग गरे । ‘सरकारले कृषिजन्य उत्पादनको मूल्य तोक्ने र खरिद गर्ने व्यवस्था नगरेसम्म खेत बाँझो राख्न नपाउने कानुनको औचित्य हुँदैन,’ उनले भने, ‘कानुन बनाएर मात्रै हुँदैन, त्यो सँगसँगै कृषकलाई सुविधा दिएर पनि खेतीतर्फ आकर्षित गर्ने सरकारी नीति आवश्यक छ ।’ जिल्लास्थित रंगेली, डायनिया, सिजुवा, इटहरा, बैरवन, केरौन, डाँगीहाट, मधुमल्ला, पथरी, केराबारी, सुन्दरहरैचा, बुधनगरलगायतमा चैते धान खेती हुँदै आएको छ ।


कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय मोरङका प्रमुख रामदेव सिंहले जिल्लामा यस वर्ष १ हजार २ सय हेक्टरमा चैते धान खेती भएको बताए । उनले भने, ‘चैते धान खेती गर्ने कृषकलाई ५० प्रतिशत बीउमा अनुदान र लाइन लगाएर धान रोप्ने कृषकलाई प्रतिहेक्टर १० हजारका दरले अनुदान दियौं ।’


मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले यसबारे नापतौल कार्यालयलाई खटाएर काँटाको जाँच गराउने र सिन्डिकेट लगाउने व्यापारीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए । प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले कृषकहरूलाई भइरहेको ठगीको विषयमा तत्काल छानबिन गर्ने प्रतिबद्धता जनाए । उनले ठगी गर्ने जोसुकै व्यापारीलाई कारबाहीको दायरामा ल्याएर कृषकलाई न्याय प्रदान गर्ने बताए ।

प्रकाशित : असार ९, २०७६ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?