कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किस्पाङमा दूध बिक्न थाल्यो

कृष्ण थापा

काउले, नुवाकोट — किस्पाङ गाउँपालिका २ ताजी र ३ काउलेमा केही वर्षअघिसम्म गाईभैंसीको दूध बेच्ने चलन थिएन । स्थानीय आफैं खान्थे र घरमा आएका पाहुनालाई खुवाउँथे । अहिले भने यी दुई गाउँ फेरिएका छन् । गाउँमा पशुपालन गर्ने किसान बढेका छन् भने दूध बिक्रीको बाटो पनि खुलेको छ ।

‘अहिले गाउँमै दूध बिक्री हुन थाल्यो,’ किस्पाङ २ ताजीका प्रीतिमान तामाङले भने, ‘पहिला दही बनाउँथ्यौं । घिउ फाट्टफुट्ट बेचिन्थ्यो । अब त दूधै बेच्न थालियो ।’ प्रीतिमान अहिले गाईपालनमा व्यस्त छन् । उनले ३ वटा जर्सी गाई पालेका छन् । दैनिक २०/२२ लिटर दूध नजिकको संकलन केन्द्रमा लगेर बेच्छन् ।


‘स्याहार गर्न गाह्रो छ,’ उनले भने, ‘भैंसीभन्दा गाईले धेरै दूध दिने रहेछ ।’ वडा ३ काउलेका मोहन तामाङको पनि त्यस्तै भनाइ छ । ‘दूध बेचिँदैनथ्यो,’ उनले भने, ‘घरमै खाइथ्यो, बचेको दूधको दही बनाएर घिउ निकाल्थ्यौं ।’ गाउँमा दूध बेच्न थालेको तीन महिना मात्रै भएको उनले सुनाए ।


दूध उत्पादनबाट गाउँमै आम्दानी हुन थालेपछि स्थानीयवासी पशुपालनतर्फ आकर्षित भएका छन् । मोहनले ११ वटा गाई पालेका छन् । तिनमा ५ वटा गाई दुहुना छन् । दैनिक ३०–३५ लिटर दूध नजिकको संकलन केन्द्रमा लगेर बेच्छन् । १२ वर्षअघि मोहनले काठमाडौमा बंगुर र माछापालन गर्थे ।


त्यसबाट खासै आम्दानी नभएपछि गाउँ फर्किए । सबैको सल्लाहले काठमाडौंबाट गाई किनेर ल्याए । ‘यहीँ आम्दानी हुने देखेर काठमाडौं फर्किनँ,’ उनले भने, ‘गाउँमा आम्दानी हुने रहेछ ।’ प्रीतिमानजस्तै उनले पनि तीनपटक गाईको दूध दुहेर शुभ नव बिहानी कृषि सहकारी संस्थामार्फत सञ्चालित संकलन केन्द्रमा बिक्री गर्दै आएका छन् । गाईको दूधमा चिल्लोपना कम हुन्छ ।


‘काठमाडौंमा बंगुर र माछापालन गरें,’ मोहनले भने, ‘त्यसबाट खासै आम्दानी देखिएन ।’ उनले बारीमा १४ सय कफीका बोट रोपे । त्यसबाट पनि केही हात नलागेपछि गाईपालनमा खिचिएका हुन् । अहिले मासिक ४०–५० हजार आम्दानी गर्छन् । संस्थामा ४७ जना किसानले दूध बिक्री गर्न ल्याउने अध्यक्ष क्षेत्रबहादुर तामाङले बताए ।


संस्थाले ३ महिनादेखि दूध संकलन गरी दूध, दही र पनिर बनाएर बिक्री गर्दै आएको छ । गाउँमा दुधालु पशु संख्या वृद्धि गराउन पशु बिमासमेत थालिएको किस्पाङ गाउँपालिका पशु विकास शाखाका श्रीकृष्ण बजगाईंले बताए ।

प्रकाशित : असार १०, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?