१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तरकारीका १० ट्रक छुटे

रूपन्देही / नेपालगन्ज — सुनौली भन्सारमा रोकिएका आलु र प्याजका १० वटा ट्रक सोमबार नेपाल भित्रिएका छन् । भन्सार कार्यालयले परीक्षण गर्नुपर्ने वस्तु उल्लेख गरी पठाएका नमुनामा विषादीमुक्त भएको रिपोर्ट आएपछि गाडी छाडिएका हुन् ।

काठमाडौंस्थित विषादी अवशेष विश्लेषण प्रयोगशालाले त्यस्तो रिपोर्ट दिएपछि भन्सार तिरेर रोकिएका १० गाडी नेपाल भित्रिएका छन् ।


विषादी अवशेष परीक्षणमार्फत पाइने प्रमाणपत्र हेरेर मात्र भारतीय तरकारी र फलफूल लिएर आएका गाडी छोड्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असार २ गते सूचना जारी गरी परिपत्र गरेको थियो । भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले पहिले नै भन्सार तिरेर बसेका र कुहिने अवस्थामा पुगिसकेकाले गाडी छाडिएको जानकारी दिए । उनले भने, ‘फलफूल र अन्य तरकारीको पनि नमुना परीक्षणका लागि पठाइएको छ । रिपोर्ट आएलगत्तै छाड्नेछौं ।’


नाकामा ४ सय ४० टन तरकारी र फलफूल रोकिएको बुटवल कृषि उपज तथा थोक बजार केन्द्रका अध्यक्ष कलाधर पन्थीले बताए । ‘आयात रोकिँदा व्यवसायी अलि चिन्तामा छन्,’ उनले भने, ‘नेपाली किसानले भने बजार पाएका छन् ।’ भारतमा निर्भर नहुने हो भने पनि नेपालमा आलुको राम्रो उत्पादन हुने थाहा पाएको उनले सुनाए ।

नेपालका सल्यान, पालुङ, कपुरकोट, रोल्पाबाट आएको आलुले नै बजार चलिरहेको उनले बताए । आलु र प्याज कुहिने त्यति डर नभएको भन्दै उनले यो सिजनमा आउने अनार र टमाटरका गाडी रोकिएमा समस्या हुने बताए । भन्सारमा गाडी रोकिएपछि आँपको मूल्य भने केही वृद्धि भएको जनाए । नेपाली आँप सकिएको र भारतीय आँप महँगोमा व्यापारीले बेचिरहेको उनले जानकारी दिए ।


बुटवलस्थित गोपाल आलु भण्डारका सञ्चालक घनश्याम भुसाल भने आलु र प्याज बेलैमा नआउँदा चिन्तित छन् । ‘राजपत्रमा सूचना आएपछि सञ्चारमाध्यमबाट थाहा पाउनुपर्थ्यो,’ उनले भने, ‘यस्तो अवस्था हुने जानकारी भएको भए माल अर्डर गर्दैनथ्यौं ।’ उनले गाडी आई अनलोड गरेपछि मात्र तरकारीको अवस्था कस्तो छ भनेर थाहा पाइने बताए ।


जनशक्ति अभाव

नेपालगन्जस्थित विषादी द्रुत विश्लेषण एकाइमा जनशक्ति अभाव भएको छ । यसअघि खासै काम नहुने कार्यालयमा अहिले चाप छ ।


नयाँ व्यवस्था पछि परीक्षणका लागि आउने फलफूल र तरकारीको चाप बढेको विषादी द्रुत विश्लेषण एकाइका प्रमुख सकिल अहमदले बताए । ‘आइतबार आएका ११ वटा नमुना परीक्षण गरी पठाएको छु,’ उनले भने, ‘सोमबार पनि २२ वटा ट्रकका ४० वटा नमुना परीक्षणका लागि आएका छन् ।’


कामको चाप बढे पनि अहमद एक्लै छन् । चाप थेग्न थप ४ जना कर्मचारी आवश्यक पर्ने उनले बताए । ‘एउटा नमुना परीक्षणका लागि २० मिनेटसम्म लाग्छ,’ उनले भने, ‘परीक्षणका लागि आउने नमुना बढ्दै जाने हो भने थप कर्मचारी आवश्यक पर्छ ।’

प्रकाशित : असार १०, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?