नाकामा तरकारी रोकेर काठमाडौंमा परीक्षण 

भन्सार नाकामै परीक्षण हुनुपर्नेमा व्यापारी आफैंले कालीमाटीमा नमुना ल्याएर परीक्षण गरी फेरि भन्सारमा रिपोर्ट पठाइरहेका छन् 
राजु चौधरी

काठमाडौँ — सरकारले तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गरेपछि व्यवसायीले उपत्यकामा ल्याएर परीक्षण सुरु गरेका छन् । आयातीत तरकारी भन्सार नाकामै थन्किएपछि उनीहरू स्वयंले कालीमाटी तरकारी बजारमा रहेको विषादी परीक्षण इकाईमा नमुना परीक्षण सुरु गरेका हुन् ।

नाकामा तरकारी रोकेर काठमाडौंमा परीक्षण 

‘तरकारी नाकामा रोकिएपछि भैरहवा भन्सार कार्यालय, क्वारेन्टाइन कार्यालय र नेपालगन्ज भन्सार कार्यालयबाट नमुना आएका छन् । सोमबारमात्रै करिब ६२ नमुना परीक्षण गरेर रिपोर्ट पठाएका छौं,’ कालीमाटी विषादी परीक्षण इन्चार्ज जागेश्वर शर्माले भने, ‘२५ नमुना परीक्षणकै क्रममा छ । थप नमुना आउनेक्रम जारी नै छ ।’


सोमबार परीक्षण गरिएको तरकारी तथा फलफूलमा विषादीको मात्र न्यून देखिएको उनले बताए । ‘परीक्षणका लागि आँप, मौसम, कागती, टमाटर लगायतको नमुना थियो । धेरैजसो आँप र केरा काँचो नै आयात हुने रहेछ,’ उनले भने, ‘रिपोर्टमा खानयोग्य नै देखिएको छ ।’


सरकारले निकासी पैठारीसम्बन्धी आदेश असार २ गते राजपत्रमा प्रकाशित गरिसकेको छ । सूचित आदेशमा ताजा फलफूल तथा तरकारी अनिवार्य परीक्षण गरेर मात्रै भित्र्याउनुपर्ने उल्लेख छ । सरकारले बिना तयारी नै कानुन कार्यान्वयन गरेको छ । जसले गर्दा आयातीत ताजा तरकारीहरू नाकामै रोकिएका छन् ।


‘कानुन कार्यान्वयन गर्नु अगाडि सरकारले विभिन्न नाकामा प्रयोगशाला र दक्ष कर्मचारी खटाउनुपर्थ्यो,’ केन्द्रीय कृषि प्रयोगशालाका एक अधिकारीले भने, ‘तर, पूर्वाधार निर्माणबिनै कार्यान्वयन गर्न खोज्दा सामान भन्सारमै रोकियो ।’


तरकारी तथा फलफूल नाकामै रोकिदा त्यसको असर स्वयं व्यापारी र उपभोक्तालाई पर्छ । एक/दुई दिन नाकामा रोकिँदा ताजा तरकारी तथा फलफूलमा असर पर्छ । व्यापारीले त्यसको भार उपभोक्तलाई थोपर्छ । यी विषयमा सरकारले चासो नदिएको कृषि विभाग तथा खाद्य प्रविधि गुण नियन्त्रण विभागका कर्मचारीहरू बताउँछन् ।


शर्माका अनुसार कालीमाटीबाहेक झापाको बिर्तामोड, सर्लाहीको नवलपुर, पोखरा, बुटवल नेपालगन्जमा पनि क्वारेन्टाइन कार्यालय राखिएको छ । तर कर्मचारी अभावले प्रभावहीन छ । सञ्चालनमा हुन नसकेको कर्मचारीहरू बताउँछन् । ‘तरकारी तथा फलफूलहरू नाकामै परीक्षण गर्नुपर्छ । तयारी नहुँदा समस्या देखियो,’ उनले भने ।


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार तरकारी व्यवसायीसँगै आयातकर्ताहरू थिए । इकाईले परीक्षण गरेपछि सम्बन्धित निकायले नै इमेल गर्नुपर्छ । सोमबार समितिबाटै भन्सार कार्यालयमा इमेल गरेका गरिएको थियो । ‘तरकारी छुटाउन हतार भएकाले समितिकै इमेलबाट पठाइयो,’ उनले भने, ‘त्यसपश्चात् केही छुटे/छुटेन जानकारी भएन ।’


भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेका अनुसार तरकारी तथा फलफूल बोकेका ट्रकहरू विराटनगर, भैरहवा, वीरगन्ज, नेपालगन्ज नाकामा रोकिएका छन् । ट्रकहरूको संख्या यकिन हुन नसकेको उनले बताए । ‘रोकिएको ट्रक/कन्टेनरको संख्या कार्यालयले रिपोर्ट गरेका छैनन्,’ उनले भने, ‘तर, परीक्षणको प्रमाणपत्र नलिएकाले रोकिएका छन् । विषादी परीक्षणको रिपोर्ट पेस गरे कुनै अवरोध हुँदैन ।’ जानकारका अनुसार नाकामा प्रयोगशाला सरकारले नै राख्नुपर्छ ।


भन्सार प्रक्रियाअनुसार विषादी परीक्षण गरी कानुनी दायरा पूरा गर्नेलाई भित्रिन दिनुपर्छ । तर, सरकारबाटै ढिलासुस्ती भएको हो । सरकारबाट कुनै पहल नभएपछि तरकारी बिग्रन नदिन उनीहरूले कालीमाटीमा परीक्षण गराएका हुन् ।

प्रकाशित : असार १०, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?