कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विषादी परीक्षणपछि भित्रियो भारतीय तरकारी

पर्सा — आयातकर्ताले विषादी अवशेष परीक्षण रिपोर्ट ल्याएपछि वीरगन्ज भन्सार कार्यालयले भारतबाट आयातित फलफूल र तरकारीको जाँचपास थालेको छ । कार्यालयका सूचना अधिकृत मनीष महतोका अनुसार आयातकर्ताले सर्लाहीको नवलपुरस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा परीक्षण गराएर त्यसको प्रतिवेदन ल्याउन थालेपछि आयात खोलिएको हो ।

‘सोमबार राति करिब साढे ८ बजे नौवटा गाडी र आठवटा ट्रकमा तरकारी र फलफूल भित्रिएका छन्,’ उनले भने, ‘आयातकर्तालाई प्रयोगशालामा जान हामीले पत्रका साथ पठाइरहेका छौं, आलु–प्याजको हकमा पनि आयातकर्ताले यो परीक्षण गर्ने प्रयास गरी रहेका छन् ।’ प्लान्ट क्वारेन्टाइन परीक्षण वीरगन्जमै हुने भएकाले त्यसको हकमा समस्या छैन ।


यसअघि वाणिज्य विभागको परिपत्रअनुसार शुक्रबारदेखि भारतबाट हरियो तरकारी तथा फलफूलको आयात गर्दा प्लान्ट क्वारेन्टाइन र विषादी अवशेष परीक्षण गर्ने अनिवार्य व्यवस्थाले हरियो तरकारी र फलफूलको आयात ठप्प भएको थियो ।


वीरगन्ज नाका मुलुककै सर्वाधिक तरकारी तथा फलफूल आयात हुने नाका हो । भारतको बिहार, उत्तरप्रदेश, पश्चिम बंगाल, गुजरात राज्यबाट यो नाका हुँदै मौसमी तथा बेमौसमी हरियो तरकारी आयात हुन्छ ।

रतकै जम्मुकस्मिर तथा अन्य राज्यमा उत्पादित स्याउलगायत विभिन्न फलफूलसमेत यसै नाका भएर भित्रिने गरेको छ । यो नाका हुँदै सामान्यतया दैनिक ७ देखि १० गाडीसम्म हरियो तरकारी र फलफूल आयात हुँदै आएको छ ।

प्रकाशित : असार १०, २०७६ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?