कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पोहोरजति रोपाइँ मुस्किल

राजु चौधरी

काठमाडौँ — दस दिन ढिलो सुरु भएको मनसुन र विभिन्न क्षेत्रमा देखिएको खडेरीका कारण पोहोरजति रोपाइँ मुस्किल हुने देखिएको छ । जानकारका अनुसार मनसुनको ढिलाइले तराईका केही खोलानाला सुकेका छन् । धान खेती हुने मुख्य क्षेत्र प्रदेश १, २, ३ र ५ मा पनि मौसमविदहरूले मनसुन कम हुने आकलन गर्दै आएका छन् । 

पोहोरजति रोपाइँ मुस्किल

यीबाहेक अन्य क्षेत्रमा पनि मनसुन सामान्य नै हुने उनीहरूको अनुमान छ । धान सिजनमै सिँचाइ, मल अभावकै कारण रोपाइँसगै उत्पादनमा पनि कमी हुने विज्ञहरू बताउँछन् ।


‘मनसुन र सिँचाइकै कारण पहाडमै पनि रोपाइँ सुरु भएको छैन । प्रदेश २ धानका लागि राजधानी नै हो, मौसम यस्तै रहे रोपाइँसँगै उत्पादनमा पनि असर गर्छ,’ अर्थविद् केशव आचार्यले भने, ‘धान उत्पादन घट्नु भनेको समग्र अर्थतन्त्रमा नै नकारात्मक हुनु हो ।’ कुल उत्पादनमध्ये सबैभन्दा बढी २७ प्रतिशत प्रदेश नम्बर २ मा उत्पादन हुन्छ । प्रदेश ५ र १ मा कुल उत्पादनको क्रमशः २२ र २१ प्रतिशत उत्पादन हुने अनुमान छ । कर्णाली प्रदेशमा सबैभन्दा कम २.६ प्रतिशत उत्पादन हुने गरेको छ ।


कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा शतप्रतिशत रोपाइँ भएको थियो । मनसुनकै कारण अघिल्लो वर्षको तुलनामा धानको उत्पादन ८.८९ प्रतिशतले बढेर ५६ लाख १० हजार टन पुगेको थियो । धान उत्पादन अहिलैसम्मको अत्यधिक रहेको मन्त्रालयको दाबी थियो । अहिले भने प्रभावकारी रूपमा रोपाइँ नै हुन सकेको छैन ।


आर्थिक वर्ष २०७४/७५ सम्म कृषियोग्य जमिन २६ लाख ४१ हजार हेक्टरमध्ये १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । यद्यपि स्रोतमा पानीको उपलब्धतामा कमी, जलस्थान्तरण तथा जलाशययुक्त बहुउद्देश्यीय आयोजनाहरूको कार्यान्वयनमा ढिलाइ हुँदा सिञ्चित क्षेत्रफलको करिब ३३ प्रतिशत जमिनमा मात्रै बाह्रै महिना सुविधा पुगेको अनुमान छ । आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म थप ३२१० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको दाबी छ ।


अरू सबै मनसुनकै भर हो । समयमै पानी नपर्दा खोला भरिँदैन । त्यसले सिँचाइ हुँदैन । विगत तीन वर्ष मनसुन राम्रो भएकाले धान उत्पादन राम्रो थियो । यस वर्ष ढिलाइ भएकाले उत्पादनमा घट्ने जानकारीहरू बताउँछन् । मन्त्रालयका सूचना अधिकारी विनोद भट्टराईका अनुसार असार १० गतेसम्म ११.६४ प्रतिशत मात्रै रोपाइँ भएको छ ।


अघिल्लो वर्ष यही अवधिमा १५.०९ प्रतिशत पुगेको थियो । ‘उच्च पहाडमा २६.३१ प्रतिशत, मध्य पहाडमा १५.१२ र तराईमा ९.५२ प्रतिशत रोपाइँ भएको छ,’ सूचना अधिकारी भट्टराईले भने, ‘समग्रमा हेर्दा तराईमा रोपाइँ केही कमी देखिन्छ ।’ मन्त्रालयका अनुसार तराईमा १० लाख ९४ हजार ६ सय ३६ हेक्टर खेती हुन्छ । मध्य पहाडमा ३ लाख ९९ हजार ६ सय ७५ हेक्टर र उच्च पहाडमा ५८ हजार १ सय हेक्टरमा खेती हुन्छ ।


‘वर्षमा लगभग सबै क्षेत्रमा हुन्छ । तराईतिर साउन अन्तिमसम्म लगाउँछ । बीचमा पानी कति पर्छ, त्यसले पनि असर गर्छ,’ उनले भने । जानकारका अनुसार मनसुन सक्रिय भए रोपाइँ हुन सक्छ । ढिला गरेर रोपाइँले धान पोटिलो हुँदैन । त्यसले तौल आउँदैन । धानविज्ञ भोलामान सिंह बस्नेतका अनुसार पहाडमा ढिलो रोपाइँ हुँदा चिसोले बाला नै झुल्दैन । बाला नझुल्दा धान चाँडै पाक्दैन ।

तराईको अवस्था पनि उस्तै प्रकारको हो ।


‘मनसुन ढिलाइ हुँदा बेर्ना नै बुढो हुन्छ । त्यसले प्रत्यक्ष उत्पादनमा असर गर्छ,’ बस्नेतले भने, ‘गत वर्ष समयै मनसुन हुँदा उत्पादनसँगै उत्पादकत्वमा पनि बढेको थियो । अहिले मुस्किल देखिन्छ ।’ सिँचाइ, मल, बीउ बर्सेनि समस्या हो । बजारमा मलको पनि अभाव छ । असारकै लागि तत्काल आउने सम्भावना पनि छैन । यी सबै कारणले धान उत्पादन घट्ने सकेत गर्छ । तर, सरकारबाट कुनै प्रकारको सुनुवाइ हुन सकेको छैन । हाल कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ । जसमध्ये धानको मात्रै करिब ७ प्रतिशत छ । धान उत्पादनमा हुने कमीले अर्थतन्त्रमा समेत नकरात्मक असर गर्ने विज्ञहरू बताउँछन् ।


‘बजेटले साढे ८ प्रतिशत आर्थिक वृद्धि भनेको छ । मौसमको अवस्था भनेकै जस्तो भए पनि साढे ८ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुँदैन । सोहीलाई आधार मानेर राजस्व उठाउने भनेको छ । वृद्धिदर कम हुने बित्तिकै राजस्वमा पनि असर पार्छ,’ अर्थविज्ञ आचार्यले भने, ‘त्यसैले यसको चौतर्फी असर छ ।’ गत वर्ष अत्यधिक उत्पादन हुँदा पनि महिनाकै २ अर्बको चामल आयात भएको थियो । धानकै उत्पादन घटदा आयातको अवस्था थप भयावह हुने जानकारहरू बताउँछन् । धान उत्पादनको कमीले किसानको आम्दानी पनि घटाउँछ ।


कृषि खेतीका लागि लिएको ऋण तिर्न समस्या हुन्छ । गरिबहरू झन् गरिब बनाउँछ । ‘अर्थतन्त्रमा व्यापार घाटा बढाउनेदेखि समग्र मागमा संकुचन ल्याउँछ,’ उनले भने । कृषि विभागका नि. महानिर्देशक रेवती रमण पौडेलले सिँचाइ, धानको गुणस्तर बीउ प्रतिस्थापन दर न्यून र माटोमा प्रांगारिक पदार्थ न्यून हुँदा उर्वराशक्ति कमजोर हुँदा उत्पादकत्व वृद्धि हुन नसकेको बताए । मौसमी प्रतिकुलताका कारण धान सिजनमा अतिवृष्टि, रोग किराको महामारीलगायत समस्याले पनि उत्पादन प्रभावित हुने गरेको बताए ।


धान दिवस बर्दियामा मनाइने

सरकारले यस वर्ष धान दिवस तथा रोपाइँ महोत्सव पहिलोपटक उपत्यका बाहिर मनाउने भएको छ । कृषि विभागका अनुसार यान्त्रीकरणबाट धान रोपाइँ र किसानलाई सम्मान गर्न जिल्लास्तरमा महोत्सव मनाउने लागेको हो ।


‘धानको उत्पादन वृद्धि गरी बालीलाई राष्ट्रिय समृद्धि हासिल गर्न सहयोगी क्षेत्रका रूपमा स्थापित गर्न सोह्रौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विभिन्न तह र स्थानमा मनाइँदै छ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा निमित्त महानिर्देशक रेवतीरमण पौडेलले भने, ‘रोपाइँको मूल महोत्सवको मुख्य कार्यक्रम राजापुर नगरपालिका धोबीनगर बर्दियामा आयोजना गरिनेछ ।’ त्यसक्रममा नयाँ यन्त्रबाट धान रोपाइँ गरिनेछ । यस वर्ष धान दिवसको नारा ‘धान खेतीमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्यूनीकरण’ राखिएको छ ।

प्रकाशित : असार १२, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?