कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सीटीसी चियाको गुणस्तर खस्कियो

अर्जुन राजवंशी

बिर्तामोड — झापामा उत्पादन हुने सीटीसी चियाको गुणस्तर खस्किएको छ । चियाको नमुना परीक्षणका क्रममा सीटीसी चियाको गुणस्तर २५ प्रतिशतसम्म मात्र रहेको पाइएको छ । बुधबार भद्रपुरमा भएको टी टेस्टिङ (चियाको गुणस्तर परीक्षण) मा सीटीसी चियाको गुणस्तर सामान्य मात्र रहेको पाइएको हो । 

सीटीसी चियाको गुणस्तर खस्कियो

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडले चियाको गुणस्तर परीक्षण गरेको थियो । गुणस्तर परीक्षणमा जिल्लामा उत्पादन हुने केही कारखानाका बाहेक चियामा ५० प्रतिशत गुणस्तरसमेत नरहेको पाइएको छ । परीक्षणका लागि २१ वटा चिया कारखानाका चियाको नमुना राखिएको थियो ।


तीमध्ये दुईवटा इलाम र एउटा झापाको गरी तीनवटा अर्थोडक्स चियाको नमुनासमेत राखिएका थिए । १० अंकलाई सय प्रतिशत मानेर गुणस्तर परीक्षणपछि प्रत्येक कारखानाका चियालाई अंक दिइएको थियो ।


गुणस्तर परीक्षणमा ५ वटा कारखानाको चियाले मात्र ५० प्रतिशत अर्थात् ५ अंक प्राप्त गरेका थिए । एउटाले ४५ प्रतिशत, ६ वटाले ४० प्रतिशत, ४ वटाले ३५ प्रतिशत, दुई वटाको ३० प्रतिशत र तीनवटा कारखानाको चियाको गुणस्तर २५ प्रतिशत मात्र पाइएको थियो । सबैभन्दा बढी ५५ प्रतिशत अंक प्राप्त गरेको पृथ्वीनगरको रिलायन्स टी इन्डस्ट्रिज उत्कृष्ट भएको थियो । रिलायन्सलाई बोर्डले नगदसहित पुरस्कृत गरेको थियो ।


गुणस्तर परीक्षण कार्यक्रममा सुक्खा चियाको गुणस्तर, चियाको छोक्राको गुणस्तर, चियाको बास्ना, चियाको चम्किलोपना, चियाको रङ, चियाको गन्ध, मोटो–पातलो अवस्था, दूध मिसाएपछिको चियाको गुणस्तर मापन गरिएको थियो । भारत सिलिगुडीबाट आएका टी टेस्टर (चियाविज्ञ) बुद्धदेव आचार्यले चियाको गुणस्तर मापन गरेका थिए । पछिल्लो समय नेपाली चियाको गुणस्तरमा निकै गिरावट आएको गुनासो आएपछि बोर्डले गुणस्तर परीक्षण कार्यक्रम आयोजना गरेको हो ।


गुणस्तर मापनपछि टी टेस्टर आचार्यले नेपाली चियाको गुणस्तरमा ध्यान दिन चिया उद्योगीलाई आग्रह गरे । उनले उद्योगी गम्भीर बने चियाको गुणस्तर वृद्धि गर्न सम्भव रहेको बताए । ‘सामान्यतया चियाको गुणस्तर ठीकै भन्न सकिन्छ । तर, यत्तिकै अवस्थामा गुणस्तरीय चिया भनेर चित्त बुझाउन सक्ने अवस्था छैन,’ आचार्यले भने ।


उनले चियाको गुणस्तरप्रति नेपाली उद्योगीको ध्यानाकर्षण हुनु खुसीको कुरा भएको बताए । चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ताले यो वर्ष डेढ महिना लामो मजदुरको हडतालका कारण चियाको गुणस्तर खस्किएको बताए । उनले चियाको गुणस्तर वृद्धि गर्न हरियो पत्तीको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।


साना किसान झापाली चिया व्यवसायी संघका अध्यक्ष पूर्णबहादुर कार्कीले नेपाली चियाको गुणस्तर वृद्धि गर्न सरकारले गुणस्तर परीक्षण मासिक रूपमा गर्नुपर्ने माग राखे । ‘वर्षमा एकपटक नमुना परीक्षण गरेर चियाको गुणस्तर वृद्धि हुँदैन । यो कार्यक्रमलाई कम्तीमा मासिक रूपमा गर्नुपर्छ,’ उनले भने ।


बुधकरण टी इन्डस्ट्रिजका राजेन्द्रसिंह राजवंशीले चियाको गुणस्तर वृद्धि गर्न सरकारले पनि सहयोग गर्नुपर्ने धारणा राखे । चिया क्षेत्रलाई सरकारले आवश्यक मलखाद बिक्री वितरणमा रोक लगाएकाले चियाको गुणस्तर थप खस्किने उनले चिन्ता व्यक्त गरे ।

नेपाली चियाको गुणस्तर खस्किएकाले यो वर्ष उद्योगीहरू भारु ८० रुपैयाँ केजीका दरले चिया बिक्री गर्न बाध्य छन् ।

प्रकाशित : असार १२, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?