२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

'बैंकले वित्तीय व्यवस्थापन गर्न सकेनन्’

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले कर्जा र निक्षेपबीच सन्तुलन मिलाउन नसकेको आरोप राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले लगाएका छन् । 

'बैंकले वित्तीय व्यवस्थापन गर्न सकेनन्’

बैंक तथा वित्तीय संस्थाले योजनाबद्ध रूपमा सम्पत्ति र दायित्वबीच तालमेल मिलाउन नसक्दा वित्तीय व्यस्थापनमा चुकेको उनको भनाइ थियो । ‘ठूला र राम्रा भनेका बैंकले पनि राम्रोसँग वित्तीय व्यवस्थापन गर्न सकेका छैनन्,’ उनले भने, ‘पढेलेखेका र अनुभवी व्यक्ति भएकाले ती संस्थामा त वित्तीय व्यवस्थापन राम्रो होला भन्ने लागेको थियो । बर्बादै रहेछ ।’


ग्रोथसेलरले बुधबार राजधानीमा आयोजना गरेको ‘इमर्जिङ इस्युज इन फाइनान्सियल सेक्टर’ विषयक अन्तरक्रिया कार्यक्रममा गभर्नर नेपालले यस्तो बताएका हुन् । बैंक तथा वित्तीय संस्थासँग दीर्घकालीन योजना नभएकै कारण समग्र वित्तीय प्रणाली उत्कृष्ट वित्तीय व्यवस्थापन हुन नसकेको उनले बताए ।


‘हामीले बैंकहरूसँग कर्जा र निक्षेपको योजना मागेका थियो,’ उनले भने, ‘धेरैले दिनै सकेनन् । वित्तीय व्यवस्थापनमा ठूला बैंकहरू पनि चुकेका छन् ।’ चालु वर्षमा राष्ट्र बैंकले २० प्रतिशत कर्जा विस्तारको लक्ष्य राखे पनि बैंकहरूले लक्ष्यभन्दा धेरै कर्जा विस्तार गरेकोतर्फ संकेत गर्दै उनले भने, ‘पहिलो त्रैमासमै ऋणको वृद्धिदर २४ प्रतिशत पुगिसकेको थियो, अहिले बल्ल २१ प्रतिशतमा झरेको छ । निक्षेपको वृद्धिदर लक्ष्यभन्दा कम छ ।’


अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्र पारदर्शी र अनुशासित भए पनि वित्तीय व्यवस्थापनमा चुकेकाले अपेक्षाअनुसार उपलब्धि प्राप्त भएको छैन,’ उनले भने । तीन वर्ष लगाएर बल्ल नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यार्डस (एनएफआरएस) लागू भएको उनले बताए ।


पछिल्लो समयमा वित्तीय क्षेत्रमा सूचना प्रविधिको जोखिम उच्च बन्दै गएको गभर्नर नेपालले बताए । नयाँ जोखिम बेवास्ता गर्दै बैंक तथा वित्तीय संस्था नाफाको पछि दौडिएको उनको आरोप छ । ‘सूचना प्रविधिमा उच्चस्तरीय सुधार गरी जोखिम न्यूनीकरणमा लाग्नुपर्नेछ,’ उनले भने, ‘त्यसलाई बेवास्ता गर्दै बैंकहरू सञ्चालक समितिले दिएको नाफाको लक्ष्य भेटाउने ध्याउन्नमा छन् ।’ वित्तीय क्षेत्रको स्थायित्व र दिगो विकासका लागि वित्तीय व्यवस्थापन अपरिहार्य रहेको उनको भनाइ थियो ।


मुलुकको आर्थिक वृद्धिमा बैंकिङ क्षेत्रको योगदान महत्त्वपूर्ण रहे पनि उच्च कर्जा विस्तारले आयात बढाएको राष्ट्र बैंक अनुसन्धान विमाग प्रमुख गुणाकर भट्टले बताए । बैंकिङ क्षेत्रको कर्जा वृद्धि र आयातबीच प्रत्यक्ष सम्बन्ध रहने भएकाले उच्च आयात वृद्धिको एउटा कारण उच्च कर्जा विस्तार पनि भएको उनको भनाइ थियो ।


‘सामान्यतया एक प्रतिशतले कर्जा विस्तार हुँदा ०.७२ प्रतिशतले आयात बढ्छ,’ उनले भने, ‘यसले मुलुकको बाह्य क्षेत्र पनि कमजोर बनेको छ ।’ बैंकिङ क्षेत्रले आशिंक रूपमा भए पनि सेयर बजार पनि प्रभावित भएको उनको भनाइ थियो । बैंकहरू आक्रामक रूपमा कर्जा विस्तारसँग आयात बढेकाले शोधनान्तर घाटा बढेको र चालू खातामा चाप परेको बताए ।


विगत तीन वर्षदेखि वित्तीय क्षेत्रले तरलता (लगानीयोग्य रकम) को अभाव खेप्दै आए पनि समग्र बैंकिङ क्षेत्रका प्रमुख सूचकहरू सकारात्मक रहेको बताए । ‘पुँजी पर्याप्तता अनुपात, खराब कर्जालगायत अनुपात औसतमा निर्देशित सीमाभन्दा माथि छन्,’ उनले भने, ‘बढदो प्रतिस्पर्धाले बजारमा चुनौती पनि थपेको छ ।’


कार्यक्रममा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का क्षेत्रीय प्रतिनिधि आन्द्रेस डब्लु बौरले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको गुणस्तरमा आशंका व्यक्त गरे । निक्षेपको तुलनामा कर्जा प्रवाह उच्च भएकाले त्यसमा इभरग्रिनिङको सम्भावना रहेको उनको भनाइ थियो । आक्रामक रूपमा ऋण विस्तार भए पनि खराब कर्जा निरन्तर रूपमा घटिरहनुलाई विश्वास गर्न नसकिने उनले बताए । बैंकका प्रमुख सूचकहरू सहज देखिए पनि उच्च ऋणको वृद्धिले समस्यामा पर्न सक्ने उनको भनाइ थियो ।

प्रकाशित : असार १२, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?